December 5th, 2016

‘वस्तु विनिमय’मा फर्कियो भारतीय अर्थतन्त्र : ‘चामलसँग नून साटियो’  

01एन कुँवर – भारतमा ५ सय र १ हजार दरका नोट प्रतिबन्धपछि आम मानिसहरुले निकै हैरानी खेपीरहेका छन् । खासगरी ग्रामिण क्षेत्रका मानिसहरु यसबाट अत्यन्तै प्रभावित बनेका छन् । नोट प्रतिबन्धले विभिन्न राज्यहरु नराम्ररी प्रभावित बनेका बेला सास्ती झेलिरहेका पश्चिम बंगालको बृन्दाबनपुर भन्ने गाउँका मानिसहरुले दुखबाट उम्कन निकै सजिलो तर पुरानो उपाय निकालेका छन् । 

भारतको अर्थव्यवस्थामा ५ सय र १ हजार दरका पुराना नोटको प्रयोग बन्द हुनुभन्दा पहिले ती दरका नोट बजारमा कुल मुद्राको ८६ प्रतिशत थियो । ती नोटहरु बजारबाट बाहिरिएपछि रिजर्व बैंकले २ हजार र ५ सय रुपैयाँका नयाँ नोट जारी गरेको छ । तर बजारमा अहिले आएका नयाँ नोटको संख्या कम छ र आम मानिसहरुसामु नगदको संकट चुलिएको छ । ग्रामिण क्षेत्रमा एटीएम र बैंकहरुको शाखाहरु कम भएका छन् । त्यसैले पनि आम मानिसमा हैरानी बढेको छ । 

तर पश्चिम बंगालको कम्तिमा एउटा गाउँमा मानिसहरुले यस्ता हैरानीको उपाय आफै खोज्न थालेका छन् । उनीहरु ‘समानहरु साटासाट’ गरेर भएपनि आफ्नो जरुरी पूरा गर्न थालेका छन् । बृन्दावनपुरका एक मजदूर महिला भन्छिन– ‘एक किलोग्राम चामलको साटो मलाई आलू, चिनी र नून पाएँ ।’ उनी बच्चाको लागि बिस्कुट पनि चाहन्थिन् तर त्यो भने पाइनन् । 

अलग–अलग घर परिवारको अलग–अलग जरुरी हुन्छ । तर सबैको काम चलिरहेको छ । मजदूरी गर्ने एक अर्की महिला भन्छिन्– ‘एक किलो चामलको साटो मैले सलाई, टूथपेस्ट, चीनी र चियापत्ती पाएँ ।’ त्यहाँकी एक पसले महिला भन्छिन् – ‘जीवनमा नोटको यस्तो संकट पहिलो पटक देख्दैछु । पैसाको साटो किसान हामीलाई दुई किलो चामल दिन्छन् । त्यसको साटो उनीहरु दोकानबाट त्यसबाट आउने सामान लैजान्छन् ।’ 

02त्यहाँ खेतीमा काम गर्ने मजदूरहरुले पैसा पाइरहेका छैनन् । यस्तो अवस्थामा ती मजदूरलार्य किसानहरु कामको ज्यालास्वरुप अन्न दिन्छन् । गाउँका किसान सन्दीप बनर्जी भन्छन्– ‘मैले मजदूरहरुलाई अन्न लिनका लागि मनाएको छु । किनभने मसँग यसबाहेक अरु कुनै विकल्प छैन, बैंकसँग पैसा छैन । गाउँका मानिसहरुमा यसरी जीवन गुजार्नुपर्दा असन्तुष्टि बढेको छ ।’ महिला मजदूर छवि बागदी भन्छिन्– ‘पहिले हामी कामको साटो हरेक दिन पैसा पाउँथ्यौँ, त्यसबाट माछा मासु किन्न सक्थ्यौँ । अहिले आलू र चामलबाटै काम चलाउनुपरेको छ ।’ 

सामानको साटासाटले गाउँलेहरुलाई थोरै राहत भने मिलेको छ, तर ती मानिसहरुलाई गाउँमा चाँडै नगद आइपुगेन भने सास्ती अझै धेरै चुलिने चिन्ता छ । (बीबीसी हिन्दीबाट अनुवादित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]