August 9th, 2017

‘शाखा खोल्न आतुर छन् बैंकहरु, पूर्वाधार छैन’

अनिल शर्मा नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत हुन् । २८ वटा वाणिज्य बैंक तथा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैंक गरी २९ वटा बैंकहरु बैंकर्स संघमा आवद्ध छन् । वाणिज्य बैंकहरुको छाता संगठन रुपमा रहेको यस संघमार्फत भर्खरै मात्र २७ वाणिज्य बैंकहरुले २ सय ५० स्थानीय तहमा बैंक शाखा खोल्ने सहमति गरेका छन् । ७ सय ४४ स्थानीय तह मध्ये हाल सम्म ४ सय ११ स्थानीय तहमा बैंक शाखा पुगेका छैनन् । बैंकहरुले ४ सय ११ स्थानीय तहमध्ये २ सय ५० मा मात्रै किन शाखा खोल्ने तयारी गरेका हुन् र बाँकी रहेका स्थानीय तहहरुमा कहिले बैंकका शाखा पुग्छन् ? भन्ने चासोको बिषय रहेको छ । यसै सन्दर्भमा बैंकर्स संघका कार्यकारी अधिकृत शर्मासँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

अहिले २७ वटा वाणिज्य बैंकहरुले बैंक शाखा नपुगेका स्थानीय तहमा कसले कहाँ शाखा खोल्ने भनेर निर्णय गर्नु भएको छ, के को आधारमा यो निर्णय भयो ? 
सबै वाणिज्य बैंकहरु बसेर छलफल गरेर सहमति भएको हो । धेरै जसो बैंकहरुले तराई तथा सुगम क्षेत्रमा मात्रै बैंक शाखा खोल्न चाहने हुँदा हिमाल, पहाड र तराईका क्षेत्रमा अनिवार्य रुपमा रोज्नु पर्ने व्यवसथा अनुसार रोज्न लगाएका हौं । सबैले हिमाल देखि तराई सम्मका स्थान रोज्नु भएको छ । बैंकहरुले आफै रोजेको ठाउँहरुमा शाखा खोल्ने सहमति भएको हो । अहिले २ सय ५० स्थानीय तहमा कसले कुन तहमा शाखा खोल्ने भनेर सहमति गरिसकेका छौं । 

२ सय ५० स्थानीय तहमा कसले कुन तहमा शाखा खोल्ने भनेर बैंकलाई नै रोज्न दिदा दुई बैंकले एउटै स्थानीय तह रोजेनन् ? 
बैंकहरुलाई एक÷एक वटा हिमाली, पहाडी र तराई क्षेत्रमा पर्ने गरी रोज्न दिएका थियौं । धेरै स्थानीय तहहरु जुधेका थिए । एउटै स्थानीय तहमा एक भन्दा बढी बैंकले शाखा खोल्न चाहेकोमा त्यसलाई गोला प्रथाबाट समस्याको समाधान गर्यौँ । 

अहिले भाग लगाएको स्थानीय तह हेर्दा कुनै बैंकको भागमा ३१ वटा परेको तथा कुनै बैंकको ३ वटा मात्रै परेको छ नि, यो कसरी भयो ? 
सबैलाई समान ढंगले भागबण्डा भएको छैन । कुनै बैंकले ३१ वटासम्म स्थानीय तह शाखा खोल्नका लागि भागमा परेको छ भने कुनै बैंकले ३ वटा मात्रै पनि चित्त बुझाउनु परेको छ । त्यो बैंकहरुको रोजाईको कारण पनि हो । जस्तो एउटा बैंकले ३० वटा स्थानीय तहमा शाखा खोल्न चाहेको र ती स्थानीय तहमा अन्य बैंकले चाहाना नदेखाएका कारण निर्विरोध रुपमा त्यस बैंकले धेरै शाखा खोल्ने मौका पाएको हो । 

