May 15th, 2017

‘रसुवागढी हाइड्रोपावर’को  एक करोड ६४ लाख कित्ता शेयर आउँदै 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

रसुवागढीले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सावधान कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि उक्त सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा चयन गरेको छ । 

चिलिमेको सहायक रसुवागढी हाइड्रोपावर
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो । सन् १९९५ मा स्थापना भएको चिलिमे हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको अधिकतम (५१ प्रतिशत) स्वामित्व रहेको छ भने २५ दशमलव पाँच प्रतिशत शेयर विद्युत् प्राधिकरण र चिलिमेका कर्मचारीको तथा १४ प्रतिशत सर्वसाधारण र १० दशमलव पाँच प्रतिशत रसुवा जिल्लाका स्थानीयवासीको छ । काठमाडौंबाट एक सय ३३ किलो मिटर उत्तर रसुवामा रहेको चिलिमे हाइड्रोपावरको हाल २२ दशमलव एब मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले वर्षमा १ सय ५० गिगावाट बिजुली उत्पादन गर्छ । 

कम्पनीले थप तीनओटा हाइड्रोपावर परियोजना बनाउनेछ । यी परियोजनाबाट दुई सय ७० दशमलव तीन मेगावाट बिजुली उत्पादन हुनेछ । कम्पनीले सन् २०२० सम्ममा पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अन्तर्गतका जलविद्युत् आयोजना साञ्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर परियोजनका लागि छुट्टै सहायक कम्पनी स्थापना भएका छन् । चिलिमे हाइड्रोपावरबाट उत्पादित धेरैजसो बिजुली नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने गर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]