November 15th, 2017

विश्वव्यापी वित्तीय बजारका वास्तविक चुनौती

क्रिस्टोफर स्मार्ट / आर्थिक संकटको संघारमा पुग्न लाग्दा पनि विश्वव्यापी बजारमा विनाकारण उत्साह देखिनु एउटा ठूलो रहस्यको विषय बनेको छ । राजनीतिक निर्णय तथा गतिविधिका कारण व्यावसायिक क्रियाकलापमा नकारात्मक असर पर्दै गएको देखिए पनि लगानीकर्ताहरू भने उत्साहित बन्दै गएको देखिन्छ । अहिले भएको लगानीले आगामी दिनमा नगद प्रवाह कम हुने भएकाले कुन क्षेत्रमा लगानी गर्दा आगामी दिनको बजार सन्तुलनमा सकारात्मक असर पर्छ र कुन क्षेत्रमा लगानी गर्दा नकारात्मक असर हुन्छ भनी विश्लेषण गर्ने दिन आइसकेको छ । विश्लेषण नगरी लगानी गर्दा भविष्यमा नियन्त्रण गर्न नसकिने अवस्था आउन पनि सक्छ । तसर्थ, विश्लेषणपूर्वक लगानी गर्नुपर्ने हुन्छ । विश्लेषणका लागि जोकोही लगानीकर्ताका लागि पनि सहज बन्दै गएको अवस्था पनि छ ।

विश्वव्यापी बजारमा बिस्तारै आएको परिवर्तनले लगानीकर्ताले गरेका अपेक्षा उल्टनु झनै भयानक हुने गरेको छ । विश्वअर्थतन्त्रका प्रमुख खेलाडी राष्ट्रको व्यवहारले लगानीकर्ताले अपेक्षा गरेबमोजिमको परिणाम निस्किएको देखिँदैन । बजारमा परिवर्तन बिस्तारै–बिस्तारै देखिँदै जान्छन्, तर यी परिवर्तनले बजारको अधारभूत प्रणाली नै परिवर्तन गर्ने क्षमता राख्छन् । यसले लगानीको जोखिम र सम्भावित प्रतिफल पनि प्रभावित बन्दै आएको छ ।

तात्विक रूपमा आजको बजारको विश्लेषण गर्न अलि सहज पनि भएको छ । आम्दानी बढ्नु, मूल्य वृद्धिबाट हुने असर न्यूनीकरणका प्रयास हुनु र अर्थतन्त्र फराकिलो बन्दै गएकाले विश्लेषण गर्न अलि सहज भएको अनुभूति गरिएको हो । गत अक्टोबर महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी अर्थतन्त्रको आवधिक तथ्यांक प्रकाशन गर्‍यो । सो तथ्यांकअनुसार आगामी वर्ष थोरै राष्ट्रमा मात्र न्यून दरको आर्थिक वृद्धि हुने आकलन गरिएको छ । ठूला अर्थतन्त्र भएका राष्ट्रका केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाइ गर्ने योजना बनाएका छन् र कतिपय केन्द्रीय बैंकले त कडाइ पनि गर्न थालिसकेका छन् । त्यस्तै ब्याजदरमा कमी आएकाले यसलाई पनि सम्बोधन गर्न थालेका वा सम्बोधन गर्ने योजना बनाएका छन् ।

राजनीतिक संकट बढ्दै गए पनि लगानीकर्ताको मनस्थितिमा नकारात्मक असर पारेको देखिँदैन । बीसौँ शताब्दीमा आएको ठूलो आर्थिक संकटपछि बजारले थोरै समयमा नै उचाइ लिएको थियो । सन् १९४१ डिसेम्बर ७ मा अमेरिकाको पर्ल हार्वरमा जापानले आक्रमण गरेपछि अमेरिकी सेयर बजारमा १० प्रतिशतले कमी आएको थियो । तर, ६ हप्ताभित्र सेयर बजारमा सुधार आएर पहिलेकै अवस्था प्राप्त गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमण भएपछि अमेरिकी सेयर बजार करिब १२ प्रतिशतले घटेको थियो । तर, एक महिनाभित्रै बजारमा सुधार आइहाल्यो । २३ नोभेम्बर १९६३ मा अमेरिकाका ३५औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि पनि अमेरिकी सेयर बजार ३ प्रतिशतले घटेको थियो । तर, अर्को दिनमा नै सेयर बजारमा सुधार आइहाल्यो ।

