November 4th, 2016

‘वित्त कम्पनीहरुको बजार साँघुरिएको छैन’

sarojkaji-tuladharसरोजकाजी तुलाधर – अहिले वित्त कम्पनीहरुको अवस्था राम्रो छ । पुँजी बढिरहेको छ । पछिल्लो समय संख्यात्मक रुपमा फाइनान्स कम्पनीहरु घट्दो क्रममा छन् । तर उनीहरुको वित्तीय अवस्था भने गुणात्मक देखिन्छ । केही दिनयता नै कतिपय वित्त कम्पनीहरुले मर्जर सकेर कारोबार सुरु गरिसकेका छन् त कतिपय प्रक्रिया वा पाइपलाइनमा छन् । अहिले कति कम्पनी छन् भन्ने अवस्था छैन । न त भविष्यमा यति होला भनेर भन्न सक्ने अवस्था नै छ । तर संख्या भने अहिलेको तुलनामा घट्ने निश्चित छ । साथसाथै, मर्जरपछि वित्त कम्पनीहरुको वित्तीय अवस्था अझै सुदृढ र सशक्त हुने पनि निश्चित छ ।  

फाइनान्स कम्पनीहरुको आफ्नै बजार र ग्राहक छन्
पुँजीवृद्धिको योजना ल्याएर राष्ट्र बैंक एउटा तप्का नेपालमा क वर्गका संस्थाबाहेक अरुलाई राख्नुहुँदैन भन्ने पक्षमा देखिएको छ । तर त्यो घातक कुरा हो । त्यसो भएको अवस्थामा जनताले ठूलो सास्ती झेल्नुपर्ने छ । अहिले अन्य संस्थाहरुले बैंकिङ पहुँच नभएको वर्गलाई जसरी समेटेको छ भोलि क वर्गका संस्थाले मात्रै उनीहरुलाई समेट्न सक्नेछैनन् । हाम्रो बजार, कार्यक्षेत्रलगायतका कुराहरु हेर्दा पनि त्यो सम्भव छैन । फाइनान्स कम्पनीहरुको आफ्नै बजार छ, आफ्नै ग्राहकहरु छन् । जो बैंक तथा वित्तीय संस्थामा जान डराउँछन्, उनीहरुलाई फाइनान्सले आफ्नो सर्कलमा ल्याउने गरेको छ ।  

हामी ग्राहकलाई बैंकिङ गर्न सिकाउँछौँ । यदि हामीले उनीहरुलाई बैंकिङ सिकाइसकेपछि बैंकले लैजान्छ भने पनि हामीलाई कुनै आपत्ति छैन । किनकि हामीसंग बैंकिङ पहुँचभन्दा बाहिर रहेका थुप्रै ग्राहकहरु छन् । हामीले समेटेका ग्राहकलाई बैंकहरुले समेट्न सक्दैनन् । त्यसैले बैंकहरुले हाम्रा ग्राहक लगिदिए भन्ने कुरामा हामीलाई समस्या छैन । हामीले जुन ‘कोलाटेरल’ लिएर जति ‘एक्सपोजर’ दिएका छौँ, त्यही कोलाटेरलमा त्योभन्दा धेरै बढी एक्स्पोजरमा ब्याजदर कम दिएर लैजानु चाहिँ ठूलो समस्या हो ।

खुला बजार नीतिमा विश्वास गर्ने हो भने ग्राहकलाई सन्तुष्ट बनाएपछि मात्रै व्यवसाय विस्तार सम्भव छ । यसर्थ कम्पनीले ग्राहकलाई दिने सेवा, सुविधा वा सन्तुष्टिले नै सो कम्पनीको भविष्य निर्धारण गर्ने हो । त्यसैले क, ख र ग वर्गका कम्पनीले एउटै काम गरिरहेका छन् भनेर कसैले हच्किनुपर्ने अवस्था छैन, हामी पनि हच्किएका छैनौँ । कुनै पनि वित्तीय संस्था विजनेस नभएका कारणले विग्रेको छैन । सबैको आ–आफ्नो कार्यकुशलता छ, सबैको आ–आफ्नो बजार तथा ग्राहक छन् । त्यसैले हाम्रो भूमिका हामीसंगै छ । त्यसलाई खुम्चिएको भन्न मिल्दैन । बरु अझै विस्तार भएको हो । त्यसमाथि पनि, राष्ट्र बैंकले स्पष्ट रुपमा भनिदिएको छ, वाणिज्य बैंकहरुले विकास बैंकभन्दा अलि बढी काम गर्छन्, विकास बैंकले फाइनान्सभन्दा अलि बढी काम गर्छन् । त्यसैले पनि क र ख लाई ग भन्दा प्रतिष्पर्धात्मक फाइदा आफ्नो ठाउँमा छ । क र ख बैंकले हाम्रो काम गरेर हामीलाई असर पुग्ने कति पनि हैन । हामीले असर त्यतिबेलामात्रै पुग्ने जतिबेला हाम्रा ग्राहकहरुले हामीप्रति विश्वास गर्न छाड्नेछन् । 

