September 8th, 2017

सेयर कर्जामा बैंक लगानी बढ्यो

कमला अर्याल /  सेयरमा बैंकहरूको लगानी बढ्न थालेको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले सेयर कर्जा दिन धमाधम अफरहरू सार्वजनिक गर्ने क्रम बढेको हो । एनआईसी एसिया, नविल बैंक, मुक्तिनाथ विकास बैंकलगायत बैंकहरूले धमाधम सेयर कर्जा दिन अफर सार्वजनिक गरेका छन् । एनआईसी एसिया बैंकले २ दिनमा सेयर कर्जा उपलब्ध गराउने जनाएको छ । एनआईसीले यसअघि पनि सेयर कर्जा उपलब्ध गराएको थियो ।

सो कर्जा कार्यक्रम प्रभावकारी भएपछि एनआईसी एसिया बैंकले पुनः सेयर कर्जाको योजना अघि सारेको हो । त्यसैगरी, सिद्धार्थ बैंकले पनि सेयर कर्जाको जानकारीसहित विज्ञापन गरेको  छ । अरू बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धमाधम विज्ञापन खुलाउन थालेका छन् । त्यसैगरी, कैलाश विकास बैंकले पनि सेयर कर्जा दिन घोषणा गरेको छ । उक्त बैंकले सस्तोमा सेयर कर्जा दिने गरी सेयर कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले कैलाश सेयर लोन योजना सार्वजनिक गरेको हो । केही समयअघि बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा अत्याधिक लगानी गर्दा बजारमा लगानी योग्य पुँजी अभाव भएको थियो । अहिले बैंकिङ प्रणालीमा तरलता सहज भएकाले बैंक तथा वित्तीय संस्था सेयर कर्जातर्फ आकर्षित भएका छन् ।

राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नजाने बैंकर्सको भनाइ छ । बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘बैंकहरू राष्ट्र बैंकको सीमाभन्दा माथि जाँदैनन्, बैंकहरूले ३÷४ अर्ब रुपैयाँ त लगानी गर्न पाइहाल्छन् नि ।’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दुई वर्षअघि ल्याएको बैंक तथा वित्तीय संस्थाहरूको चुँक्ता पुँजी वृद्धि योजनाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बोनस र हकप्रद सेयर निष्कासन गर्ने होड नै चलेको थियो । लगभग सबै वाणिज्य बैंकहरूले हकप्रद तथा बोनस सेयर तथा मर्जर÷एक्विजिसनबाट आफ्नो पुँजी वृद्धि गरेका छन् । जसकारण बजारमा बैंक तथा वित्तीय संस्थाका धेरै सेयर बजारमा आए । बैंक तथा वित्तीय संस्थाहरूले यसरी सेयरमा धमाधम कर्जा दिन थालेकाले सेयर बजार बढ्ने अनुमान गरे पनि बजार भने बढ्न सकेन ।

राष्ट्र बैंकका अनुसार गत वर्ष मार्जिन प्रकृतिको कर्जा ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ प्रवाह भएको थियो । अधिल्लो वर्षको तुलनामा यो कर्जा प्रवाह साढे ७ प्रतिशत बढी हो । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक मानेको छ । त्यसैले राष्ट्र बैंकले सेयरको लगानीमा अंकुश लगाएको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म मात्र सेयर कर्जामा लगानी गर्न पाउने व्यवस्था छ । यसअघि बैंकहरूले सेयर धितोमा मार्जिन कर्जा प्राथमिक पुँजी बराबरकै रकम प्रवाह गर्न पाउने व्यवस्था थियो । राजधानी दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]