प्रत्येकपटकका राजनीतिक संकट निश्चय पनि फरक प्रकृतिका छन् । तर, नीतिनिर्माताले दिएको प्रतिक्रियाअनुसार लगानीकर्ताले निर्णय गर्ने एक अमेरिकी लगानीकर्ता जेन्स निस्टेडले बताएका छन् । यसैगरी सामान्य अवस्थामा पनि मौद्रिक नीति वा ब्याजदर समायोजन गर्ने हल्ला चलाएर केन्द्रीय बैंक र अर्थमन्त्रीहरू बजारमा जोखिम सिर्जना गर्छन् । उत्तर कोरियाले लिएको आणविक परीक्षण र क्षेप्यास्त्र प्रहारका गतिविधिले आगामी दिनमा आउने सम्भावित जोखिम पहिलो नम्बरमा परेको छ । कोरियाली प्रायद्वीपमा आणविक हतियार परीक्षणका गतिविधिले ठूलो मानवीय क्षति हुने संकेत गरेकाले विश्वको १३औँ ठूलो अर्थतन्त्र भएको राष्ट्र दक्षिण कोरियासँगको व्यापारमा पनि बाधा व्यवधान खडा भएको छ । यसले विश्वभर नै राजनीतिक चिन्ता बढाएको छ । यस्तो खालको परिस्थिति लामो समयसम्म त रहन नसक्ला, तर परिणाम भने निकै निराशाजनक आउने स्पष्ट नै छ । विश्वका शक्तिशाली राष्ट्रहरूले एउटै आवाज उठाए आगामी दिनमा नगद प्रवाह र लगानीको समस्या रहँदैन भन्न सकिन्छ ।

साउदी अरबको अवस्था यस्तै छ भन्न सकिन्छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानले आफ्नो शक्ति प्रयोग गरी सरकार तथा सुरक्षा निकायका उच्च अधिकारी तथा अन्य राजकुमारलाई सरकारबाट बर्खास्त गरेका छन् । पछिल्लो समय साउदीलगायत मध्यपूर्वका राष्ट्रबीच शक्ति सन्तुलन भएको नदेखिए पनि निर्यातदर कायमै राखेको छ । मध्यपूर्वी राष्ट्रले विश्वभर आपूर्ति हुने तेल प्रवाहलाई रोकेको भए नयाँ प्रविधि र तेल निर्यातमा प्रतिस्पर्धी अन्य राष्ट्रले यी राष्ट्रलाई उछिन्न सक्थे ।

