March 11th, 2017

विदेशी लगानीको बैंक : जसले टेर्दैनन नेपाली कानून

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड विदेशी लगानीमा स्थापना भएको बैंक हो । २०४४ सालमा स्थापना भएको स्टान्डर्ड चार्टर्ड बैंक नेपालमा स्टान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत लगानी छ । ग्रुपको लगानीमध्ये स्टाण्डर्ड चार्टर्ड अष्ट्रेलियाको ५० र स्टान्डर्ड चार्टर्ड बेलायतको २५ प्रतिशत लगानी छ । यो बैंकको पुँजीवृद्धि, उत्पादनमूलक क्षेत्रमा लगानी लगायतलाई हेर्दा नेपालको नियम कानुन तथा नीति नियमको पालना नै नगरेको भान हुन्छ । विश्वब्यापी मान्यता प्राप्त बैंक भए पनि सेयरधनीप्रतिको दायित्व निर्बाह र पारदर्शिता अबलम्बनमा समेत नेपालको स्टान्डर्ड चार्टर्ड निकै पछि परेको देखिन्छ । 

नाफाका आधारमा अगाडी देखिने बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको स्ट्याण्डर्ड चाटर्ड बैंक चुक्ता पुँजीमा भने कमजोर छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा यो बैंक २१ औँ स्थानमा देखिएको छ । दोश्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्ने हो भने यस बैंकको हालको चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ छ । बैंकले आफ्नो वेभसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दै एफपिओ र बोनस सेयर जारी गरेर असार मसान्तसम्मका आठ अर्ब पाँच करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने उल्लेख गरेको छ । जसअनुसार, गत आर्थिक बर्षको कमाईबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी झण्डै चार अर्ब रुपैंया पुर्याएको छ । यसबाहेक, बैंकले १२९० रुपैयाँ प्रतिकित्ताका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता थप नयाँ सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । उक्त नयाँ सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । त्यसपछि पुँजी बढाउन के गर्ने भन्नेबारे यस बैंकले कुनै रणनीति लिएको देखिँदैन । 

अब चुक्ता पुँजी पुर्याउने समय पनि साँघुरिँदै गएको छ । पुँजी वृद्धिको समयसीमा सकिन चार महिना मात्रै बाँकी छ । यति बेला बैंकलाई चार अर्ब चुक्तापुँजी चाहिएको छ । मर्जर तथा एक्विजिसनमा नगई बोनस र एफपिओबाटै पुँजी पुर्याउने योजना सार्वजनिक गरेको बैंकलाई योजनाअनुरुप नै अब आठ अर्ब पुँजी पुर्याउनु चुनौतिपूर्ण मात्र नभएर असम्भव जस्तै देखिएको छ । 

यता, उत्पादनमूलक क्षेत्रमा लगानीको हिसाबले पनि यो बैंकले नेपाल राष्ट्र बैंकको नियम पालना गरेको देखिँदैछ । हुन त, प्रायः बैंकहरुले यो नीतिको पालना गर्न सकेका छैनन् । बैंकहरु नाफामुखी भइदिँदा अनुत्पादक क्षेत्रमा लगानी गर्ने र छोटो समयमा धेरै नाफा कमाउने होडमा बैंकहरु देखिएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ अर्ब ९८ करोड ६१ लाख ८१ हजार रुपैयाँ संकलन गरी ३५ अर्ब १० करोड ६९ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

नेपाल राष्ट्र बैंकले कुल कर्जा लगानीको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न बैंकहरुलाई बारम्बार भनिरहँदा पनि हालसम्म उत्पादनमूलक क्षेत्रमा बैंकहरुको लगानी १६.२१ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष ०७०÷७१ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पहिलो पटक उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने नीति ल्याएको थियो । नीतिअनुसार कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योगमा प्रवाहित कर्जालाई उत्पादन मुलुकमा गणना गर्न सकिने प्रावधान छ । त्यसपछिका हरेक वर्षको मौद्रिक नीतिमा पनि उक्त विषय उल्लेख हुँदै आएको छ । तर, हालसम्म पनि वाणिज्य बैंकहरुले पूर्ण रुपमा सो नीतिको कार्यान्वयन गर्न सकेका छैनन् । त्यसमाथि, चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत उत्पादनमूलक क्षेत्रमध्ये, कृषि र ऊर्जामा मात्रै १५ प्रतिशत लगानी पुर्याउनुपर्ने भनिएको छ । यसअघि, यो क्षेत्रमा १२ प्रतिशत लगानी गर्नुपर्ने भनिएको थियो । उक्त निर्देशन पालनाका लागि बैंकहरूलाई ०७४ असार मसान्तसम्मको समयावधि दिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]