November 3rd, 2017

सेञ्चुरी बैंकको नेतृत्व लिँदै ‘अनिल केशरी शाह’

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अनिल केशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार, पुस १७ गतेदेखि नवनियुक्त सीईओ शाहले सेञ्चुरी बैंकमा आफ्नो कार्यभार सम्हाल्नेछन् । सेञ्चुरी बैंकको विहीबार(कात्तिक १६ गते) बसेको संचालक समितिले शाहलाई नयाँ सिईओ नियुक्त गरेको हो । 

तत्कालिन प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् ।

बैंकिङ क्षेत्रमा अनिल शाह
नेपालका सेलिब्रेटी बैंकर भनेर चिनिने अनिल केशरी शाह हाल मेगा बैंक नेपाल लिमिटेडका सिईओ छन् । बैंकिङ क्षेत्रका बादशाह मानिने उनी डाइनामिक व्यक्तित्वका कारण सँधै चर्चामा छन् । स्वदेशमै बसेर देशका लागि केही गरौँ भन्ने भावना भएका शाह बैंकिङ चेतना अभिवृद्धिमा पनि लागीपरेका छन् । मेगा बैंकमा हलोदेखि हाइड्रोसम्म भन्ने नारा ल्याएर पनि उनले चर्चा बटुलेका थिए । आकर्षक किसिमका नयाँनयाँ नाराहरु ल्याएका अनिल केशरी शाहले उक्त नारालाई कार्यान्वयनमा ल्याउन भने सकेको देखिँदैन । साथै, मेगा बैंकलाई अत्याधिक फाइदामा लैजान नसकेका कारण पनि पछिल्लो समय उनको आलोचना हुन थालेको छ । 

अनिल शाहको विगत
भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्के्टिङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अध्यक्ष समेत रहेका अनिल केशरी शाहको बैंकिङ करिअर काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत (सिओओ) सम्म भएका थिए । त्यसपछि उनी नबिल बैंकमा महाप्रवन्धकमा रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिए । नबिल बैंकमा उनले छ वर्ष बिताए । केही बर्षदेखि उनी मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत छन् । 

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेर केही समय खाली भएपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]