June 13th, 2017

रजत जयन्तीको अवसर पारेर धितोपत्र बोर्डले वर्षैभरि अन्तर्राष्ट्रिय सेमिनार गर्ने 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पूँजीबजार सम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो स्थापनाको २५ बर्ष अर्थात रजत जयन्तीको अवसरमा दुईदिने धितोपत्र बजार प्रर्दशनी आयोजना गर्ने कार्ययोजना सार्वजनिक गरेको हो । बोर्डले सो प्रदर्शनी कहिले गर्ने भन्ने बारेमा भने मिति तय भईनसकेको जनाएको छ । 

बजार सहभागीहरुले संयुक्त रुपमा आयोजना गर्ने प्रदर्शनीमा धितोपत्रबजार सम्बन्धी विविध विषयमा ज्ञान प्रदान गरिनेछ । प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकर, सेयर दलाल व्यवसायी, सूचिकृत कम्पनी, लगानीकर्ता, संचारमाध्यम लगायतको सहभागिता रहने बोर्डले जनाएको छ ।

रजत जयन्तीकै बर्षभर बोर्डले धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने तयारी समेत गरेको छ । नेपालको धितोपत्र बजारका गतिविधि अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने तथा धितोपत्र बजार नियम तथा सुधारसम्बन्धी अनुभव आदान प्रदान गर्ने उद्देश्यले अन्तराष्ट्रिय धितोपत्र बोर्डसँग मिलेर उक्त सेमिनार गर्न लागेको बोर्डले जानकारी दिएको छ । 
 
त्यस्तै बोर्डले लगानीकर्ता प्रशिक्षण तथा तालिम कार्यलाई अझ व्यापक बनाउन रजत जयन्ती वर्षको अवसरमा कम्तिमा २५ वटा लगानीकर्ता प्रशिक्षण तथा तालिम कार्यक्रम संचालन गर्ने योजना अघि सारेको छ ।

यसैगरी धितोपत्र बजार सुधार तथा विकासका लागि आवश्यक नीति नियममा राय सल्लाह लिन यससँग आवद्ध तथा जानकार अर्थशास्त्री र विज्ञ संलग्न गराई धितोपत्र बजारको सुधार तथा विस्तार सम्बन्धमा कम्तीमा २ वटा अन्तरकृया कार्यक्रम संचालन गर्ने कार्ययोजना बोर्डले सार्वजनिक गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]