March 17th, 2017

‘सात नम्बर प्रदेशमा नम्बर वान बैंक हुनेछौँ’ : कञ्चन डेभलपमेण्ट बैंकका सीईओ बिरुराम जैशीसँगको अन्तरवार्ता

बिरुराम जैशी कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । कञ्चन डेभलपमेण्ट बैंक (सुदूरपश्चिम) नयाँ संघीय संरचनाअनुसार प्रदेश नम्बर सातका तीन जिल्लालाई कार्यक्षेत्र बनाई क्रियाशिल संस्था हो । प्रदेश नम्बर सातमा बलियो तीन जिल्ले बैंकका रुपमा स्थापित यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पनि सजिलै पुर्याउने देखिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार तीन जिल्ले विकास बैंकले आगामी असार मसान्तसम्ममा ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ ।

खासगरी अन्य प्रदेशको तुलनामा सात नम्बर प्रदेशमा बैंकिङ पहुँचको अवस्था निराशाजनक मानिन्छ । सो प्रदेशमा वित्तीय साक्षरताको अवस्था, भौगोलिक विकटताका कारण बैंक तथा वित्तीय संस्थाहरुको पातलो उपस्थितिलगायतका कारण अझै पनि धेरै नागरिक बैंकिङ पहुँचभन्दा बाहिर नै रहेका हुन् । यस्तो परिस्थितिमा सोही प्रदेशका तीन जिल्लामा वित्तीय पहुँच विस्तार गर्र्ने, स्थानीय युवाहरुलाई उद्यमशीलताका लागि प्रोत्साहित गर्नुका साथै वित्तीय साक्षरता बढाउने किसिमका कार्यक्रमहरुमा समेत कञ्चन डेभलपमेण्ट बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यसै सन्दर्भमा सात नम्बर प्रदेशमा बैंकिङ अबस्था, लगानी, चुनौति र बैंकका आगामी योजनालगायतका विषयमा बैंकिङ खबर डटकमका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
 
कञ्चन डेभलपमेण्ट बैंकको बारेमा बताइदिनुस न ।
कञ्चन डेभलपमेण्ट बैंकको स्थापना २०६६ साल असोज ३ गते भएको हो । हाल यस बैंकका शाखा कञ्चनपुर जिल्लाका महेन्द्रनगर, झलारी, दैजी, बेलडाडी, बेलौरी र पुर्नरवासमा गरी ६ वटा छन् । आईबिआरडीमा १ एक्सटेन्सन काउण्टर कैलालीका अत्तरीया र धनगढीमा दुई वटा छन् भने दुई वटा ए.टि.एम महेन्द्रनगर र धनगढीका  शाखा कार्यालयहरुमा छन् । हाल यस बैंकले करिब ९० हजार ग्राहकहरु लाई बेकिङ्ग सेवा दिईरहेको छ ।
 
यस बैंकको लगानी कुन–कुन क्षेत्रमा गरेको छ ?
बैकले व्यापार, उद्योग, कृषि, पर्यटन, शैक्षिक, हायर पर्चेज आदि क्षेत्रमा लगानी गरेको छ । त्यसका साथ साथै कुल लगानीको १५ प्रतिशत कर्जा बिपन्न बर्गमा गरेको छ । खासगरी गरिब जो केही गराँै भन्ने तर धितो नभएका जनताहरुलाई सामुहिक जमानीमा बढीमा १ लाख रुपैयाँसम्मका दरले कर्जा लगानी गरेका छौँ ।

युवांहरुलाई उद्यमी बनाउने खालका कुनै कार्यक्रम छैनन ?
कञ्चन डेभलपमेन्ट बैंकले देशका आर्थिक परिवर्तन बाहक युवाहरुलाई देशको आर्थिक विकासमा समावेश गर्नुपर्छ भन्ने हेतुले काम गर्न जाँगरिला युवाहरुलाई लक्ष्यीत गरी उद्यमी कर्जा प्रदान गर्दै आएको छ । त्यसैगरी बैंकले युवाहरुका लागि कृषि तथा घरेलु उद्योग, व्यापार व्यवसाय, कृषि, कुखुरा पालन, गाई पालन आदि क्षेत्रमा लगानी गरेको छ ।

बैंकको मूनाफा कस्तो छ ?
स्थापनाकाल देखिनै बैंक मुनाफामा रहेको र गतबर्ष यस मात्र बैंकले खुद नाफा ९ करोड ६४ लाख रुपैयाँ कमाए थियो । आर्थिक बर्ष २०७३÷०७४ मा १४ करोड रुपैयाँ बराबरको मुनाफा कमाउने लक्ष्य लिईएको छ ।

