January 31st, 2018

सामान्य भएपनि बढ्यो नेप्से, ३१ करोडको सेयर कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ । कारोबार खुलेको डेढ घण्टाभित्रमा १४ सयको विन्दुबाट तल झरेको बजार पछि सम्हालिएको हो । होटल, बीमा र विकास बैंकले बुधबारको बजार सम्हालेका छन् । यी समूहहरु क्रमशः ३५.९२, ३१.३४ र १०.१७ अंकले बढेका छन् । यसबाहेक, लघुवित्त, फाइनान्स, व्यापार र बैंकिङ पनि क्रमशः ८.०४, ५.७२, ४.२२ र १.९७ अंकले बढेका छन् । जलविद्युत्, उत्पादनमूलक र अन्य समूह भने क्रमशः ८.१, ३.४१ र ५.५७ अंकले घटेका छन् । 

कारोबार रकम पनि मंगलबारको तुलनामा सामान्य बढेको छ । दिनभरिमा १५६ वटा कम्पनीको सात लाख ४९ हजार चार सय ८४ कित्ता सेयर तीन हजार आठ सय ९४ पटक खरिदविक्री हुँदा ३१ करोड १५ लाख ३४ हजार दुई सय ७५ रुपैयाँको कारोबार भएको छ । मंगलबार दिनभरिमा १६० वटा कम्पनीको सात लाख १५ हजार आठ सय ५४ कित्ता सेयर चार हजार एक सय तीन पटक खरिदविक्री हुँदा २८ करोड ५५ लाख ३६ हजार चार सय २४ रुपैयाँको कारोबार भएको थियो । 

बुटवल पावर कम्पनी, सानिमा माई हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनएमबि बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकको क्रमशः ९० लाख, ८७ लाख, ८२ लाख र ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

नेपाल इन्स्योरेन्स, गोर्खाज फाइनान्स र मल्टिपर्पोज फाइनान्सका सेयरधनीले क्रमशः ७.९२, ५.८८ र ५.८४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । कैलाश विकास बैंक, कन्काई विकास बैंक, जानकी फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक सीपी, विजय लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक, बुटवल पावर कम्पनी, नेपाल हाइड्रो र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । भार्गव विकास बैंक, कुमारी बैंक, युनाइटेड मोदी हाइड्रो, नेशनल हाइड्रो, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]