September 23rd, 2016

रविन्द्र भट्टराईको सुझाव- ‘चार ‘इ’ जानेपछि मात्रै सेयरमा लगानी गर्नुस्’ 

dscn1057

सेयर विश्लेषक रविन्द्र भट्टराईले १४ वर्षदेखि नेपाली सेयर बजारलाई नियालिरहेका छन् । यो अवधिमा उनले धेरै जनालाई लगानी, व्यवस्थापन, व्यापारबारे तालीम प्रदान गरेका छन् । झण्डै १३ वर्ष शंकरदेव कलेजमा अध्यापन गरेका भट्टराई एक सफल लेखक पनि हुन् । सेयर बजारका लगानीकर्ताको जागरणका लागि उनले केही सफल पुस्तकसमेत लेखेका छन् । सेयर बजार एउटा त्यस्तो क्षेत्र हो जहाँ धेरैको चासो र प्रवेशको चाहाना हुन्छ । हुन पनि यथेष्ट ज्ञान लिएर सावधानीपूर्वक बजारमा छिर्ने लगानीकर्ताले खाली हात फर्कनु नपर्ने क्षेत्र पनि हो सेयर बजार । त्यसैले पनि यस क्षेत्रमा धेरैको आँखा परेको हो । तर कतिपय लगानीकर्ता यो क्षेत्रमा हल्लाका भरमा प्रवेश गरिरहेका पाइन्छ । जसले लगानीकर्ताको लगानी जोखिममा पर्ने गरेको छ । यही सन्दर्भमा लगानीकर्ताले बजारमा छिर्नुअघि ध्यान पुर्याउनुपर्ने विषयबारे बैंकिङ खबर डटकमका नारदमुनि सिग्देलले लेखक तथा सेयर विश्लेषक भट्टराईसंग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

सेयर बजारलाई पछिल्लो अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?  

तलमाथि हुने शेयर बजारको प्रकृति नै हो । केही समयअघिसम्म निरन्तर बढेको बजार हाल आएर केही करेक्सन् भएको अवस्थामा छ । अहिले धेरै कम्पनीहरुले नाफा घोषणा गरेर कतिपय कम्पनीको बुक क्लोज भईसकेको छ । जसका कारण बजारमा शिथिलता आएको छ । बुक क्लोजिङ भईसकेका कम्पनीका सेयर किन्नेले त्यसको नाफा बर्ष पछि पाउँछन् । त्यसैले नाफा पाउनेहरुको कारोवारमा निरन्तरता छ । तर नाफा नपाउनेको भने कारोबारमा कमि अएको छ ।

अहिले हामी चाडपर्वको नजिकै छौँ । यस्तो बेलामा सेयर बजार कति प्रभावित हुन्छ  ?

चाडपर्वमा सामान्यतया पैसाको आवश्यकता पर्छ । त्यही आवश्यकता पुरा गर्न कतिपय लगानीकर्ताले सेयर बेच्छन् भन्ने कुराको प्रभाव होला कि भन्ने कुरा हो । यद्यपी चाडपर्वको आवश्यकताका लागि बेचिने सेयरले खासै असर गर्दैन । बजारको ट्रेन नै भदौपछि कारोवारमा कमी आउने खालको छ । विगत १४ बर्षमध्ये १२ वर्षको सेयर बजार इतिहाँस हेर्ने हो भने बैशाख महिनादेखि साउन वा भदौसम्म उच्च विन्दुसम्म पुग्ने गरेको देखिन्छ । यसको अर्थ एक बर्षको अवधिमा सबैभन्दा हाई बिन्दु बैशाखदेखि भदौसम्मको समयमा पुग्ने हो । अहिलेसम्म नेप्सेका उच्चतम बिन्दु पनि यही अवधिभित्र बनेका छन् । ०६५ सालदेखिको बजारलाई विश्लेषण गर्ने हो भने त्यसयता पनि साउन भदौमै उच्च विन्दुमा पुगेको छ । त्यसपछि मार्केटमा अलि गिरावट देखिएको छ र यो वर्ष पनि त्यसैलाई पछ्याईरहेको देखिन्छ । 

यतिबेलाको अवस्थामा लगानीकर्ताले कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ?

