December 1st, 2017

विकास बैङ्कहरुको प्रस्तावित लाभांश : मितेरीको सबैभन्दा आकर्षक

प्रजिता बुढाथोकी / नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ विकास बैङ्कमध्ये १५ कम्पनीले गतवर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् भने २ बैङ्कले साधारणसभामार्फत पारित समेत गराइसकेका छन् । टुरिजम डेभलपमेण्ट बैङ्कले  मङ्सिर ४ गते सम्पन्न साधारण सभाबाट आव २०७२/७३ को नाफाको आधारमा रू. १७ करोड १० लाख ७७ हजार ५ सयबराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । यस्तै कामना सेवा विकास बैङ्कको कात्तिक १ गते सम्पन्न विशेष साधारणसभाले १० बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश घोषणा गरेका १५ कम्पनीमध्ये कैलाश विकास बैङ्क र एक्सेल डेभलपमेण्ट बैङ्कले साधारणसभाको मितिसमेत तय गरिसकेका छन् । उक्त प्रस्ताव पारितका लागि कैलाश विकास बैङ्कले मङ्सिर १५ र एक्सेल डेभलपमेण्ट बैङ्कले मङ्सिर १७ गते साधारणसभा बोलाएका छन् ।

राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेपछि साधारणसभामा पारितका लागि ती दुवै विकास बैङ्कले बोनसको प्रस्ताव पेश गर्न लागेका हुन् ।

प्रस्तावित बोनस शेयरमध्ये सबैभन्दा बढी यस वर्ष मितेरी डेभलपमेण्ट बैङ्कले दिने घोषणा गरेको छ । मितेरीले गतवर्षको नाफाबाट ३१ दशमलव ४८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गतवर्ष रू. १२ करोड ११ लाख ६० हजार नाफा कमाएको यस बैङ्कले पूँजी वृद्धिका लागि यस वर्ष आकर्षक लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद ओस्तीले विगतदेखि वर्तमानसम्म हरेक वर्ष नाफा वितरणको अवस्थामा बढेको बताउँदै यस वर्ष पूँजी वृद्धिका लागि केही बढी नै दिन लागेको जानकारी दिए । उनका अनुसार राष्ट्र बैङ्कको निर्देशनमा मितेरीले पुस मसान्तभित्र रू. ५० करोड चुक्तापूँजी पुर्‍याउनु पर्नेछ । हाल मितेरीको चुक्तापूँजी रू. ३८ करोड २ लाख ९३ हजार रहेको छ ।

यस वर्ष एक्सेल डेभलपमेण्टले पनि आकर्षक प्रतिफलको घोषणा गरेको छ । ३० दशमलव १२ प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैङ्कले गतवर्ष रू. १५ करोड २६ लाख ७४ हजार नाफा आर्जन गरेको थियो । हाल यस बैङ्कको रू. ३८ करोड ४५ लाख ६२ हजार चुक्तापूँजी रहेको छ । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]