September 17th, 2017

सेञ्चुरी बैंकको कामु सिईओमा जीवन भट्टराई

सेञ्चुरी कमर्सियल बैंकको आइतबार(असोज १ गते) बसेको सञ्चालक समितिको २४२औं बैठकले प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाको राजिनामा स्वीकृत गरेको छ । सोही बैठकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्ने गरी जिम्मेवारी दिएको छ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका भट्टराई बैंक सञ्चालन हुनु पूवदेखि नै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । उनले व्यवस्थापनमा मास्टर इन फिलोसोफी र अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने कानूनमा स्नातक समेत गरेका छन् ।  

भट्टराईले विगतमा हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्गमा कार्य अनुभव लिएका छन् । अधिवक्ता र अडिटर समेत रहेका जिवन भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियम अन्तर्गत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शीरुपमा चल्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिन्छन् । जीवन भट्टराईलाई नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम नेगोसिएटरको रुपमा चिनिन्छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]