विदेशी लगानीको स्टान्डर्ड चार्टड बैंकलाई किन स्थानीय तहमा नपठाइएको हो ? 
स्टान्डर्ड चार्टड बैंक हाम्रो मेम्बर भए पनि हामीले जवरजस्ती रुपमा शाखा खोल भन्न मिल्दैन । स्टान्डर्ड चार्टड बैंकले स्थानीय तहमा जान चाहेन त्यसमा हामीले केहि भन्न सकेनौं । 

बैंकका शाखा पुग्न नसकेका ४ सय ११ स्थानीय तह मध्ये २ सय ५० मा मात्रै शाखा खोलिने भयो, बाँकीमा किन नखोलिएको ? 
सबै स्थानीय तहमा शाखा खोल्न सबै बैंकहरुले पनि चाहाना देखाएकै हो । तर बाँकी रहेका स्थानीय तहहरुमा शाखा खोल्नका चाहिने न्युनतम पूर्वाधारहरु समेत छैनन् । न्युनतम पूर्वाधार नभई कसरी शाखा खोल्ने ?  हुनत अहिले भाग वण्डा गरिएका २ सय ५० स्थानीय तहमा पनि बैंक शाखालाई चाहिने पूर्वाधार पर्याप्त छैनन । त्यसमा पनि बाँ रहेका १ सय ६१ स्थानीय तहहरुमा त न्युनतम समेत पूर्वाधार छैनन । बाटो, विजुली, भवन, इन्टर नेट लगायतका सामान्य कुराहरु समेत नभएको ठाउँमा कसरी शाखा खोल्ने भन्ने समस्या भएका कारण नखोलिएको हो । यदि बैंक शाखा खोल्न भौतिक पूर्वाधार हुने हो भने बैंकहरु शाखा खोल्न तयार छन् । हामीले नगरपालिका वा गाउँपालिकाका कार्यालय नजिकै वा सोहि भवनमा कोठा उपलब्ध गराए बैंक शाखा खोल्न सक्छौ भन्ने कुरा पनि राखेका छौं । नगरपालिका वा गाउँपालिकाको कार्यालय रहेको ठाउँमा सुरक्षा, सेवा सुविधा लगायतका सबै दृष्टिकोणले पनि उपयुक्त हुन्छ । 

बाँकी रहेका १ सय ६१ स्थानीय तहमा कहिले पुग्ला त बैंक ??
यस बिषयमा अहिले भन्न सकिँदैन । न्युनतम भौतिक पूर्वाधार जहिलेसम्म तयार हुँदैन त्यहीलेसम्म शाखा पुग्दैनन । चालु आर्थिक बर्षको बजेटमा फेरी सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा भनिएको छ । यसले पनि थोरै असर गरेको मैले महशुस गरेको छु । बजेटमा भुलवस बैंक भन्नु पर्नेमा वाणिज्य बैंक लेखिएको हो कि भन्ने लागेको छ । बैंक तथा वित्तीय संस्था भनेको भए विकास बैंक तथा फाइनान्स कम्पनीहरुले समेत शाखा खोल्ने थिए । त्यसो गर्दा बैंकिङ पहुँच पुर्याउन सहज हुने थियो । 

वाणिज्य बैंकका अहिले देखिएका मूख्य चुनौतीहरु के–के हुन् ? 
वाणिज्य बैंकको अहिले देखिएका मूख्य चुनौती भनेको स्थानीय तहमा बैंक शाखा पुर्याउनु नै हो । भौतिक पूर्वाधार केहि नभएका स्थानीय तहमा शाखा पुर्याउन सक्ने अवस्था छैन । अहिले शाखा खोलने भनिएका स्थानीय तहमा पनि पर्याप्त भौतिक पूर्वाधारहरु छैनन् । यस्ता ठाउँमा शाखा कार्यालयहरु व्यवस्थापन गर्न ठूलो चुनौती रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]