August 13th, 2016

शेयर विश्लेषक दिपेन्द्र अग्रवालको नजरमा धितोपत्र बोर्डको ‘एक अवगुण’

dipendraनेपाली पुँजी बजारको इतिहास पुरानै भए तापनि यसले समयसापेक्ष उन्नति गर्न भने सकेको छैन । परम्परागत कार्यशैली, पुरानै प्रविधिको प्रयोग, नियमनकारी संस्थाले गरेको बेवास्था, पुँजीबजारसम्बन्धि साक्षारताको अभाव र देशको अस्थिर राजनीति आदि कारणले गर्दा भद्रगोल अवस्थामा रहेको पँुजी बजार अन्तर्गतको नेपाली सेयर बजारले अन्तर्राष्ट्रिय बजारमा स्थान जमाउन सकेको छैन । देशको आर्थिक पाटोसँग जोडिएको सेयर बजारको स्थिती कमजोर हुनु समग्र नेपालकै लागि दुःखको विषय हो । यी सबै कमजोरीलाई सम्बोधन गरी सेयर कारोबार अगाडि बढाउने हो भने पक्कै पनि नेपाली सेयर बजारले दक्षिण एसियाली मुलुकमा राम्रो प्रभाव जमाउन सक्छ ।

पद र कार्यको जिम्मेवारी लिएपछि गरेका कार्यहरु एक पक्षका लागि फाइदाजनक हुन्छन्, त अर्को पक्षका लागि त्यसैले असर गर्ने हुनसक्छ । यसर्थ जोसुकैबाट पनि गल्ती हुनसक्छ । त्यसलाई सच्याएर उसका राम्रा कार्यहरुको मुल्याङकन गर्न हामी सबैले सिक्नुपर्छ । केही दिन अघि धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एक दैनिक पत्रिकामा नयाँ तथा साना लगानीकर्ता कालोधनको चेपुवामा परेको भन्दै लेख लेख्नुभयो । त्यो उहाँको गल्ती थियो । तर, एउटा गल्तीका लागि उहाँका सबै राम्रो पक्षहरु भुल्नु उचित हुँदैन । उहाँले १०० मा ९९ ओटा कार्यहरु नेपाली सेयर बजारका लागि राम्रा गरेका छन् । लगानीकर्ताका लागि अझ धेरै राम्रा कामहरु गर्दै जाउन्, हामी उहाँको साथमा छौँ । 

केहि समय यता नेपाली सेयर बजारको क्षेत्र फराकिलो हुँदै आएको छ । यसकारण लगानीकर्ता पनि बढिरहेका छन् । बजारको जनघनत्वलाई हेर्दा हालसम्म जति ब्रोकर कम्पनीहरु छन्, यिनीहरुले सबै लगानीकर्तालाई समेट्न सक्दैनन् । अझ भोलीका दिनमा सेयर बजार व्यवस्थित हुँदै गएमा लगानीकर्ताहरुको चाप पनि उत्तिकै बढ्छ । यसकारण धितोपत्र बोर्डले  नयाँ ब्रोकर कम्पनीहरु थप्नुपर्छ । डिम्याट र सिडिएल प्रक्रियापश्चात् नेपाली सेयर बजारले आधुनिकतातर्फ पाइला टेकिसकेको छ । यसको संकेत भोलीका दिनमा नेपाली सेयर बजारले आफ्नो कार्यक्षेत्र अझ फराकिलो बनाएर सेयर कारोबारमा सहजता अपनाउँछ । त्यसैले ठुलो कार्यक्षेत्रका आधारमा ब्रोकर कम्पनीहरुको संख्या पनि बढाइनुपर्छ ।  

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई तोकेको ८ अर्ब चुक्ता पुँजी बाहिरी मुलुकका तुलनामा अत्यन्तै न्युन छ । नेपालले अन्तराष्ट्रिय बैंकिङ बजारमा पहुंच पुर्याउनको लागि वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब हैन १५ अर्बदेखि २० अर्बसम्म हुनुपर्छ । अनि मात्र नेपाली बैंकहरुले अन्तर्राष्ट्रिय बजारमा आफ्नो शाखा विस्तार गर्न सम्भव हुन्छन् । 

आफु लगानीकर्ता भएको नाताले म सेयर बजारका लगानीकर्ताहरुलाई आफुले लगानी गर्न लागेको संस्थाप्रति सेयर आम्दानी, जम्मा नाफा, चुक्ता पुँजी, विगतका वर्षहरुको वित्तीय विवरण हालसालै प्रस्तुत गरेको वित्तीय विवरणदेखि बोर्डका सदस्यहरुको बारेमा पनि विशेष अध्ययन गरेपश्चात मात्र सेयरमा लगानी गर्नका लागि सल्लाह दिन चाहन्छु । 

(विश्लेषक अग्रवाल मेगा बैंकका निर्देशक र इन्भेष्टर फोरमका कार्यकारी सदस्य समेत हुन् ।) 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]