November 6th, 2017

‘लक्ष्यले डरपोक मानिसलाई पनि सुपरम्यान बनाउँछ’ (बैंकर बुद्धि मल्लको विश्लेषण)

तपाईँले युटुबमा हिन्दी फिल्म ग्याम्बलर हेर्नुभयो भने एक घण्टा १५ मिनेट ५९ सेकेण्डपछि एउटा सिनमा डाक्टरले फिल्मका नायक गोबिन्दालाई भन्छन् – 'तिमिलाई ब्लड क्यान्सर छ, दयाशंकर ।' आफूलाई ब्लड क्यान्सर भएको थाहा पाएपछि जिन्दगीभर डरपोक भई बाँचेको एउटा ईन्स्पेक्टर दयाशंकर (गोबिन्दा) ले परिवारको भविष्य कसरी सुरक्षित बनाउन सक्छु भनेर सोच्न थाल्छ र एउटा जिवन बीमा कम्पनीमा गएर १५ लाखको जिवन बीमा तथा दुर्घटना बीमा गराउँछन् । बीमा पोलिसी अनुसार उनको ड्यूटीमा मृत्यु भयो भने ३५ लाख क्षतिपूर्ती पाउने सम्झौता रहेकोले उसले पुलिसको ड्यूटिमा नै मर्ने प्रण गर्छ र त्यस क्षेत्रको सबैभन्दा ठूलो डनसँग टक्कर गर्छ । क्यान्सर भएको थाहा हुनुभन्दा पहिला उक्त डनको नामले थुरथुर भई सातो जाने दयाशंकर अब क्यान्सर भएको थाहा पाएपछि ड्यूटिमा मर्न पाएँ भने परिवारले ३५ लाख पाउने कुराले उत्प्रेरित भई जानाजानी जोखिम मोल्छ । ज्यानमा नै बम राखेर उनीहरुलाई हमला गर्छ । एक्लै उनीहरुको अखडामा गई मलाई मार भन्दै पटक पटक जाई लाग्छ तर उ बाँच्न सफल हुन्छ र एउटा बहादुर पुलिस अधिकृतको रुपमा स्थापित हुन पुग्छ । फिल्मको अन्तमा थाहा हुन्छ कि दयाशंकरलाई क्यान्सर भएको नभई रगतको रिपोर्ट बदलिएको कारणले दयाशंकरको साथीलाई भएको ब्लड क्यान्सर उसलाई भएको भनि डाक्टरले सुनाएको हुन्छ ।

यसरी, समय र परिस्थितीकै कारण डरपोक दयाशंकर बहादुर बन्न पुग्यो । क्यान्सर भएको थाहा पाउनुअघि उसलाई परिवारको सुरक्षाको मतलब थिएन । तर क्यान्सर भएको थाहा पाएपछि, आफ्नो समय कम छ भन्ने बुझेपछि र परिवारको लागि केहि गनुपर्छ भन्ने आफ्नो जिन्दगीमा लक्ष्य लिएपछि एक डरपोक ब्यक्ति खतरानाक डनसँग भिड्न पनि डराउँदैन । यसबाट बुझ्न सकिन्छ कि, डर बाहिरी बस्तुमा हुँदैन, यो त हाम्रो दिमागमा नै बसेको हुन्छ । हामीले हाम्रो लक्ष्य भेटाउनुछ भने निडर हुनुपर्छ, जस्तोसुकै परिस्थितीमा पनि हिम्मत, साहसका साथ अगाडी बढ्न सक्यौँ भने लक्ष्य प्राप्त गर्न सकिन्छ ।

दयाशंकर जस्तै मानिसहरु जिन्दगीलाई राम्रोसँग बुझ्नुभन्दा पहिले नै यसै खाउँला, उसै लाउँला जस्तो गरि जिन्दगीमा कुनै लक्ष्य नसमाई समय ब्यर्थ खेर फालिराखेका हुन्छन् । तर मानिसहरु जुन दिन जिन्दगीको सहि अर्थ बुझ्छन् र लक्ष्य पहिचान गर्छन् त्यसपछि दयाशंकरले जस्तै चमत्कार गर्न सक्छन् । जन्मदै २ हात खुट्टा नभएका निक विजिसिकले पनि जिन्दगीको लक्ष्य पहिचान गरेर आज संसारकै प्रसिद्ध मोटिवेशनल स्पिकर बन्न सफल भएका छन् । अहिलेका डब्लुडब्लुई युनिभर्सल च्याम्पियन ब्रक लेश्नर रेश्लिङ्गमा आउनुभन्दा अगाडी अमेरिकाको फूटबल खेलाडी थिए । तर पछि उनले आफ्नो जिन्दगीको लक्ष्य पहिचान गरि रेश्लिङ्गमा आफ्नो भविष्य बनाउने निर्णय गरे र उनको मेहनत र लगनले गर्दा २५ बर्षमा नै डब्लुडब्लुइ च्याम्पियन बन्न सफल भए । आज उनी डब्लुडब्लुइमा एक खतरानाक र सफल रेश्लरमा गनिन्छन् ।