यसैगरी राजनीतिक तथा आर्थिक संकट निकै गहिरिएको भेनेजुएलाको नकारात्मक असर पनि सो क्षेत्रका अन्य राष्ट्रमा पर्न सक्थ्यो । राजनीतिक र आर्थिक संकट बढ्दै जाँदा मानव जीवन नै संकटमा पर्न सक्थ्यो । यहाँ आएको आर्थिक तथा राजनीतिक संकटले वित्तीय बजारमा खासै ठूलो प्रभाव पार्न सकेन । विश्वमा आएका राजनीति तथा आर्थिक परिदृश्यहरू समाचारका हेडलाइन नै बन्ने गरेकाले मानिसलाई थाहा नहुने सम्भावना कमै मात्र हुन्छ । तर, साइबर आक्रमण वा सरुवा रोगजस्तो अनपेक्षित रूपमा कुनै संकट आइपरेको अवस्थामा भने आगामी दिनमा फाइदा नहुने गरी लगानीकर्ताले लगानी गर्दैनन् । धेरै मानिसले मान्दै आएको आर्थिक मान्यतामा बिक्री सक्रिय भएको अवस्थामा लगानीकर्ताले नगद प्रवाह गरिरहने सम्भावना हुन्छ । यसले लगानीकर्ताहरूमा सचेतनासमेत पैदा गरेको बजारको बिक्री पुँजीकरण वृद्धि भएको कुराले देखाएको छ । अथवा केन्द्रीय बैंकले मूल्य वृद्धि नियन्त्रण गर्न सकेको छ । परिवर्तन कति वेला आउँछ थाहा हुँदैन । ठूला लगानीकर्ताले लिएको कर्जा खराब काममा प्रयोग भयो भने पुनः फिर्ता हुने सम्भावना निकै कम मात्रै हुन्छ ।

बढ्दो बजारमा लगानी गरिरहेका सचेत लगानीकर्ताले राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रमा प्रभाव पार्ने कुरा सजिलै विश्लेषण गरिहाल्छन् । तर, कति लगानी गर्दा कस्तो खालको जोखिम आइपर्छ भन्नेचाहिँ निश्चित हुँदैन । यसले लगानीकर्ताको मनोबलमा यस्तै अवस्था आउँछ भने भविष्यवाणी गर्नचाहिँ गाह्रै हुन्छ । उदाहरणका लागि टर्कीलाई लिन सकिन्छ । प्रजातान्त्रिक प्रणालीबाहिर रहँदा टर्की युरोपबाट टाढा हुन पुग्यो र लगानीको प्रतिफल प्राप्त गर्ने कुरामा जोखिम बढेको कुरा लगानीकर्ताले थाहा पाइहाले । अर्कोतिर ब्राजिलमा भएको भ्रष्टाचारको घटनामा एकपछि अर्को नेताहरू तानिए । लगानीकर्ताहरूले राष्ट्रका निकायले गर्ने नियमित कामका रूपमा लगानीकर्ताले यो घटनालाई लिए । र, उनीहरूले आफैँ जोखिमको विश्लेषण गरे । वर्तमान समयको विश्वव्यापी बजारमा सबैभन्दा ठूलो राजनीतिक जोखिम भने ठूला अर्थतन्त्र भएका राष्ट्रले लगानीकर्ताका अपेक्षामा आएको परिवर्तनलाई सम्बोधन गर्न नसक्नु नै हो । यसमा सबैभन्दा ठूलो प्रभाव अमेरिकाका गतिविधिले पारेको हुन्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताका अपेक्षाबमोजिम गतिविधि नगर्न खोजिरहेका देखिन्छन् ।

अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्ने र कार्यान्वयनमा रहेका व्यापारिक सम्झौतालाई पुनर्परिभाषित गर्न खोजेकाले अमेरिकाले कस्ता खालका नीति लिन्छ भनेर यसै भन्न सकिने अवस्था छैन । ट्रम्पका साथै आगामी दिनमा अमेरिकाको नेतृत्व गर्ने नेताहरूले साझेदारीयुक्त संस्थागत विकास गर्नुभन्दा पनि व्यापारिक सन्तुलन कायम गर्ने सम्बन्धमा मात्र काम गरे भने बजारमा संकट आएको अवस्थामा सामूहिक प्रयास नहुन सक्छ । लगानीकर्ताका अपेक्षामा आएको परिवर्तन गर्न नसक्दा हाल बढिरहेको बजार घट्न सक्ने हुन्छ । क्रिस्टोफर स्मार्ट हार्वर्ड, विश्वविद्यालयअन्तर्गत केनेडी स्कुल अफ गभर्मेन्टका वरिष्ठ फेलो हुन् ।  (नयाँ पत्रिका दैनिकमा प्रकाशित)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]