January 28th, 2018

सप्तकोशी डेभलपमेन्ट बैंकले छ महिनामा कमायो एक करोड मुनाफा

बैंकिङ खबर । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड नौ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव २९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशीले ९४ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

४८ करोड ५३ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा तीन करोड ३२ लाख १६ हजार रुपैयाँ राखेको छ । बैंकले समिक्षा अवधिमा एक अर्ब १६ करोड १७ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब पाँच करोड ४२ लाख ७२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । गतवर्षको सो अवधिमा बैंकले ८४ करोड ३२ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको सञ्चालन मुनाफामा गिरावट आएको छ भने खुद ब्याज आम्दानी बढेको छ । बैंकले चार करोड एक लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरी २३ लाख दुई हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो अवधिमा एक करोड ४८ लाख ४५ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले एक करोड ९८ लाख ११ हजार रुपैयाँ प्रोभिजन राखेको छ ।

पुस मसान्तसम्ममा सप्तकोशी डेभलपमेन्ट बैंकको निष्कृय कर्जा ०.९६ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ४१.३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी दुई रुपैयाँ २५ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य तीन सय ६१ रुपैयाँ ५२ पैसा, मूल्य आम्दानी अनुपात ६० रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ एक सय तीन रुपैयाँ ४६ पैसा, तरलता अनुपात ५३.७९ प्रतिशत र पूँजी कोष अनुपात ४०.४७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]