अधिकांश ब्यक्तिहरुले आफ्नो जिन्दगीमा लक्ष्य बनाएका हुँदैनन् भने कतिपयले लक्ष्य पहिचान गर्न सकिरहेका हुँदैन्न् । हामी त्यति नै गर्न सक्छौँ, जति हामी सोच्छौँ । हामीले सोचेकोभन्दा बढि कदापि गर्न सक्दैनौँ । जस्तोसुकै राम्रो खेलाडी भएपनि गोलपोष्ट बिना उसले गोल हान्न सक्दैन । संसारका जतिपनि निर्माणहरु चाहे त्यो संसारकै अग्लो टावर बुर्ज खलिफा होस् या ग्रेटवाल वा अन्य कुनै निर्माणहरु होस् यिनिहरुलाई २ पटक निर्माण गरिएको हुन्छ । पहिलोपटक मानिसको कल्पनामा र दोश्रोपटक भौतिक निर्माण । मानिसको कल्पना भौतिक निर्माणभन्दा निकै नै उत्कृष्ट हुन्छ र कल्पनाबाट नै लक्ष्य निर्धारण गरिन्छ । तर, कल्पनालाई भौतिक निर्माणमा बदल्नको लागि उसको योजना, मेहनत, प्रयास, लगन आदि सबैको सम्मिश्रण मिलाउनु जरुरी हु्न्छ । मानिसले चाहेमा कल्पनालाई बास्तविकतामा बदल्न सक्छ । अहिले बिज्ञानका आविष्कारहरु सबै कल्पनाका परिणामहरु हुन् ।

थोरैले मात्रै बनाउँछन् जिन्दगीको लक्ष्य
सन् १९७९ मा हार्वाड युनिभर्सिटीका एमबिए बिद्यार्थीहरुमा गरिएको सर्वेक्षणमा ८४ प्रतिशत बिद्यार्थीहरुले आफूले जिन्दगीको लक्ष्य नबनाएको बताएका थिए भने १३ प्रतिशतले लक्ष्य भएको तर लिखित रुपमा नराखेको बताएका थिए । बाँकी ३ प्रतिशतले आफ्ने जिन्दगीको पूर्ण लक्ष्य र योजना भएको र लिखित रुपमा पनि राखेको बताएका थिए । सर्वेक्षणको १० बर्षपछि अर्थात १९८९ मा फेरी तिनै बिद्याथीहरुबिच गरिएको सर्वेक्षणको नजितामा १३ प्रतिशत बिद्यार्थीहरु (जसको जिन्दगीको लक्ष्य थियो तर लिखित रुपमा राखेका थिएनन् ) ले ८४ प्रतिशत बिद्यार्थीहरु (जसको कुनै लक्ष्य थिएन) भन्दा दोब्बर आम्दानी गरिराखेका थिए । सर्वेक्षणमा बाँकी ३ प्रतिशत बिद्यार्थीहरु (जसको जिन्दगीको प्रष्ट लक्ष्य र योजना थियो र लिखित रुपमा पनि राखेका थिए )े उनीहरुले अन्य ९७ प्रतिशतभन्दा १० गुणा आम्दानी गरेको पाईएको थियो ।

सर्वेक्षणबाट बुझ्न सकिन्छ, जिन्दगीमा सफल हुनको लागि प्रष्ट लक्ष्य तथा योजना हुनुपर्छ । जति प्रष्ट लक्ष्य लिइन्छ, त्यति नै धेरै सफलता हासिल हुन्छ । फिल्म ग्याम्बलरमा गोबिन्दा (दयाशंकर) कोे पनि प्रष्ट लक्ष्य तथा योजना भएको कारणले गर्दा उनले सफलता हासिल गर्न सकेको हो । फिल्मको अझ मूल मर्ममा जाने हो भने यसबाट बुझ्न सकिन्छ कि, यदि कुनै लक्ष्यले हाम्रो भावनामा सकरात्मक प्रभाव पार्छ भने त्यस्तो लक्ष्य प्राप्तिको लागि मानिस कुनैपनि हदसम्मको त्याग गर्न सक्छ, चाहे आफ्नो ज्यानको त्याग नै किन गर्न नपरोस् । यसरी नै हामीले हाम्रो लक्ष्यलाई भावनासँग जोड्न सक्यौँ भने पनि हाम्रो लक्ष्य पूरा हुने सम्भावना बढ्छ । प्रत्येक बिहान उठ्ने बित्तिकै आफैँले आफैँलाई लक्ष्य सोध्ने र सम्झने गर्यौँ भने हाम्रो भावनासँग जोड्नमा मद्धत गर्छ । लक्ष्य यति बलवान् हुन्छ कि, यसले डरपोक मानिसलाई पनि सुपरम्यान बनाउँछ । लक्ष्य नभएको मानिसभन्दा लक्ष्य भएको मानिस धेरै बलवान् हुन्छ । लक्ष्य बलवान् छ । (लेखक ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]