May 29th, 2017

विलयको अन्तिम संघारमा आधा दर्जन राष्ट्रिय स्तरका विकास बैंकहरु

रुपा कोइराला । पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयसीमा सकिन अब डेढ महिना मात्रै बाँकी छ । राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड चुक्ता पुँजी र्पुुयाउनु पर्छ। राष्ट्रियस्तरको फाइनान्स कम्पनीले ८० करोड, चारदेखि १० जिल्लाकाले ८० करोड र एकदेखि तीन जिल्लाकाले ४० करोड पुँजी र्पुयाउनु पर्नेछ । पुँजीवृद्धिका लागि वाणिज्य बैंकहरुले धमाधम विकास बैंकहरुलाई गभिरहेका छन् । कतिपय राष्ट्रिय स्तरकै बैंकहरु वाणिज्य बैंकमा विलय हुन लागेका छन् भने कतिपय दुई बैंकहरु एकआपसमा गाभिएर नयाँ बैंक बन्न लागेका छन् । यो क्रममा थुप्रै विकास बैंकहरुको नाम हराउँदैछ । चालू आर्थिक वर्षभित्रमा मर्जर तथा एक्वीजिसनसम्बन्धी कामलाई टुंगोमा पुर्याउने गरी सबै बैंकले गृहकार्य गरिरहेका छन् । 

आधा दर्जन विकास बैंक वाणिज्य बैंकमा विलय हुने
राष्ट्रिय स्तरको त्रिवेणी विकास बैंक लिमिटेडलाई गाभेर एकीकृत कारोबार सुरु गरेको जनता बैंक लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई एक बराबर एकको स्वाप रेसियोमा एक्वायर गर्दैछ । सिद्धार्थको हालै बसेको विशेष साधारणसभाले उक्त प्रस्तावलाई पारित समेत गरिसकेको छ । सिद्धार्थलाई गाभेर जनताले आठ अर्ब चुक्तापुँजी नघाउन लागेको हो । 

एक अर्बभन्दा बढी चुक्तापुँजी भएको रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव दशौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको बैंकले हकप्रद निष्काशन खारेज गरी ग्लोबल आईएमईसँगको एक्विजिसनलाई नै अघि बढाउने निर्णय गरिसकेको छ । 

काष्टमण्डप डेभलपमेन्ट बैंकले कुमारी बैंकसँग एक्विजिसन सम्झौता गरेको छ । हालै २५ प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको मुनाफाबाट २३.३७ प्रतिशत बोनस सेयर वितरण चुक्तापुँजी एक अर्ब नघाएको बैंकले आफैँ कसरत गरेर पुँजी बढाउनुको सट्टा कुमारी बैंकमा विलय हुने निर्णय गरेको छ । काष्टमण्डपसँगै कुमारीमा काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स पनि गाभिँदैछन् । 

राष्ट्रिय स्तरको सबल विकास बैंकमध्येमा गनिएको एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक बराबर ०.४१ को स्वाप रेसियोमा खरिद गर्दैछ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब रुपैयाँ नाघिसकेको छ । तरपनि बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गरेर थप सबल बन्ने योजना बनाएको छ ।  

त्यसैगरी, मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मर्जरमा जाने सहमति गरेका छन् । टुजिमले गत माघ ६ गते मेगा बैंकसँग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यी दुई बैंक १००ः९५ को स्वार रेसियोमा गाभिनेछन् ।

अर्को राष्ट्रियस्तरको विकास बैंक एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले खरिद गर्दैछ । सरकारको स्वामित्वमा रहेका दुई संस्थाबिचको एक्विजिसनलाई अर्थमन्त्रालयले स्वीकृति प्रदान गरी मन्त्रिपरिषदले पनि पारित गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले पनि एक्विजिसन प्रस्ताव पारित गरिसकेको छ । 

मर्जरबाट नाम मेटाउँदै दुई ठूला विकास बैंक
वाणिज्य बैंकहरुमा विकास बैंकहरु गाभिने लहर चलिरहँदा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले भने लुम्बिनी फाइनान्ससँग आफ्नै नामै मेटिने गरी मर्जरमा जाने सम्झौता गरेको छ । गत वर्ष मात्रै भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर बनेको भिबोर सोसाईटीले मर्जरपछि लुम्बिनी डेभलपमेन्ट बैंक नाम रहने गरी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँग मर्जर सम्झौता गरेको हो । उक्त मर्जरपछि मुलुककै सबैभन्दा ठूलो विकास बैंक बन्ने बताइएको छ ।

यता, राष्ट्रिय स्तरका दुई विकास बैंकहरु यती डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एकआपसमा गाभिएर देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएका छन् । एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिने प्रस्ताव दुबैको साधारणसभाबाट पारित भएको छ । मर्जरपछि यतीको नाम मेटिएर महालक्ष्मी विकास बैंकको नाममा एकीकृत कारोबार गर्ने सहमति भएको छ । यसबीचममर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]