फाइनान्स कम्पनीहरु : हिजो र आज
फाइनान्स कम्पनीहरु त्यति सजिलै अहिलेको अवस्थामा आइपुगेका हैनन् । बजारमा फाइनान्सको विश्वसनीयता कायम गर्न ठूलै संघर्ष भएको थियो । त्यति दुःखका साथ फाइनान्स कम्पनीहरुले बजारमा आफुलाई विश्वसनीय संस्थाका रुपमा स्थापित गराएका छन् । 

१० वर्षअघि र आजका फाइनान्स कम्पनीहरुबीच तुलना गर्दा खासै फरक पाइँदैन । तर राष्ट्र बैंकले ल्याउने नीतिहरुले केही सदृढ र बलिया कम्पनीका रुपमा वित्त कप्पनीहरु विकास हुँदै गएका छन् भन्न सकिन्छ । १० वर्षअघि कतिपय व्यक्तिका कारण बजारमा वित्त कम्पनीहरुको इमेज घटेको थियो, जसलाई हामीले सुधार गर्दै ल्याएका छौं । बल्ल हामी पुरानो अवस्थामा पुगेका छौं । पूरै बैंकिङ क्षेत्रको बजार एउटै भएकाले प्रतिष्पर्धाको कालमा छौँ हामी । यो बेला आफ्नो क्षेत्र कहाँ सुरक्षित गर्ने भन्ने अहिले फाइनान्स कम्पनीहरूको चुनौतीको विषय हो । सजिलो त हुँदैन तर पनि कसरी व्यापार बढाउने, वृद्धि गर्ने, बजारमा टिकाउने भन्ने आफैंले तय गर्ने हो ।

मुलुकको विकासमा वित्तीय संस्थाको योगदान
विकासका लागि पहिलो प्राथमिकतामा आर्थिक मुद्धा हुनुपर्छ । तर हामीकहाँ अहिले राजनीति नै पहिलो प्राथमिकतामा देखिन्छ । जबसम्म आर्थिक विकासलाई पहिलो प्रथामिकतामा राखिदैन त्यतिबेलासम्म अर्थतन्त्र मतबुत हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई माथि उकास्ने नै हो भने आर्थिक क्षेत्रमा योगदान गरिरहेकालाई अझै प्रोत्साहन गर्नुपर्छ । राष्ट्रलाई फाइदा पुर्याइरहेका व्यवसायी तथा करदाताहरुलाई सम्मान गर्नुपर्छ । राज्यले व्यवसायीलाई ठग्नकै लागि आएका हुनजस्तो गरी हेर्नुहुँदैन । हो, गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ तर जसले उद्यमशीलतामार्फत राष्ट्रलाई इमान्दारिताका साथ कर तिरेको छ त्यस्ता व्यवसायीप्रति राज्य उदार हुनुपर्छ । फेरी पनि त्यही दोहोर्याउन चाहान्छु, देश विकास गर्नका लागि आर्थिक एजेण्डालाई चाहिँ पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । 

बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपाली अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान गरेका छन् । तर यीमध्ये घ वर्गका संस्थाहरुले नेपालको ग्रामिण क्षेत्रको जीवनस्तर उकास्न र ग्रामिण विकासको क्षेत्रमा राम्रो योगदान गरेका छन् । त्यस्तै ख वर्गका एक जिल्ले, दुई जिल्ला वा दश जिल्ले विकास बैंकहरुले पनि ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन निकै महत्वपूर्ण योगदान दिएका छन् । यसर्थ ख वर्गका क्षेत्रीय स्तरका बैंक र घ वर्गका संस्थाहरुले तल्लो स्तरबाटै मुलुकको विकासमा योगदान पुर्याइरहेका छन् ।  

फाइनान्सले हायर पर्चेज ऋण सुरु गर्दा यो अनुत्पादक क्षेत्रमा लगानी भयो भन्ने आरोप लागेको थियो । अर्थतन्त्रलाई चलायमान गराउने पैसाले हो । त्यसका लागि कसैले न कसैले त दिनै पर्छ । त्यसबाट राज्यको कर बढिरहेको छ । हाम्रै लगानीका कारण व्यक्तिहरू सबल भई बैंकबाट ऋण लिन सक्ने भएका छन् । बैंकिङ क्षेत्रको मेसिनको मोटर बाणिज्य बैंक होला अरु पाटपुर्जा त डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी नै हुन् । त्यसैले फाइनान्स कम्पनीले अनुपात्दक क्षेत्रमा लगानी खर्चियो भन्न मिल्दैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]