January 30th, 2017

यसरी समृद्ध बन्यो स्वीट्जरल्याण्ड, नेपालले सिक्नैपर्ने एउटा देश

रुपा कोइराला-

आजको दिनमा समृद्ध राष्ट्रमध्येको एक स्वीट्जरल्याण्डको इतिहासलाई पल्टाएर हेर्दा यस देश निकै दयनिय स्थितीबाट उठेको प्रतित हुन्छ । सन् १२९१ देखि सन् १९४५ सम्म स्वीट्जरल्याण्ड एक गरीब मुलुक थियो । फ्रान्स, जर्मनी, इटली, अष्ट्रिया लगायतका छिमेकी राष्ट्रहरुभन्दा निकै कमजोर थियो स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको यो हालत सानो मुलुक भएका कारणभन्दा ज्यादा प्राकृतिक स्रोतहरुको कमीका कारणले थियो । स्रोतहरुकै कमीका कारण यहाँका जनताले निकै दुःख कष्ट झेल्नुपरयो । सुख भन्ने कुरा त्यहाँका जनताले देख्न पाएनन् । भएका सुविधाहरु सबै सामान्य खालका हुन्थे । आलिसान महल, विलासी जिवन जस्ता कुराहरु त उनीहरुका लागि सपना जस्तै हुन्थ्यो ।   

विश्वयुद्धले देखाएको बाटो
संसारका विभिन्न देशलाई बर्बाद पारेर शून्यको स्थिीमा पुर्याएको पहिलो र दोस्रो विश्वयुद्धले स्वीट्जरल्याण्डमा भने आर्थिक हिसाबले कायापलट भयो । विश्वयुद्धले नै यस देशको समृद्धिको बाटो पहिल्याइदियो । यो देश प्राकृतिक स्रोत विना नै उद्योग व्यवसाय लगायतका अन्य आर्थिक क्षेत्रबाट माथि उठ्न सक्छ भन्ने कुराको महशूस विश्वयुद्धले गरायो । विश्वयुद्धका स्वीट्जरल्याण्डका छिमेकी मुलकहरु तहसनहस भएका थिए । यद्यपि, स्वीट्जरल्याण्ड सुरक्षित थियो । यसैकारण ती मुलुकका आर्थिक लगानीहरु यस देशमा भित्रिन थाले । आफ्नो सम्पत्तिको सुरक्षा हुने देखेर स्वीटेजरल्याण्डमा लगानी गर्नेको ताँती लाग्न थाल्यो । पहिलो विश्वयुद्धको अन्त्यसँगै, अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख पेरी डी कोबर्टिनले कमिटीको मूख्य कार्यालय पेरिसबाट स्वीट्जरल्याण्डको लजेनमा सारे । यससँगै स्वीट्जरल्याण्डको भाग्य फेरियो । जब दोस्रो विश्वयुद्ध सकियो, युरोप पुरै बर्बाद भइसकेको थियो । तर, स्वीटेजरल्याण्ड युद्धको प्रभावबाट टाढै थियो । यसले पुनः फाइदा भयो स्वीट्जरल्याण्डलाई । युरोपका लगानी पनि धमाधम स्वीट्जरल्याण्डमा भित्रिन थाले । 

प्रजातन्त्रले स्वदेशी लगानी भित्र्यायो
राजनितिक प्रणालीबाट पनि स्वीट्ल्याण्डलाई फाइदा भयो । प्रजातन्त्र स्थापना स्वीट्रल्याण्डको विकासमा कोशेढुंगा सावित भयो । जनताको चाहनाविपरीत कुनै महँगा युद्धहरु भएनन्, कुनै राजनितीक साभ्रान्तहरुले मुलुकको एने कानुनमा हक जमाएनन् । यसले मुलुकलाई स्वतन्त्र रुपमा अघि बढ्न मद्धत मिल्यो । यससँगै, विभिन्न सार्वजनिक तथा नीति संस्थाहरुलाई मुलुकभित्रै लगानी गर्ने बाटो प्रशस्त भयो । छोटकरीमा भन्नुपर्दा, विश्वयुद्धले विदेशी लगानी भित्र्याएको मुलुकमा प्रजातन्त्रले स्वदेशी लगानी भित्र्यायो ।

दुःखमा आत्तिएनन्, न त सुखमा नै मात्तिए
भनिन्छ दुःखमा हुर्केको मानिसले जस्तोसुकै कठिनाइ पनि पार गर्न सक्छ । त्यस्तै भयो स्वीट्जरल्याण्डको हकमा पनि । सुरुदेखि नै दुखैदुखमा बाँचिरहेका जनताको परिश्रम र मिहिनेतले मुलुकलाई अझ माथि उठाउन योगदान पुर्यायो । कडा परिश्रम गर्नु, समय खेर नफाल्नु, सम्पत्तिको जतन गर्नु लगायतका आचरण जनतालाई उनीहरुको परिवेशले नै सिकाइसकेको थियो । त्यसै आचरण उनीहरुको उन्नतिमा काम लाग्यो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने स्वीस जनताको बानीले आज स्वीट्जरल्याण्ड विश्वमै नमुना राष्ट्र मानिन्छ । प्राकृतिक स्रोत कत्ति पनि नहुँदा समेत हरेस नखाई आफ्नो मिहिनेतमा अडिग रहेको मुलकले कृतिम संरचनाकै कारण आफूलाई धनी मुलुकका रुपमा विश्वसामू उभ्याएरै छाड्यो । आज हरेकको मुखमा स्वीट्जरल्याण्डको प्रशंसा हुन्छ, हरेकको मनमा त्यहाँ जाने इच्छा हुन्छ भने धेरै राष्ट्र स्वीट्जरल्याण्लाई मार्गदर्शक बनाएर अघि बढीरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]