January 5th, 2017

सेञ्चुरी बैंकमा करोडौँ रकमको घोटाला गर्ने तीन जना पक्राउ

इटहरी – धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको छ । 

पक्राउ पर्नेमा बैंकका सुन जाँचकी पदमा कार्यरत कुमार श्रेष्ठ तथा ऋणी सञ्जयकुमार राई र विशन शाक्य पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । कीर्ते कागजबाट रु नौ करोडभन्दा बढी रकम घोटाला गरिएको बताइन्छ । राष्ट्र बैंकको कारबाहीबाट बच्न बैंकका सञ्चालकको लिखित जाहेरीमा तत्कालीन सुन जाँचकी श्रेष्ठ र ऋणी दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तल्लोस्तरका कर्मचारीले मात्रै करोडौँ घोटाला गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै इप्रका धरानले सिबीआइको सहयोग मागेको थियो । सिबीआइले राष्ट्र बैंककै विज्ञको सहयोगमा छानबिन र कारबाही अघि बढाउन आदेश दिएपछि धरान प्रहरीले तत्कालीन शाखा प्रमुख निखिल श्रेष्ठ, सुन जाँचकी श्रेष्ठ, ऋणी राई र शाक्य लगायतलाई नियन्त्रणमा लिनुपर्ने रायअनुसार ती तीन जनालाई पक्राउ गरेको हो । 

निखिल श्रेष्ठबाहेक निर्दिष्ट गरिएका सबै पक्राउ गरिसकेको र निखिलको पनि खोजी जारी राखिएको इप्रकाका प्रनाउ खतिवडाले जानकारी दिए । ऋणी राई धरान–९ स्थित पुतलीलाइनमा रहेको इम्मानुयल ज्वेलर्सका सञ्चालक हुन् भने शाक्य धरानका सुनचाँदी व्यवसायी हुन् । सुन कर्जामा गरिएको लगानीमा बिनाधितो नक्कली कागजात बनाएर झन्डै नौ करोडभन्दा बढी घोटाला गरेको स्वयम् बैंक शाखाले दिएको उजुरीमा उल्लेख भएको पाइएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]