April 11th, 2016

लगानीको केन्द्रमा धितोपत्र बजार : साधारण शेयरमा दुई सय गुणा आवेदन 

Business accessories on a background of diagrams.वित्तीय क्षेत्रमा देखिएको अधिक तरलता (लगानीयोग्य पुँजी)ले सहज कर्जा पाउने सकिने भएपछि साधारण सेयरका लागि पर्ने आवेदनमा ह्वात्तै वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा त्यसको प्रभाव धितोपत्रको प्राथमिक बजारमा देखिएको हो । बैंक तथा वित्तीय संस्थाले लगानीको अवसर नपाएपछि साधारण सेयरका लागि प्रवाह गरेको कर्जाले साधारण सेयरमा माग गरेको रकमभन्दा २ सय गुणासम्म आवेदन परेको छ । रेमिट्यान्स रकम तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा कर्जा लिएर साधारण सेयरमा लगानी गरिएपछि दुई महिनामा साधारण सेयर जारी गरी करिब ५ अर्ब ६० करोड रुपैयाँ संकलनका लागि ६७ अर्ब रुपैयाँभन्दा धेरैको आवेदन परेको छ । 

कसको शेयरमा कति आवेदन ?
गत फाल्गुन र चैत्र महिनामा सर्वसाधारणका लागि तीन संस्थाले सेयर बिक्री खुला गरेका थिए । जसमध्ये, नेपाल इन्भेस्टमेन्ट बैंकले फर्दर पब्लिक अफरिङ(एफपीओ) निष्काशन गरेको थियो भने मेरो माइक्रोफाइनान्स र ङादी हाइड्रोपावरले साधारण शेयर निष्काशन गरेका थिए । बैंकको एफपीओ ५ सय १ रुपैयाँ प्रिमियममा र अन्य दुई संस्थाको साधारण सेयर अंकित मूल्य अर्थात् प्रति सेयर १ सय रुपैयाँका दरले निष्कासन गरिएको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत ९० लाख ६९ हजार ३८८ कित्ता सेयरबाट ५ अर्ब ४५ करोड ७ लाख रुपैयाँ संकलन गर्न फागुनमा बिक्री खुला गर्दा ४७ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । मेरो माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैयाँबराबरको ६ लाख १२ हजार कित्ता सेयर निष्कासन गरेकोमा साधारण सेयरका लागि १२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ भने ९ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको ङादी हाइड्रोपावर कम्पनीमा ८ अर्ब १६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । 

धितोपत्र बजारमा किन बढ्यो चासो ?
अन्य क्षेत्रमा लगानी वातावरण नभएपछि सबै क्षेत्रका लगानीकर्ता धितोपत्र बजारमा केन्द्रित भएसँगै प्राथमिक तथा दोस्रो बजार उकालो लागेको सरोकारवालाहरु बताउँछन् । प्राथमिक बजारको मूल्य सय रुपैयाँ सस्तो भएकाले पनि आवेदन बढेको केहीको तर्क छ । 

साधारण सेयरका लागि आएको पैसा पनि वित्तीय प्रणालीकै भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, ६७ अर्बमध्ये अधिकांश पैसा बैंकको निक्षेप हो । आर्थिक क्रियाकलाप शून्य भएपछि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएसँगै बढेको तरलताले व्याजदर घटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]