February 19th, 2018

शुक्रबारदेखि अनिवार्य रुपमा लागू हुँदै ‘सि-आस्वा’, कसरी प्रयोग गर्ने ?

बैंकिङ खबर । यसै साताको शुक्रबारदेखि सिआस्वा प्रणाली अनिवार्य रुपमा लागू हुँदैछ । सेयरको प्राथमिक निष्काशनमा अनलाइनबाट आवेदन  दिने प्रणाली सिआस्वा हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने र मेरो सेयर नै अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था नरहेको बताए । सिआस्वामा पनि लगानीकर्ताले अहिले जस्तै बैंकमा उपस्थित भई आवेदन दिन सक्ने बताए । सिआस्वामार्फत आवेदन दिँदा कुनै शूल्क लाग्दैन ।

लगानीकर्ताले अनिवार्य सिआस्वा प्रणाली लागू भएपछि आफ्नो खाता रहेको बैंकमा गएर बैंक खाता र हितग्राही खाता रुजु गराउनुपर्ने हुन्छ । यसपछि सिआस्वा रजिष्ट्रेशन नम्बर अर्थात सिआरएन नम्बर प्राप्त हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । 

अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

सिडिएससीले सिआस्वामा आवद्ध संस्थालाई सबै शाखाबाट सेवा प्रदान गर्न र आवद्ध हुने क्रममा रहेका वित्तीय संस्थालाई तत्काल आवद्ध भई सेवा सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]