December 18th, 2017

राधी विद्युत् कम्पनीको आईपिओ खुल्यो

बैंकिङ खबर । राधी विद्युत कम्पनी लिमिटेडले सात लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर (आईपिओ)को निष्काशन खुला गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको आईपिओ छिटोमा पुस ६ र ढिलोमा पुस १७ गते बन्द हुनेछ । 

कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको आइपीओको बिक्री खुला गरेको हो । जसमा, लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ३,८०० कित्ता अर्थात तीन लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता सेयर गरी १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि ४ लाख १० हजार कित्ता सेयर गत बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो । तर उक्त सेयरमध्ये १ लाख ४९ हजार ५५० कित्ता सेयर बिक्री हुन सकेको थिएन । स्थानीबासीलाई छुट्याएको मध्येबाट बिक्री हुन नसकेको सेयर समेत थप गरी सर्वसाधारणका लागि सेयर जारी गरेको कम्पनीले जनाएको छ । 

६० करोड रुपैयाँमा सम्पन्न भएको राधी साना जलविद्यूत आयोजनामा बैंक अफ काठमाडौको नेतृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकको संयुक्त ऋण लगानी रहेको छ । कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ । साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]