June 28th, 2017

मौद्रिक नीतिका लागि यस्तो छ, नेपाल धितोपत्र बोर्डको सुझाव

नेपाल धितोपत्र बोर्डले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष लिखित सुझाव पेश गरेको छ । बोर्डले धितोपत्र बजारमा सार्वजनिक निष्काशन गरेका वास्तविक क्षेत्रका उत्पादनमूलक पब्लिक कम्पनीहरुलाई समेत प्राथमिकता क्षेत्रमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ । वित्तीय क्षेत्रको गतिशिलता एवं विश्वसनीयता अभिबृद्धि गर्न यो आवश्यक रहेको बोर्डको तर्क छ । 

त्यसैगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वामित्व संरचनामा सुधार गरी संचालक समितिमा धितोपत्र दलाल व्यवसायीको सट्टा विज्ञ संचालकको व्यवस्था हुनेगरी मुनाफाकारी परिणत गरिएता पनि हालसम्म यसको स्वामित्व संरचनामा सुधार नभएको स्थितीलाई सेवोनले आफ्नो सुझावमा उल्लेख गरेको छ । उसले धितोपत्र बजारसम्बन्धी अन्तर्रा्ष्ट्रिय सिद्धान्त अनुरुप बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्नुपर्ने सन्दर्भमा नेप्सेको स्वामित्व संरचनामा शीघ्र सुधार गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संस्थाको रुपमा विकसित गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएको छ ।

हालै लागू भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्था भएको र बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको नेपालको धितोपत्र बजारमा यसरी संस्थापक सेयर एकै पटक सर्वसाधारणमा परिवर्तन भएमा धितोपत्रको बजार मूल्यमा ठूलो प्रभाव पर्न सक्ने भएकोले यस्तो परिवर्तन बजारको अवस्था हेरी उपयुक्त समय तथा प्रतिशतको आधारमा चरणबद्ध रुपमा हुने व्यवस्था गर्न उपयुक्त हुने सेवोंको तर्क रहेको छ ।

मार्जिन कारोवार प्रकृयामा बैंक तथा वित्तीय संस्थाको सम्लग्नता समेत हुन सक्ने हुंदा वजार विस्तार तथा लगानीकर्ताको हितलाई दृष्टगत गरी यसको सुदृढ एवं विश्वसनीय व्यवस्थाका लागि नियमन निकायहरु वीच आवश्यक समन्वय तथा सहजीकरण बढी महत्वपूर्ण हुने भनाई सेवोनले पेस गरेको सुझाबमा समेटिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिइरहेको तथा यस्तो अभ्यासलाई मार्जिन कारोवार समेत भन्ने गरिएको र यस्तो अभ्यास धितोपत्रको मूल्य प्रवृत्ति तथा वित्तीय क्षेत्रको तरलताको स्थितिले प्रभावित भई बजारमा ठूलो उतार चढाव आउने तथा यसका कारण बैंक तथा वित्तीय संस्थाले समेत जोखिम बहन गर्नुपर्ने स्थिति रहेकोले यसमा सुधार ल्याउन अन्तर्रा्ष्ट्रिय अभ्यास अनुसार धितोपत्र दलाल व्यवसायीहरु मार्फत् मार्जिन कारोवार सेवाको व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायको पुँजीआधार तथा पूर्वाधार बढाई सुदृढ गर्र्ने कार्य अगाडि बढाइएको छ जानकारी समेत उल्लेख छ ।

बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरु एक आपसमा मर्जर हुंदा कायम गरिने स्वाप अनुपात धितोपत्र बजारका लगानीकर्ताहरुको हितसंग सम्बन्धित विषय भएकोले यस्तो विषयमा धितोपत्र बजारको अवस्था हेरी नेपाल धितोपत्र बोर्डसंगको समन्वयमा गर्न उपयुक्त हुने भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]