सेयर मार्केटका लगानीकर्ताले चाडपर्वमा मात्र हैन, सँधै नै ध्यान पुर्याउनुपर्छ । पैसा लगानीकर्ताको हो, उसको लगानी वचाउनु त जहिले पनि उसको प्रथामीकतामै पर्ने कुरा हो । आफ्नो सावाँ वचाउन राम्रा कम्पनीमा लगानी गर्ने कुरा लगानीकर्ताको पहिलो प्रथामीकतामा पर्नुपर्छ । त्यसैले चाडपर्वमा मात्रै नभएर लगानीकर्ताले सँधै सावधानी अपनाउनुपर्छ । 

dscn1060

लगानीकर्ताको लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जबीचको तालमेल कस्तो देख्नुहुन्छ ? 

धितोपत्र बोर्ड एउटा नियमक हो भने नेप्से नियमकले दिएकोे नियम पालना गर्ने संस्था हो । धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम गर्नुपर्छ । उसले लगानीकर्तालाई सहज बनाउन तथा बजार व्यवस्थापन गर्न नीतिगत वातावरण बनाउनुपर्छ । लगानीकर्ताको पहुँचमा र हितका लागि नीतिहरु बनाउँछ । नेप्सेले धितोपत्र बोर्डले तय गरेका नीति कार्यान्वयन गर्ने हो । त्यसैले नियमको निर्देशन नेप्सेले पालना गर्नुपर्ने हुन्छ । नियमकले दिएको निर्देशन गलत मनसायको भएको वा सो निर्देशनबाट बजारलाईनै बेफाईदा हुने भएको अवस्थामा त्यसलाई प्रतिवाद गर्न वा पुनर्विचारका लागि अग्रह गर्न सक्ने कुरा अर्को पटो भयो । बजारको विकास र बिस्तार तथा लगानीकर्ताको सहजताका लागि जुन किसीमको प्रविधि विकासको आवश्यकता हुन्छ त्यो किसीमको बजार बनाउनको लागी बोर्डले या नियामकले निर्देशन दिएपछी नेप्सेले पालना त गर्नै पर्छ । तर यहाँ पालना नगर्ने र जबर्जस्ती गर्ने प्रबृति देखिएको छ जसलाई म जायज मान्दिन । 

हालै धितोपत्रबोर्डले मर्चेन्ट बैंकर्सलाई संकलन केन्द्र थप्न निर्देशन दिएको छ, यसले लगानीकर्तालाई के फाइदा पुग्छ ? 

बोर्डले पछिल्लो समय दिएको यो निर्देशन सकारात्मक छ । यसअघि हकप्रद सेयर भर्न जुन किसिमको समस्या थियो, त्यो समस्या केही हदसम्म समाधान हुने अपेक्षा छ । अहिले आईपीयो मै पनि समस्या देखिएको छ । फारम बुझाउने ठाउँ सीमित भएको अवस्थामा त्यसलाई बढाउन निर्देशन दिएको त राम्रो कुरा हो । 
अर्को डिम्याट खातासंगै बैंकको खाता पनि भनेको छ, त्यो राम्रो कुरा हो । त्यसले पनि लगानीकर्तालाई सजिलो गराउँछ । जुन किसीमको निर्देशन बजारमा आएको छ, त्यो पालना गर्न सके सामान्य लगानीकर्ताको पनि पहंँुच बढ्छ । 

सेयर बजारमा आएर लगानी गर्नुअघि नयाँ लगानीकर्ताले ध्यान पुर्याउनुपर्ने कुराहरु के के हुन् ?

