March 10th, 2017

सेयरको गिरावटले बैंकहरुको हकप्रद लिलामीमा

बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण अत्यन्तै न्यून रहेको पाइएको छ । पुँजीवृद्धिको लागि बैंक तथा वित्ती संस्थाहरुले हकप्रद निष्काशनलाई जोड दिएका छन् । यद्यपि, जारी गरेको हकप्रद सेयर नबिक्दा पुँजीवृद्धिका लागि हकप्रदमै भर परेका बैंकहरु सकसमा परेका छन् । हकप्रद निष्काशनका क्रममा नबिकेको सेयर बैंकहरुले धमाधम लिलामीमा निकाल्न लागेका छन् । कतिपय अवस्थामा त लिलामीमा समेत सेयर नबिकेर बैंकहरु हैरान भएका छन् ।

सेती फाईनान्स लिमिटेडले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर अघिल्लो साता लिलाममा निकाल्दासमेत किन्ने अति न्यन भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकालेको छ । 
फाइनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म एक लाख ८३ हजार दुई सय ३५ दशमलव ८६ कित्ता संस्थापक सेयरको लिलामी खुला गरेकोमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र केको थियो । बाँकी एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्री हुन सकेन । साधारण सेयर भने ६६ हजार छ सय ८२ दशमलव १४ कित्ता मध्ये सबै बिक्री भएको थियो । अहिले खुला गरेको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट चैत १३ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे खुला हुनेछ । सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

सेती फाइनान्सको यो अवस्थाले अन्य बैंक तथा वित्तीय संस्थामा समेत तरंग पैदा गरेको छ । हकप्रद निष्काशन गर्ने क्रममा रहेका तथा हकप्रद नबिकेर लिलामीमा निकाल्न लागेका बैंकहरु आफ्नो पनि यस्तै अवस्था पो हुने हो कि भन्ने चिन्तामा छन् । 

शुक्रबार (आज)देखि माछापूछ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका क्रममा नबिकेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलामीमा निकालेको छ । हकप्रद सेयर जारी गर्ने र नबिकेको सेयर लिलामीमा निकाल्ने क्रम तीब्र भइरहँदा अर्कोतिर सेयर बजारको निरन्तर गिरावटका कारण सेयर मूल्यमा समेत गिरावट आउनुले सेयर नबिकिरहेको अवस्था छ । यस्तो अवस्थामा लिलामीमा निकालिएको माछापूछ्रे बैंकको लिलामीको सेयर कतिको बिक्छ यो त हेर्न बाँकी नै छ ।

बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकले  चैत तीन गतेसम्म बोलकबोलको आवेदन लिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ देखि बढाबढमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।

यसैबीच, मेगा बैंकले पनि २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा निकाल्ने भएको छ । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राख्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]