April 18th, 2016

सूचना नै दिन्नँ भन्छन् राष्ट्र बैंकका प्रवक्ता, ‘सूचना नदिनेमाथि कारबाही हुन्छ’ – राष्ट्रिय सुचना आयोग

 trilochanराष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बैंकिङ खबरलाई सूचना नदिने बताएका छन् । आफ्नो बारेमा नकारात्मक खबर प्रकाशन गरेको भन्दै उनले बैंकिङ खबरलाई सूचना नदिने बताएका हुन् । एउटा सूचनाको लागि बैंकिङ खबरबाट फोन सम्पर्क गर्दा उनले ‘बैंकिङ खबरलाई म सूचना नै दिन्न’ भनेका छन् । ‘म अरु हो भने सूचना दिन्छु तर बैंकिङ खबरलाई सूचना दिन्न ।’ उनले भने, ‘मेरो नकारात्मक समाचार लेख्ने ?’

गत सोमबार राष्ट्र बैंकमा बैंकिङ सूचना लिन पुगेका पत्रकार शिवहरि घिमिरे भन्छन्, ‘प्रवक्ताले सिधै तपाईको मिडियालाई म सूचना दिन्न भन्नुभयो ।’ प्रवक्ता पंगेनीले कुनै व्यक्तिसंगको व्यक्तिगत रिसिबीका कारण संस्थालाई नै सूचना दिन नमानेको पत्रकार घिमिरेले बताए । 

यसअघि बैकिङ खबरले ‘तनावमा राष्ट्र बैंकका प्रवक्ता’ भन्ने शीर्षकको खबर प्रकाशन गरेको थियो । त्यसपछि आइतबार बिहान ‘कार्यालयमै गभर्नरको कुरा काट्दै बस्छन् राष्ट्र बैंकका प्रवक्ता’ भन्ने शीर्षकको खबर बैंकिङ खबरले प्रकाशन गरेको थियो । ती खबरहरुमा कहीँ कतै उनको व्यक्तिगत चरित्रमाथि आरोप लगाइएको थिएन । बरु उनको व्यक्तिगत व्यवहारले कर्मचारीलाई असर परेको भनि खबर सम्प्रेषण गरिएको थियो । यद्यपी खबरमा चरित्र हत्या भएको उनले महशुस गरेमा सम्बन्धीत निकायमा उनले उजुरी दिन सक्थे । तर त्यसो गर्नुको साटो राष्ट्र बैंकजस्तो उच्च निकायको प्रवक्ता उनले सूचना नदिएर नागरिककको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ लाई पनि बेवास्ता गरेका छन् । 

कुनै पनि संघ संस्था वा सरकारी निकायमा सूचना पाउने जनताको नैसर्गिक अधिकारलाई सुदृढ पार्नको लागि प्रवक्ता तोकिएको हुन्छ । संचारमाध्यमले सूचनाको हक दिलाउने क्रममा कतिपय विवरण र नयाँ नयाँ समाचारमूलक जानकारी र सूचनाका कुरा अपेक्षा गरेका हुन्छन् । तर, त्यस्ता सूचनासमेत प्रवक्ता पंगेनीले नदिने बताएर नागरिकको सूचना पाउने हक कुण्ठित गर्ने प्रयास गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले पंगेनीलाई प्रवक्ता तोकेको हो । तर पंगेनीले सूचनाको हकसम्बन्धी उक्त कानुनको समेत ख्याल गर्ने गरेका छैनन् । 

यसैबीचराष्ट्रिय सूचना आयोगले सूचना पाउनु नागरिकको मौलिक हक भएकाले सूचना अधिकारीले नै सूचना दिन्न भन्नु दण्डित कार्य भएको बताएको छ । आयोगकका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको लागि तोकिएको व्यक्तिले सूचना नदिएमा दण्डित हुनुपर्ने कानून रहेको बताए । उनको भनाई जस्ताको त्यस्तै । 

सूचनाको हक नागरिकको अधिकार हो : कृष्णहरि बाँस्कोटा (प्रमुख सूचना आयुक्त, राष्ट्रिय सुचना आयोग) 

krishnahari banskotaके हो सूचनाको हक ?
कुनै पनि नागरिकले सार्वजनिक निकायबाट आफूले चाहेका सूचना खोज्नु नै सुचनाको हक हो । नेपालको संविधानको धारा २७ मा प्रष्ट रुपमा आफूसंग सम्बन्धित र सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने हक छ । त्यो हक आम नागरिकले प्रचलन गर्नैपर्छ । सूचनाको हकसम्बन्धि ऐन २०६४ ले प्रष्ट भाषामा कुनै पनि सार्वजनिक निकायबाट आम नागरिकले सहजै सूचना पाउनुपर्छ भनेर उल्लेख गरको छ । सार्वजनिक निकाय जस्तै सबै सरकारी कार्यालय, सबै राजनीतिक दल र तीनका भातृ संगठन, सबै गैर–सरकारी संस्था र अन्र्तराष्ट्रिय संस्थाहरु सार्वजनिक क्षेत्रमा पर्छन् भने सबै निजी क्षेत्रहरुबाट पनि मानिसहरुले सहजै सुचना पाउनुपर्छ । सुचना पाउनु आम नागरिकको मौलिक हक हो । यदि कुनै सुचना अधिकारीले कुनै व्यक्ति तथा सञ्चारकर्मीलाई १५ दिनसम्म पनि सुचना दिएन भने कार्यालय प्रमुखले सुचना दिनुपर्छ र यदि कार्यालय प्रमुखले पनि सुचना दिएन भने राष्ट्रिय सुचना आयोगमा उजुरी दिन सकिन्छ ।

प्रवक्ताको काम के हो ?
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था अनुसार प्रवक्ता तोकिएको हुन्छ । त्यसैले प्रथमतः सूचना दिने काम प्रवक्ता कै हुन्छ । 

तोकिएका अधिकारीले सूचना नदिँदा यस्तो सजाय भोग्नुपर्छ 

१) सूचना दिन ढिला गर्ने सूचना अधिकारीलाई दैनिक २ सयको जरीवाना ।
२) सूचना नदिने कर्मचारीलाई २५ हजारसम्म जरिवाना हुन्छ । 
३) दण्ड गरिसकेपछि विभागीय कारवाही गरिने ।
४) सूचना नपाएकै कारण कोहि कसैको हानी नोक्सानी भयो भने त्यसको भागिदार सूचना अधिकारी नै हुनपर्ने र त्यति नै बराबरको क्षतिपूर्ति तिर्नुुपर्ने । 
५) उक्त व्यक्तिलाई निलम्बन तथा पदबाट हटाउने सकिने ।

सुचना अधिकारीले लुकाउन मिल्ने सुचनाहरु
१) सार्वभौम सत्ताको विरुद्धमा उठ्ने सुचनाहरु 
२) मुद्धा मामिलाको अनुसन्धानमा असर पर्ने सुचनाहरु
३) आर्थिक क्रियाकलापलाई नोक्सानी पुर्याउने सुचनाहरु
४) समाजमा सद्भाव भड्किने र जातिय द्धन्द्ध मच्याउने खालका सुचनाहरु
५) नितान्त व्यक्तिगत सुचनाहरु 

र यो पनि, 

तनावमा राष्ट्र बैंकका प्रवक्ता 

कार्यालयमै गभर्नरको कुरा काट्दै बस्छन् राष्ट्र बैंकका प्रवक्ता

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]