January 17th, 2018

मुनाल सहकारी दशौं वर्षमा

कास्की जिल्लाभरि कार्यक्षेत्र रहेको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. बुधबारबाट स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । दशौं वार्षिकोत्सवको अवसरमा सहकारीले आफ्ना सेयर सदस्यहरूलाई लक्षित गरि कार्यालय परिसरमा निःशुल्क मधुमेह परीक्षण शिविरको आयोजना गरेको छ । आरोग्यधाम होमियोप्याथिक हस्पिटलको प्राबिधिक सहयोगमा आयोजित उक्त शिबिरमा १०४ जनाले मधुमेह परीक्षण गराएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले बताए । 

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक भीम गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुनाल सहकारीको अफिसियल वेबसाइटको पनि शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक भीम गुरूङ, पोखरा फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरूङ, ओम डेभलपमेन्ट बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, पुर्व अध्यक्ष बिनोद ढुगांना, निर्बतमान अध्यक्ष मेघनाथ काफले, निःशुल्क मधुमेह परीक्षण शिविरका संयोजक डा. विष्णुप्रसाद चापागाईं, सचिव मगनलाल श्रेष्ठ लगायतका वक्ताहरूले सहकारीले आगामी दिनमा पूरा गर्नुपर्ने जिम्मेवारी र असरको बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

वार्षिकोत्सवमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको मुनाल सहकारीले यस वर्ष विश्वमा भयावह रूपमा फैलँदै गएको मधुमेहबारे जनचेतना जगाउने र केही हदसम्म मधुमेहको न्यूनीकरण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएका बताएको छ । 

२०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट आफ्ना शेयर सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाइएको  छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]