August 1st, 2017

संसारका ‘टप फाइभ’ धनाढ्यमा कोको ? (जीवनीसहित)

माइक्रोसफ्ट कम्पनीका मालिक बील गेट्स यसपटक पनि विश्वकै धनी व्यक्तिमा कायम रहेका छन् । विश्वप्रख्यात अमेरिकी विजनेस म्यागाजिन फोब्र्सले निकालेको २०१७ का अर्पपतिहरुको सूचिमा बील गेट्स पहिलो नम्बरमा परेका छन् । विगत २३ वर्षमा उनी १८ पटक यो स्थानमा छन् । उनको यो स्थानलाई एक दिनका लागि अमेजनका संस्थापक अध्यक्ष जेफ बेजोसले ओगटेका थिए । यद्यपि, उनी त्यो स्थानमा कायम रहन सकेनन् । यसैबीच, गेट्स र बेजोससहित विश्वका टप पाँच धनाढ्यहरुको बारेमा यहाँ चर्चा गरिन्छ :

५. मार्क जुकरवर्ग
विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा सीईओ मार्क जुकरवर्ग विश्वका पाचौँ धनी व्यक्ति हुन् । ७०.५ विलियन अर्ब डलर सम्पत्तिका साथमा उनलाई विश्वचर्चित आर्थिक म्यागाजिन फोब्र्सले विश्वका पाचौँ धनी अर्वपतिको रुपमा सूचिकृत गरेको छ । ३३ वर्षीय अमेरिकी नागरिक जुकरवर्ग प्रोग्रामर, इन्टरनेट व्यवसायी तथा सामाजिक अभियान्ता हुन् । हारभर्डमा कलेजको एउटा प्रयोगात्मक कोठाबाट उनले फेसबुक पत्ता लगाएका थिए, जसले छोटो समयमा नै उनलाई विश्वप्रख्यात बनायो । १४ मे १९८४ मा जन्मिएका जुकरवर्ग हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् २०१२ मा प्रिस्सिला चानसँग विवाह गरेका जुकरवर्गका एउटी छोरी छिन् ।

४. अमेन्सीया ओर्टेगा
विश्वव्यापी ब्राण्ड जाराका लागि प्रख्यात फेसन ग्रुप इन्डिटेक्सका अध्यक्ष तथा फाउन्डर अमेन्सीया ओर्टेगा ७१.३ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका साथमा चौथो धनी बनेका छन् । उनी ८१ वर्षिय स्पेनीस नागरिक तथा विजनेसम्यान हुन् । २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगाले सन् १९६६ मा रोसालिया मेरासँग विवाह गरेका थिए । सन् १९८६ मा उनीहरुको सम्बन्ध टुट्यो । २००१ मा उनले फ्लो पेरेजसँग विवाह गरे । ओर्टेगाका तीन सन्तान छन् । उनका पिता रेलवेमा काम गर्थे । सानै उमेरमा उनले सर्ट बनाउने ठाउँमा काम गरे र त्यहाँबाट काम सिके । १४ वर्षको उमेरमा नै उनले पढाई छोडेका थिए ।

३. जेफ बेजोस 
संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो सेयरधनी जेफ बेजोस २७ जुलाई २०१७को सेयर कारोबार भइरहँदा विश्वकै धनी बन्न पुगेका थिए । यद्यपि, सेयर कारोबार बन्द हुँदा उनको स्थान झर्यो र फोब्र्सको अर्वपतिहरुको सूचिको तेस्रो स्थानमा पुगे । अमेकीकाका ५३ वर्षीय प्राविधिक उद्योगी तथा लगानीकर्ता बेजोस ७२.८ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् ।  उनको विजनेस रुची एरोस्पेस र पत्रपत्रिकातिर पनि छ । उनी एरोस्पेस निर्माण तथा विकास कम्पनी ब्लु वरिजिनका संस्थापक तथा मालिक हुन् । सन् २००० मा स्थापना गरिएको यो कम्पनीले २०१५ को सुरुवातमा अन्तरिक्षमा परीक्षण उडान गरेको थियो । उनले सन् २०१३ मा द वासिङटन पोष्ट पनि खरिद गरेका थिए । १२ जनवरी १९६४ मा जन्मिएका बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट साइन्स र आर्टर्समा ब्याचलर गरेका छन् । सन् १९९३ मा म्याक्केन्जी बेजोसँग विवाह गरेका उनका चार सन्तान छन् ।

२. वारेन बफेट
संसारकै सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट एक अमेरिकी विजनेसम्यान र सामाजिक अभियान्ता हुन् । ८६ वर्षीय बफेट ७५.६ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका साथमा विश्वकै धनी व्यक्तिहरुको सूचिको दोस्रो स्थानमा परेका छन् । अमेरीकाको मल्टिनेशनल कम्पनी बर्कशायर हाथवेका सीईओ तथा सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी ओमाहाका तान्त्रिक, ओमाहाका सन्त लगायत उपनामले समेत चिनिन्छन् । उनीसँग भएको सम्पत्तिको भन्दा पनि उनको लगानीसम्बन्धि कौशलता बढी चर्चा हुने गरेको छ । उनका पिता सेयर ब्रोकर थिए । ३० अगस्ट १९३० मा जन्मिएका बफेटले युनिभर्सिटी अफ नेब्रास्का लिङकनबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने कोलम्बिया युनिभर्सिटीबाट साइन्समा मास्टर्स गरेका छन् । सन् १९५२ मा बफेटले सुजेन बफेटसँग विवाह गरेका थिए । सन् २००४ मा उनको मृत्यु भएपछि उनले सन् २००६ मा एस्ट्रिड मेन्स्कसँग विवाह गरे । वारेन बफेटका तीन सन्तान छन् ।

१. बिल गेट्स
पछिल्लो २३ वर्षमा १८ पटक फोब्र्सको धनी व्यक्तिहरुको सूचिमा पहिलो नम्बरमा कायम रहेका बील गेट्स बिल एण्ड मेलिन्डा फाउन्डेसनका समेत फाउन्डर हुन् । ६० वर्षीय गेट्स उद्योग, प्रोग्रामिङ, सामाजिक अभियान लगायत थुप्रै क्षेत्रसँग सम्बन्धित छन् । सन् २००० मा माइक्रोसफ्टका सीईओ समेत भएर काम गरेका गेट्सले २००८ मा अध्यक्षको रुपमा काम गरे । हाल भने उनले आफ्नो सम्पूर्ण समय बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिने गरेका छन् । साथमा उनी माइक्रोसफ्टका वर्तमान सीईओ सत्य नडेल्लाका प्राविधिक सल्लाहकारको रुपमा काम गर्दै आएको छन् । फोब्र्सका अनुसार, उनीसँग ९०.७ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । २८ अक्टोबर १९५५ मा अमेरिकामा जन्मिएका उनी हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् १९९४ मा मेलिन्डा गेट्ससँग विवाह गरेका गेट्सका तीन सन्तान छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]