लगानीकर्ताले बजारमा लगानी गर्न आउन अघाडी बजारको बारेमा बुझ्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । यसमा पहिलो ४ ओटा ‘E’ को कुरा हुन्छ । पहिलो शिक्षा ‘Education', दोस्रो माकेटमा प्रवेश ‘Entry' हो, तेस्रो अनुभव  'Experience' र चौथो बाहिरीने ‘Exit' । यी चार वटा E लाई पछ्याउन सक्यो भने जोखिम हुँदैन । 
सबैभन्दा महत्वपुर्ण त शिक्षा नै हुन्छ । शिक्षा नभईकन मार्केटमा छिर्नु ठूलो जोखिम मोल्नु हो । सिकेर वा अनुभव लिएर बजारमा छिर्दा केई न केई जोखिम कम हुन्छ । 

कस्ता व्यक्तिले सेयर बजारबाट फाईदा लिन सक्छन् ? 

सेयरमा फाईदा जो कोहीले पनि लिन सक्छन् । यो बजार यसको वा त्यसको भन्ने हुँदैन । यो बजारमा छिरेर सम्पती बढाउन चाहने, थोरथोरै बचेको पैसा लगानी गरेर पैसा कमाउन चाहानेले नै यो बजारबाट कमाउने हो । बजार ठूलो पुँजी हुने वा शहरियाकोमात्र हो भन्ने धारणा गलत हो । तर यसअघि मैले भनेजस्तै पर्याप्त शिक्षा र अनुभव लिएर बजारमा छिर्ने व्यक्तिले नै बजारबाट फाइला लिन सक्छन् । 
लगानीकर्ताले सेयरमा लगानी गर्दा जहिले पनि बुझेर लगानी गर्नुपर्छ । बुझ्नको लागि पहिला शिक्षा, तालिम, पत्रपत्रीका पढ्ने, क्षमताअनुसार लगानी गर्ने र सावाँ नगुमाउने गरी लगानी गर्नुपर्छ । 

यहाँले लेख्नुभएको पुस्तक शेयरबाट करोडपति निकै सफल भयो । यस्तै खालको अर्को पुस्तकको तयारी छ कि छैन ? 

सेयरबाट करोडपति पुस्तकलाई बजारमा लगानीकर्ताले ‘नन् फिक्सन’ भन्छन् । यो साहित्यभन्दा बाहिरको किताबमा सबैभन्दा राम्रो भएर होला । अहिले बजारमा लगानीकर्ता वा पाठकले मन पराएको यो पहिलो किताब पनि हुन सक्छ । यो भन्दा बाहेक नयाँ पुस्तकको तयारी गरिरहेको छ् । सर्वसाधारणलाई लगानी, व्यवस्थापन, व्यापारसंग उत्प्रेरित गर्ने खालका किताब मेरो ‘इन्टरेष्ट’मा पर्छन् । त्यसैले म त्यस्तै खालको अर्को पुस्तकको तयारी गरिरहेको छु ।  

अन्तिममा बजारमा छिर्न चाहने र छिरिसकेका लगानीकर्ताहरुलाई केही भन्न चाहानुहुन्छ ?

उहाँहरुलाई मेरो पहिलो अनुरोध, सेयर मार्केटमा छिर्नुअघि यथेष्ठ जानकारी लिनुहोस् । हल्लाका भरमा हतारिएर नछिर्नुस् । मार्केटले तपाईलाई १२ महिनानै अवसर दिइरहेको हुन्छ । सेयर मार्केट भनेको दुई महिनापछि बन्द हुने वा निश्चित समयको व्यापार हैन । यहाँ सँधैभरि कारोबार भईरहन्छ । बजारमा कहिले कम्पनी सस्तो भईरहेका हुन्छन, कहिले महंगो भईरहेका हुन्छन् । त्यहाँ कुन कम्पनी कस्तो भनेर चिन्नुपर्छ । ‘मैले राख्ने सेयर र बेच्ने सेयर’ भनेर छुट्याउन सक्नुपर्छ । ती सबै कुरा छुट्याउन सक्ने हुनु भनेको शिक्षाले नै हो । त्यसैले शिक्षा लिएरमात्र सेयर बजारमा छिर्नुहोला भन्न चाहन्छु


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]