July 23rd, 2017

सेयर ब्रोकरको सेवामा पारदर्शीताको खाँचो (रविन्द्र भट्टराईको विश्लेषणा)

रविन्द्र भट्टराई । सेयर ब्रोकरका शाखाहरू विभिन्न सहर तथा जिल्लाहरूमा क्रमिक रूपमा विस्तार भइरहेका छन् । यसले लगानीकर्ताको सेयरमा लगानी गर्ने पहुँच बढाउँदै लगेको छ । यसले लगानीकर्ताका सुविधा पनि बढाएको छ । पहुँच र सुविधामात्र लगानीकर्तालाई पर्याप्त छैन । पहुँच र सुविधासँगै सुरक्षा पनि आवश्यक छ । यसलाई एउटा सानो उदाहरणबाट प्रस्ट्याउन चाहन्छु ।

पहुँच र सुविधासँगै सुरक्षा पनि
अहिले गाउँगाउँसम्म सडक पुगेको छ । सडकले गाउँ र सहरलाई जोडेको छ । सडकले ग्रामीण भेगका जनतालाई सहरसम्मको पहुँच दिलाएको छ । ग्रामीण भेगका जनताले यातायातको सुविधा पनि पाएका छन् । यो सुविधा र पहुँचसँगै कच्ची सडकका कारण दिनहुँजसो हुने दुर्घटनाबाट धेरैले ज्यान पनि गुमाउनु परेको छ । यसको अर्थ यो हो कि त्यहाँ यात्रुको पर्याप्त सुरक्षा छैन । यसबाट हामीले पाठ सिक्नु जरुरी छ, पहुँच र सुविधाले मात्र पुग्दैन, सुरक्षाका उपाय पनि सँगै लिएर जानु आवश्यक छ । सेयर बजारमा ब्रोकरका शाखा विस्तारसँगै धितोपत्र बोर्डले बेलैमा सुरक्षाका उपायमा ध्यान दिनु आवश्यक छ, जसले गर्दा भोलिका दिनमा दुर्घटना नघटून् ।

सेयर ब्रोकरको सेवामा पारदर्शीता र व्यवसायिकताको कमी
लगानीकर्ताको हितको सुरक्षाका निम्ति सेयर ब्रोकरले अहिले दिँदै गरेको सेवालाई अझ बढी पारदर्शी र व्यावसायिक बनाइनुपर्छ । ब्रोकर जति पारदर्शी हुुनुपर्ने हो त्यति पारदर्शी छैनन् । कानुनको कमजोरीका कारण यसो भएको हुन सक्छ । ब्रोकरले अहिले दिँदै आएको सेवाबाट लगानीकर्ता सुरक्षित छैनन् । लगानीकर्ता मात्र नभई कतिपय अवस्थामा उनीहरूको आफ्नो पेशाको सुरक्षा र समाजको यो पेशाप्रतिको दृष्टिकोण पनि कमजोर छ ।

सेयर ब्रोकर एक प्रकारको सेवा हो । सेवामा इमानदारी र मुस्कान बिक्री गरिन्छ । यहाँ कुनै वस्तु बेचिँदैन । तर जब एउटा व्यक्ति ब्रोकरको कार्यालयमा पुग्छ उसले प्राप्त गर्ने सेवा र ब्रोकरले गर्ने व्यवहार कस्तो छ ? त्यसको मूल्याङ्कन धितोपत्र बोर्डले गरेको हुनुपर्छ । सबै ब्रोकर त नभनौं, धेरैजसोले लगानीकर्तालाई दिने सेवा परम्परागत नोकर र मालिकको सम्बन्धजस्तो छ । ब्रोकर मालिक अनि लगानीकर्ता नोकर, जसमा न मुस्कान पाइन्छ न इमानदारिता पाइन्छ ।

ब्रोकर र लगानीकर्ता दुबैको सम्मान हुनु आवश्यक
ब्रोकरको पेसा र लगानीकर्ता दुवैको सम्मान हुनु आवश्यक छ । यसका निम्ति सेवालाई परिभाषित गरिनुपर्छ । त्यस्तै ब्रोकर र लगानीकर्ताको सम्बन्धलाई परिभाषित गरिनुपर्छ । सेवालाई परिभाषित गर्न र ब्रोकर र लगानीकर्ताको सम्बन्धलाई बढी उत्तरदायी बनाउन धितोपत्र बोर्डले ब्रोकर–लगानीकर्ता सम्बन्ध निर्देशिका बनाउनु आवश्यक छ । यस्तो निर्देशिकाअनुसार ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्छ, जसमा दुई पक्षका कर्तव्य, दायित्व, सेवा र क्षतिपूर्ति उल्लेख गरिएको हुन्छ । यसले कम्तीमा पनि ब्रोकरले दिनुपर्ने र ग्राहकले पाउनुपर्ने सूचनालाई परिभाषित गर्छ र सेयर कारोबारलाई अझ बढी व्यवस्थित गर्न सहयोग पुर्याउँछ । 

