May 18th, 2017

संसारलाई उछिन्दैछ भारतको आर्थिक वृद्धिले 

आरपी भट्टराई । अमुद्रीकरणका कारण पछिल्लो समय ओरालो लागेको भारतको अर्थतन्त्र अर्ब दुई वर्षभित्रमा नै उचाईमा पुग्ने देखिएको छ । हाल देखिएको अनुकूल अवस्थाको मनसुनले अमुद्रीकरणले पारेको प्रभावको पूर्ति गर्दै अर्थतन्त्रलाई माथि उकास्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । भारतले आर्थिक वर्ष २०१७/१८ मा ७.२ प्रतिशत र २०१८/१९ मा ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने आईएमएफको प्रक्षेपण छ । भारतको कृषिक्षेत्रमा आएको सुधारले उत्पादकत्वमा सुधार ल्याउने कोषको प्रतिवेदनमा जनाइएको छ । 

कोषको प्रतिवेदनमा भनिएको छ, “भारतको बैंकमा देखापरेको कमजोर अवस्था र कर्पोरेट वासलातका कारण अल्पकालीन अवधिमा भारतको वृद्धि ओरालो लाग्न सक्छ । विश्वास र नीति विश्वसनीयताको लामले लगातार बृहत् आर्थिक स्थायित्वमा लगातार प्रभाव पार्नेछ ।” दक्षिण कोरियाको राजनीतिक अस्थिरता, मध्यकालीन अवधिमा चीनमा हुने मन्द वृद्धि लगायतले भारतको वृद्धिमा पनि प्रभाव पार्ने कोषको भनाइ छ ।

अप्रिल महिनामा व्यापार घाटा बढ्यो
यता, सन् २०१७ को अप्रिल महिनामा भारतको व्यापारघाटा फराकिलो बनेको एक सरकारी तथ्याङ्कले देखाएको छ । अर्थ तथा उद्योग मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै अप्रिल महिनामा भारतको व्यापारघाटा १३ अर्ब २० करोड डलर पुगेको बताएको हो ।

सो अवधिमा निर्यातको तुलनामा आयात बढेका कारण घाटा २९ महीनाकै उचाइमा पुगेको बताएको हो । सुनको आयातमा भएको उच्च वृद्धिका कारण भारतको समग्र आयात बढेको हो । सो अवधिमा भारतको समग्र आयात गतवर्षको तुलनामा ४९ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड डलरमा उक्लिएको छ । यसमा सुनको आयात मात्र दुई सय ११ प्रतिशतले बढेको थियो । यो अवधिमा समग्र निर्यात भने १९ दशमलव सात प्रतिशतले मात्रै बढेको छ । गत महीना ३० ओटामध्ये २३ ओटा क्षेत्रले निर्यात वृद्धि हासिल गरेको थियो । सो अवधिमा पेट्रोलियम, विद्युतीय उपकरण, सुन, बहुमूल्य पत्थर जस्ता वस्तुको आयातमा भएको उच्च वृद्घिका कारण समग्र आयात बढ्न सहयोग पुगेको बताइएको छ । त्यस्तै अमेरिका र यूरोपेली मागमा भएको वृद्धिले निर्यातलाई सघाएको विश्लेषण गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]