November 16th, 2017

विराटनगरमा गण्डकी विकास बैंकको शाखा विस्तार

गण्डकी विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगरमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको औपचारिक उद्घाटन गरे । 

सो अवसरमा मेयर पराजूलीले बैंक परिवारप्रति बधाई ज्ञापन गर्दै सफलताको शूभकामना व्यक्त गरे । बैकका त्यस्तै, बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिँदै आइरहेको बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिको बारेमा जानकारी गराए । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस, मोबाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । 

बैंकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौँडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरिरहेको छ । 

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड, कर्जातर्फ रु.१६ अर्ब ५१ करोड पुर्याएको थियो । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । बैंकले केन्द्रस्य कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्जपश्चात ५३ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । साथमा न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]