ब्रोकरकहाँ लगानीकर्ताले कारोबार खाता खोल्दाका बखत नै यो सम्झौता गरिनुपर्छ । यस प्रकारको सम्झौता नेप्सेमा सेयरको औपचारिक कारोबार सुरु हुँदा २०५० सालबाटै कार्यान्वयनमा ल्याइनुपथ्र्योे, तर दुर्भाग्य अहिलेसम्म हुन सकेन र गर्ने कोसिस पनि गरिएन । यही कारण ब्रोकरको सेवा फितलो बन्न पुग्यो र उनीहरू बढीभन्दा बढी नाफामुखी भए । यस प्रकारको सम्झौताको कार्यान्वयनसँगै पुराना र नयाँ सबैले सम्झौता गर्नुपर्ने गरी अनिवार्य गरिनुपर्छ ।

अपूर्ण र एकतफी परिचय विवरण
अहिले नयाँ लगानीकर्ता ब्रोकरकहाँ जाँदा ग्राहक परिचय विवरण भराइन्छ । त्यो आफंैमा अपूर्ण र एकतर्फी छ । यसबाट ब्रोकरले ग्राहक (लगानीकर्ता) को विवरण लिन्छ, तर ग्राहकले ब्रोकरको विवरण लिन पाउने र उसका सेवा, सुविधा थाहा पाउने अधिकारबाट वञ्चित गरिएको छ, विमुख गरिएको छ । यो आफंैमा अन्यायपूर्ण छ । त्यसैले लगानीकर्ताले न्याय पाउने गरी व्यवस्था गरिनुपर्छ । ब्रोकरबाट के सेवा पाउँछु, कस्तो सुझाव पाउँछु, शुल्क कति तिर्नुपर्छ र त्यसको गणना कसरी गरिन्छ ? किनेर पैसा तिर्ने, बेच्दा पैसा पाउने समय तथा ब्रोकर र लगानीकर्ताबीच भएका विवादको समाधानका उपायजस्ता विषयका बारेमा ब्रोकर र लगानीकर्ताबीच हुने सम्झौतामा उल्लेख गरिनुपर्छ । यसका माध्यमबाट कुनै पनि पक्षले बदमासी गरेमा कानुनी रूपमा बाँध्न सकियोस् ।

ब्रोकर र लगानीकर्ता डरबाट नियन्त्रित
अहिले दुवै पक्ष दुई किसिमका डरबाट धेरै हदसम्म नियन्त्रित छन् । जस्तो, ब्रोकरसँग केही भइहाल्यो भने मेरो कारोबार गरिदिँदैन कि भन्ने डरले लगानीकर्ता आफ्नो पीडा दबाएर बसेको छ भने ब्रोकरलाई नेप्से र धितोपत्र बोर्डले दुःख देलान् कि, व्यवसायमा अवरोध गर्लान् कि भन्ने डरले काम गराइरहेको छ । दुवै पक्षले इमानदारीका साथ काम गर्न यस प्रकारको सम्झौता हुनु आवश्यक छ । यसमा ब्रोकरले ढुक्कसँग लगानीकर्ताको कमजोरीका बारेमा सम्बन्धित निकायमा उजुरी गर्न सकोस् र लगानीकर्ताले पनि उजुरी गर्न सकोस् । ब्रोकरले आफ्नो सीमाभित्र बसेर काम गरोस् र लगानीकर्ताले पनि आफ्नो दायित्व थाहा पाउन सकोस् भन्ने गरी सम्झौता हुनु उपयुक्त हुन्छ । तर, दुर्भाग्य आजका दिनसम्म यसो हुन सकेको छैन ।

यसकारण पनि सेयर बजारमा छाडातन्त्र हाबी छ । उदाहरणका लागि ब्रोकरले समयमा पैसा नदिए त्यसको गुनासो कहाँ गर्ने भन्ने सामान्य कुरा पनि धेरै लगानीकर्तालाई जानकारी हुँदैन र ब्रोकरले यो जानकारी लगानीकर्तालाई दिन आवश्यक पनि ठानेको देखिँदैन । यही कारण लगानीकर्ताले पाउनुपर्ने सूचनाबाट ऊ वञ्चित हुनुपरेको छ, ठगिनुपरेको छ ।

