August 12th, 2016

साउदी अरबमा तेलको भाउ घट्दा यसरी प्रभावित हुँदैछ ‘नेपालको रेमिट्यान्स क्षेत्र’

riyalखाडी मुलुक साउदी अरेबियामा कच्चा तेलको भाउ अत्याधिक घटेर आर्थिक संकटकै अवस्था देखा परेको छ । त्यहाँको अर्थतन्त्रको मूल्य स्रोत नै कच्चा तेल भएकाले यसको भाउमा आएको गिरावटले त्यहाँको समग्र अर्थतन्त्रलाई नै प्रभावित बनाएको हो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुहरुमध्ये साउदी अरेयिबा दोस्रो नम्बरमा पर्छ । साउदी अरबमा नेपालका पनि थुप्रै कामदारहरु छन् । हाल साउदीमा औपचारिक र अनौपचारिक रूपमा करिब ५ लाख नेपाली कामदार रहेको अनुमान छ । त्यहाँ अर्थतन्त्रमा देखिएको संकटसँगै रोजगारीमा पनि असर पर्ने हुन्छ । साउदीको अर्थतन्त्र संकटमा पर्दा थुप्रै नेपाली कामदारको रोजगारी गुम्ने हुँदा यसको प्रत्यक्ष प्रभाव स्वभाविक रुपले रेमिट्यान्समा पर्ने देखिन्छ । 

अहिले त्यहाँका कम्पनीहरूले हाल ठूलो मात्रामा विदेशी कामदार कटौती गरिरहेका छन् । पूर्वाधार लगायतका आयोजनाको काम ठप्प हुँदा नेपाली मात्रै हैन भारतीय, पाकिस्तानी, बंगालादेशी, फिलिपिनोलगायत कामदार कटौतीमा पर्न थालेका छन् । कामदार कटौतीले नेपालको रेमिट्यान्स आयमा कमी आउने अर्थशास्त्रीहरू बताउँछन् । विश्व बैंकका अनुसार नेपालको रेमिट्यान्स आयमा साउदी अरेबियाको योगदान साढे २६ प्रतिशत छ । सन् २०१५ मा नेपाली आप्रवासी कामदारले पठाएको रकमका आधारमा बैंकले तयार पारेको प्रतिवेदनअनुसार साउदी अरेबियाबाट त्यस वर्ष करिब १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । विश्व बैंकले तीन महिनाअघि सार्वजनिक गरेको ‘नेपाल विकास प्रतिवेदन’ ले पनि रेमिट्यान्स आयमा कमी आएर नेपालको अर्थतन्त्र धरापमा पर्न सक्ने प्रक्षेपण गरेको थियो । 

विश्वव्यापी रूपमा कच्चा तेलको माग कमी हुनु, युरोपेली संघबाट बेलायत बाहिरिनु, सिरियालगायत मुलुकमा राजनीतिक संकट उत्पन्न हुनु, रसियासँग अमेरिका र युरोपेली मुलुकको सम्बन्ध बिग्रनु लगायतका कारणले हाल तेलको मूल्यमा गिरावट आइरहेको छ । साउदी अरेबिया विश्वमै दोस्रो ठूलो तेल उत्पादक हो । त्यहाँको अर्थतन्त्र तेल निर्यातको कमाइबाटै चल्ने गर्छ । यसले विदेशी मुद्रा सञ्चितिलाई घटाउने छ भने नेपाली कामदारको माग कम हुँदा बेरोजगारको संख्या वृद्धि हुन सक्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]