January 16th, 2017

राष्ट्र बैंकद्धारा वित्तीय प्रतिवेदन सार्वजनिक : अनुत्पादक क्षेत्रमा बढ्यो बैंकको लगानी

आर्थिक वर्ष २०७४ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धि लक्ष्य अनुरुप रहने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अनुकूल मौसम, उर्जा आपूर्तिमा सुधार, पुनःनिर्माण कार्यमा तिव्रताको अपेक्षा तथा दिगो विप्रेषण आप्रवाह वृद्धि सुधारोन्मुख लगायतका कारण लक्षित कुल गार्हस्थ उत्पादन वृद्धि हासिल गर्न सकिने देखिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो ।

चालु आर्थिक वर्ष २०७४ मा उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशतको लक्ष्य भित्रै रहने अनुमान राष्ट्र बैंकको छ । वर्षे वालीहरुको उत्पादनमा उच्च वृद्धि, आपूर्ति अवस्थामा सहजता तथा भारतीय मुद्रास्फीतिमा कमीका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशतमा ओर्लेको छ । गत वर्षको मंसिरमा यस्तो मुद्रास्फीति ११.६ प्रतिशत रहेको थियो । 

बैंकिङ कर्जा प्रवाहमा सावधानी आवश्यक
खासगरी वाणिज्य बैंकहरुको खराव कर्जा अनुपात अत्यन्त न्यून २ प्रतिशतभन्दा कम रहे अनुसार खराव कर्जाको लागि व्यवस्था थोरै राख्नु पर्ने अवस्था र सम्भावित उच्च नाफा जस्तो विशेषायुक्त वित्तीय क्षेत्र स्थायित्व हाल कायम रहेको स्थिति भविष्यमा यथावत कायम राख्ने कार्य भने चुनौतीपूर्ण हुने देखिने राष्ट्र बैंकको ठहर छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०.४ प्रतिशतले बढेकोमा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा शेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढ्नु चासोको विषय भएको र यस्तो अवस्थामा उत्पादनमुलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुले विवेकशील एवम् सावधानीपूर्ण तवरले कर्जा प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले औँल्यएको छ । 

राष्ट्र बैंकका अनुसार बाह्य क्षेत्रतर्फ, आयातमा भइरहेको उच्च वृद्धिले शोधनान्तर बचतमा चाप पर्ने देखिएको छ । आयात ७८.९ प्रतिशतले बढेर पाँच महिनामै ३८२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष आयात ३२ प्रतिशतले झरेको थियो । त्यस्तै, वस्तु निर्यात १७.१ प्रतिशतले वृद्धि भई ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यद्यपि यो निर्यात आर्थिक वर्ष २०७१/७२ को सोही अवधिको तुलनामा कम हो । 

राष्ट्र बैंकद्धारा सार्वजनिक प्रतिवेदनका अनुसार, गत बर्ष मंसिरमा १४९ अर्ब १३ करोड रुपैयाँ उच्च बचतमा रहेको चालु खाता अहिले जम्मा तीन अर्ब ४९ करोड रुपैयाँ मात्र बचतमा छ । १२८ अर्ब ११ करोड रुपैयाँको शोधनान्तर बचत २८ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ । यद्यपि, दिगो विप्रेषण आप्रवाह वृद्धि तथा वैदेशिक सहयोग परिचालनबाट शोधनान्तर स्थिति बचतमै रहने सम्भावना भने बलियो रहेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स र वैदेशिक सहायता परिचालनबाट शोधनान्तर बचत हुनसक्ने अनुमान राष्ट्र बैंकको छ । मंसिरसम्म रेमिट्यान्स ६ प्रतिशतले बढेर २८७ अर्ब ६६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो बर्षको बृद्धि दर १९.४ प्रतिशत थियो ।

यता, कृषि क्षेत्रको वृद्धिदर अपेक्षा गरिएभन्दा उच्च रहने देखिएकोले आर्थिक वर्ष २०७४ मा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अनुमान राष्ट्र बैंकको छ । नेपाल सरकार, कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको वर्षे बालीहरुको उत्पादन विवरण अनुसार यस वर्ष धानको उत्पादन करीब २१.७ प्रतिशतको उल्लेख्य दरले वृद्धि हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको उत्पादनमा २०.८ प्रतिशत हिस्सा रहेको धानको उत्पादनमा हुनेउपरोक्त वृद्धिबाट समग्र कृषि क्षेत्रको उत्पादन उत्साहजनक रहने देखिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]