बडापत्रलाई थप परिष्कृत गरिनुपर्छ
पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरलाई आफ्नो कार्यालयमा बडापत्र राख्न लगाएको छ । यो सूचना दिने प्रयास हो, तर यसले दुई पक्षलाई कानुनी रूपमा बाँध्न सक्दैन । यसका साथै बडापत्रबाट मात्रै लगानीकर्ताले ब्रोकरबाट पाउनुपर्ने न्यूनतम सूचना पनि पाउन सक्दैन । यही बडापत्रलाई थप परिष्कृत गरी दुई पक्षको सम्झौतामा परिणत गरिनुपर्छ । ब्रोकरको कार्यालयमा टाँसिएको सूचनाले लगानीकर्ता र ब्रोकरलाई सुरक्षित बनाउन सक्दैन । एक–अर्कालाई दायित्व बोध गराउन पनि सक्दैन । अहिले पनि कतिपय कुरा कानुनमा समेटिएका छन्, तर ती छरपस्ट छन् ।

ती लगानीकर्ताको पहुँच र जानकारीभन्दा धेरै टाढा छन् । एक–अर्काबीचका कर्तव्य र दायित्व समेटेर सम्झौता गर्न सके लगानीकर्तालाई धेरै विषयमा तत्काल शिक्षित गर्न सकिन्छ र बजार पनि बढी व्यावसायिक बन्दै जान्छ ।

ब्रोकर र लगानीकर्ताबीच निम्न विषय समेटिएको सम्झौता हुनु आवश्यक छ :
१. ब्रोकरले लगानीकर्तालाई दिने सेवा–सुविधाको सूची,
२. ब्रोकरले लिने शुल्क, सरकारलाई तिर्ने कर र त्यसको गणना विधि,
३. ब्रोकरले दिने लगानी सल्लाह, त्यसको दायित्व र सीमाहरू,
४. ब्रोकरले दिने सूचना र त्यसका कानुनी सीमा,
५. ब्रोकरले दिने सूचनाको आधिकारिक व्यक्ति, माध्यम र दायित्व,
६. किन्दा ग्राहकले पैसा भुक्तानी गर्नुपर्ने दायित्व, विधि, जरिवाना,
७. बिक्री गरेपछि ब्रोकरले पैसा दिने समय, विधि, ढिला हुँदाका बखत ग्राकहलाई तिर्नुपर्ने क्षतिपूर्ति,
८. खातामा सेयर नभई बिक्री गर्दा लाग्ने शुल्क र समयमा खातामा सेयर नआएमा ग्राहकले पाउने क्षतिपूर्ति,
९. ब्रोकर र लगानीकर्ताबीच विवाद भए समाधानका तरिका,
१०. गुनासो तथा उजुरीसम्बन्धी व्यवस्था र निकायहरू,
११. ग्राहकले गलत सूचना दिएका कारण ब्रोकरलाई हुने नोक्सानीको क्षतिपूर्ति,
१२. ब्रोकर कम्पनी र उसका कर्मचारीले गलत सूचना दिएर ग्राहकलाई नोक्सानी भए त्यसको क्षतिपूर्ति,
१३. लगानीकर्ता कुनै कम्पनीको सञ्चालक, संस्थापक, कम्पनीको प्रमुख पदमा कार्यरत भए उक्त कुरा,
१४. ब्रोकरको लगानीकर्तासँग कुनै सम्बन्ध बाझिने कुरा भए उक्त कुरा,
१५. शंकास्पद कारोबार देखिए, त्यसको जानकारी दिने निकाय,
१६. सम्पत्ति शुद्धीकरणसम्बन्धी विवरण पठाउने निकाय, तरिका र सीमा,
१७. सेयर कारोबार भइसकेपछि ब्रोकरले लगानीकर्तालाई सूचना दिने तरिका र माध्यम ।

सेयर बजारको विस्तारसँगै यसलाई बढी भरपर्दो र सुरक्षित बनाउनु जरुरी भइसकेको छ । त्यस्तै लगानीकर्तामैत्री सेयर कारोबार गराउनेतर्फ सम्बन्धित निकायले चासो लिनु आवश्यक छ र माथि उल्लिखित पक्षलाई सम्बोधन गर्ने गरी सेयर ब्रोकर र लागनीकर्ताबीच व्यावसायिक सम्बन्ध तय हुनुपर्छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]