June 21st, 2017

मृतक ग्राहकको परिवारलाई मुक्तिनाथ विकास बैंकले दियो बीमा रकम, कर्जा पनि मिनाहा गरियो

मुक्तिनाथ विकास बैंक लिमिटेडले निधन भएका ग्राहकको परिवारलाई काजक्रिया खर्चका लागि पाँच हजार रुपैयाँ प्रदान गरेको छ । साथमा निजले तिर्न बाँकी रहेको सावाँ तथा व्याज रकम समेत मिनाहा गरेको छ । बैंकको लघुवित्त डेस्क कार्यालय गगनगौंडाबाट कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं.३२ मजुवा निवासी विष्णुमाया गुरुङ्गले लघुवित्त कर्जा अन्तर्गत एक लाख रुपैया लिएकी थिइन् । सावाँ र व्याज गरेर बैंकमा उनले ७६ हजार आठ सय ४८ रुपैयाँ तिर्न बाँकी रहेकोमा सो रकम बैंकले मिनाहा गरेको जनाएको छ । गुरुङको गत फाल्गुन २७ गते निधन भएको हो । 

स्वर्गिय गुरुङ्गले मुक्तिनाथ विकास बैंकमार्फत एक लाख रुपैयाँको जीबन बीमा गरेकोमा मृत्यु पश्चात बीमा वापतको जम्मा रकम एक लाख छ हजार एक सय रुपैयाँ बराबरको चेक निजकी हकदार छोरी कल्पना गुरुङ्गलाई मृतकका आफन्तजनहरुको उपस्थितिमा मुक्तिनाथ विकास बैंक लि. क्षेत्रिय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल र नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लि. क्षेत्रिय कार्यालय पोखराका प्रमुख केशब ढकालबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्सका व्यबसाय विकास अधिकृत छबिलाल पौडेल, मुक्तिनाथ विकास बैंक लि. अनुगमन कार्यालय दुलेगौंडाका अनुगमन अधिकृत हिरामणि सिलवाल, मुक्तिनाथ विकास बैंक लि. शाखा कार्यालय गगनगौंडाका शाखा प्रमुख केशवराज पौडेल र लघुबित्त डेस्क कार्यालय गगनगौंडाका डेस्क प्रमुख राजेश ढकाल लगायत स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]