January 16th, 2018

युवा स्वरोजगार कोषले दिने चार सुविधाहरु

बैंकिङ खबर । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापित सरकारी संस्था हो । यो संस्था सरकारको बजेटबाट चल्छ । युवा स्वरोजगार कोषको स्थापना २०६५ सालको अन्त्यतिर भएको हो । कोषले होलसेल लेण्डिङ अर्थात थोक कर्जा प्रदान गर्छ । 

युवा स्वरोजगार कोषले काम गर्ने इच्छाशक्ति र जाँगर भएका तर रकमको अभाव भएकाहरुलाई सहयोग गर्दछ । बिनाधितो कर्जा प्रवाह गर्ने यस कोषले ठूला व्यवसायी बनाउन नसकेपनि केही नभएको अवस्थाबाट नियमित आम्दानी भएको उद्यमी बनाउन सक्छ र थुप्रै युवालाई उद्यमी बनाइसकेको पनि छ । 

बैंक तथा सहकारीहरुसँग सहकार्य
यस्तो कर्जा कोषले सरकारमार्फत नभई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर प्रदान गर्ने गर्दछ । हाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १८ सयभन्दा बढी सहकारी संस्था तथा ८८ वटा बैंक तथा वित्तीय संस्थासँग कारोबार गरिरहेको छ । स्थापनाको सुरुवाततिर युवा स्वरोजगार कोषले बैंकसँग मात्रै सहकार्य गर्दै आइरहेको थियो । यद्यपि, यसबाट बैंक नपुगेका स्थानहरुका युवाहरु स्वरोजगार हुनबाट बञ्चित भएको महशूस गरी सहकारी संस्थाहरुसँग सहकार्य गर्न थालिएको हो । 

असल ऋणीको छ प्रतिशत व्याज फिर्ता
कोषले १० प्रतिशत व्याजदरमा प्रत्रिव्यक्ति दुई लाखसम्म कर्जा प्रवाह गर्दछ । कर्जा समयमा नै चुक्ता गरेमा असल ऋणीको रुपमा सम्मानस्वरुप छ प्रतिशत व्याज फिर्ता गरिन्छ । धितो नभएको कर्जा भनेर कतिपय कर्जादाताले भुक्तानीमा ध्यान नदिने गर्छन् । सो अवस्था नआओस भनेर कोषले यस्तो इनाम राखेको हो । 

बीमाको व्यवस्था
कोषले प्रवाह गर्ने कर्जाको बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था रहेको छ । पहिलो किस्ताको बीमा नगरेसम्म दोस्रो किस्ता उपलब्ध नगराउने व्यवस्था गरी कर्जादातालाई बीमा गर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । यसका लागि कोषले विभिन्न बीमा कम्पनीहरुसँग सहकार्य गरेको छ । बीमामा लाग्ने प्रिमियम रकम सरकारले व्यहोर्ने गरेको छ । यस कोषबाट कर्जा लिएका युवाको जीवन बीमाका साथमा व्यवसायको पनि कर्जा रकम बराबरको बीमा गरिन्छ । जसअनुसार, कर्जाअवधिभर व्यक्ति तथा व्यवसायमा क्षति भएमा सम्बन्धित बीमा कम्पनीको नियमानुसार बीमा रकम उपलब्ध गराइन्छ । 

व्यवसायिक तालिम
युवा स्वरोजगार कोषले व्यवसायिक तालिम पनि प्रदान गर्ने गर्दछ । सुरुमा एफएनसीसीआई र चेम्बर अफ कमर्शसँगको सहकार्यमा केषले हरेक जिल्लामा ३।४ लाख युवालाई तालिम दिएको थियो । यद्यपि, हलभित्र बसेर मौखिक रुपमा दिइएको तालिम प्रभावकारी नभएपछि अहिले कोषले कार्यस्थलमा नै गएर व्यवहारिक रुपमा तालिम दिने गरेको छ । केही समयअघि मात्रै कोषले भक्तपूर र ललितपूरमा च्याउखेती तालिम दियो । जसअन्तर्गत च्याउ रोप्नेदेखि विक्री गर्नेसम्मको कार्यहरु व्यवहारिक रुपमा सिकाइयो । त्यस्तै, व्युटिसियन, जुत्ता सिलाउने, झोला बुन्ने लगायतका तालिम पनि व्यवहारिक रुपमा उनीहरुको अगाडी नै गरेर सिकाउँदा प्रभावकारी भइरहेको पाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]