November 15th, 2017

राष्ट्र बैंकले तोक्यो ‘व्याजदर करिडोर’

बैंकिङ खबर । बुधबार(कात्तिक २९ गते)देखि ब्याजदर करिडोर लागू भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले बुधबारबाट ब्याजदर करिडोर लागू गरेको हो । यसअघि आफैँले व्याजदर निर्धारण गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले अब राष्ट्र बैंकले तोकेको निश्चित ब्याजदरमा कारोबार गर्नुपर्ने भएको छ । 

मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोर मार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधा सम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरु अवलम्बन गरिने भएको छ ।

 

 

 

 

 

 

के हो व्याजदर करिडोर ?

सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा तत्कालीन गभर्नर डा. युवराज खतिवडाले पहिलोपटक आर्थिक वर्ष २०६९/७० मा ब्याजदर करिडोरको अवधारणा सार्वजनिक गरेका थिए । तर, मौद्रिक उपकरण नहुँदा घोषणमा मात्र सिमित भएको थियो । विद्यमान गभर्नर डा. चिरंजीबि नेपालले भने यसलाई कार्यान्वयनमै ल्याएका छन् । गत बुधबार मात्रै राष्ट्र बैंकले व्याजदर करिडोर निर्धारण गरेको छ । अहिले बजारमा २५ अर्ब रुपैयाँ अधिक तरलता छ । बुधबार राष्ट्र बैंकले १५ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको छ । निक्षेप बोलकबोलका लागि राष्ट्र बैंकले ०.३०४५ प्रतिशत व्याजदर तोकिदिएको छ । यसअघि बैंकहरुले गरेको गोप्य बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण हुन्थ्यो । अन्तर बैंक कारोबारको व्याजदरमा ०.०१ प्रतिशतले घटाएर करिडोरको व्याजदर निर्धारण गरिएको छ । व्याजदर करिडोरका लागि तोकिएको यो व्याजदर साउन महिनामा रिभर्स रिपो र ट्रेजरी विलमा राष्ट्र बैंकले दिएको व्याजभन्दा बढी हो ।

करिडोरले जनतालाई के फाइदा गर्छ ?
निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । त्यसैले व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले नीति अबलम्बन गर्नुपर्छ । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् । यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने गर्दछ । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ । त्यसैले, करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]