June 19th, 2017

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्मे, एभरेष्टको हकप्रदले तान्यो लगानीकर्ता

सोमबार पनि सेयर बजार २०.८२ अंकको गिरावटसँगै १५५५.१६ अंकमा कायम भएको छ । सबै उपसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह १४२.८९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २०.३८, १६.६२, २१.३१, १८.५१, १०, २३.२५ र २.३१ अंकले घटेका छन् । 

बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । दिनभरिमा १३७ वटा कम्पनीको आठ लाख १४ हजार चार सय ५३ कित्ता सेयर पाँच हजार आठ सय १२ पटक खरिदविक्री हुँदा कुल ६४ करोड ९८ लाख आठ हजार तीन सय १५ रुपैयाँ पुँजी परिचालन भएको छ । आइतबार ५९ करोड रुपैयाँको कारोबार भएको थियो । 

सोमबार पनि एभरेष्ट इन्स्योरेन्सले नै कारोबार रकमलाई माथि उचालेको छ । कम्पनीको १५ करोड ६६ लाख नौ हजार आठ सय ६८ रुपैयाँको कारोबार भएको छ । पाँच आर्थिक वर्षको साधारणसभा एकैपटक सम्पन्न गरेर ६०० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेपछि एभरेष्टको सेयरतर्फ लगानीकर्ता तानिएका हुन् । 

एभरेष्ट बैंक धेरै कारोबार गर्ने कम्पनीहरुमध्ये दोस्रो स्थानमा छ, जसको पाँच करोड ९३ लाख ९० हजार चार सय ७५ रुपैयाँको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको तीन करोड र स्टान्डर्ड चार्टर्ड बैंकको साढे दुई करोडमाथिको कारोबार भएको छ भने लुम्बिनी जनलि इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नविल बैंक प्रोमोटर, मुक्तिनाथ विकास बैंक प्रोमोटर लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

अत्याधिक आकर्षणमा रहेको एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ०.७२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै तारागाउँ रिजेन्सीका सेयरधनीले ३.११ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, कञ्चन डेभलपमेन्ट बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स, अरुण फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, सिनर्जी फाइनान्स, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, ङादी ग्रुप पावर, अपि पावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले पनि कमाएका छन् । 

एभरेष्ट बैंक (सीपी)का सेयरधनीले सबैभन्दा धेरै ९.४४५४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने मिथिला लघुवित्त, तिनाउ डेभलपमेन्ट बैंक र बोटलर्स नेपालका सेयरधनीले क्रमशः ५.९०, ५.३१ र ५.२९ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त, युनाइटेड मोदी हाइड्रो, नजागवेली लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]