पूँजीबृद्धिको योजना कस्तो छ ?
आ.व. २०७२/०७३ असार मसान्तमा बैंकको चुक्ता पुँजी १९ करोड ८० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको असार मसान्तसम्मको नाफाबाट ४ करोड ९५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ पुर्याएका थियौँ । त्यसपछि पनि चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँको २:१ ले हुने ९ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निस्काशन गरेपछि यस बैंकको चुक्ता पुँजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँको १०ः३ ले हुने १० करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निस्काशन गर्दैछौँ । र आ.व. २०७३/०७४ को नाफाबाट ४ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने योजना छ । त्यसपछि हाम्रो बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

भनेपछि पुँजीवृद्धिका लागि कुनै बैंकलाई मर्जरमा ल्याउने या मर्जरमा जाने बैंकको योजना छैन ?  
हाम्रो बैंकको सातौ वार्षिक साधारण सभाले हकप्रद र बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र समय भित्र पूँजी पुर्याउने योजना लिएको छ र साथै उपयुक्त बैंक तथा वित्तीय संस्था मिलेमा प्राप्ती तथा समाहित हुने विकल्प पनि खुला राखेको छ ।

तपाईहरु सुदूरपश्चिमलाई आफ्नो कार्यक्षेत्र बनाएर सक्रिय हुनुहुन्छ, यहाँ नागरिकमा  बैंकिङ पहुँचको अवस्था के छ ?
बैंक तथा वित्तीय संस्थाहरु सुदुरपश्चिमका तराईमा पनि शहरी क्षेत्रमा बढी केन्दीकृत छन भने पहाडी भेगमा बैंक तथा वित्तीय संस्थाहरु सदरमुकाम केन्द्रित छन । सुदुरपश्चिमका अधिकांस पहाडी दुर्गम इलाकाहरुमा बैकिङ्ग पहुँच भने न्युननै रहेको छ ।

सुदुरपश्चिमका जनतालाई बैंकिङ कारोबारबारे बुझाउन कत्तिको सहज छ ?
सुदुरपश्चिमका तराई अधिकांस शहरीक्षेत्रमा बेकिङ्ग पहुँच पुगेकाले त्यहाँका जनताहरु बैंक बारेमा बुझाउन त्यति गाह्रो छैन । साथै पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय संघ संस्थाहरुले वित्तीय साक्षारता कार्यक्रम चलाएकाले बैंकिङ्ग बुझाउन सजिलो भएको छ । तर अधिकांस ग्रामिण इलाकाहरुमा बैंकिङ्ग बुझाउन अझै पनि बैंक तथा वित्तीय संस्थाहरुले काम गर्न बाँकी नै छ । 

ग्रामिण भेगमा बैंक संचालन गर्न सरकारी स्तरबाट के कत्तिको प्रोत्साहन छ ?
त्यस्तो कुनै किसिमको सहयोग प्राप्त भएको छैन ।

बैंकको आगामी रणनीति तथा योजनाहरुबारे वताइदिनोस न ।
स्थानीय स्तरको एक मात्र विकास बैंक भएकाले यस क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा र सुविधा दिने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र रही आगामी पाँच बर्ष भित्र प्रदेश नं ७ भरी वित्तीय संजाल फैलाई यस क्षेत्रको भर पर्दो वित्तीय संस्थाको रुपमा अगाडी बढने योजना रहेको छ । सोही अनुसारको रणनीति बनाई आगामी दिनमा बैकिङ्ग गरिने छ । हाल बैंकले सक्षम नेपालको वित्तीय सहयोगमा कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाका कृषकहरुलाई बिउ उत्पादन गर्न बिनाधितो कर्जा प्रवाह गर्ने कार्य भईरहेको छ

बैंकलाई अन्य स्थानमा विस्तार गर्ने योजनाहरु के छन् ? 
यस बैंकको हालको पुँजी संरचनाले ३ जिल्लामा मात्र कार्य क्षेत्र हुनाले यीनै तीन जिल्लाभित्र शाखाबिस्तार गर्ने योजना छ । हाल बैंककले कैलाली जिल्लाको सुखड बजार, बौनिया बजार, लक्की बजार र टिकापुर बजारमा शाखा विस्तारका लागि आन्तरिक सजावटको काम भई रहेको छ भने आगामी दिनमा स्थानीय जनताको आवश्यकता अनुसार शाखा विस्तार गर्दै लगिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]