March 19th, 2017

मापदण्ड विपरीत सञ्चालित सहकारीले उठीबास गराए

सदस्यको आर्थिक उन्नतिका लागि भन्दै खोलिएका सिन्धुलीका अधिकांश सहकारी सञ्चालकले बढी मुनाफा लिने उद्देश्यले सहकारीका सदस्यको ढाड सेक्ने काम गरिरहेको पाइएको छ । सहकारी संघसंस्था दर्ता, सञ्चालन, नियमन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड २०६८ मा बचत तथा ऋण सरहकारी संस्थाले ऋण र बचतमा अधिकतम ६ प्रतिशतसम्मको मात्र फरक गर्न पाइने व्यवस्था छ । तर पनि मापदण्ड नाघेर सहकारीले १३ प्रतिशतसम्मको फरकमा कारोबार गरिरहेका हुन् । 

बढीको मुद्धति निक्षेप खाता सञ्चालन गर्न नपाइने भए पनि आकर्षक ब्याज देखाउँदै छ वर्षसम्मको मुद्धति निक्षेप खाता सञ्चालन गरिरहेका छन् । अत्याधुनिक कम्प्युटर सफ्ट्वेयर प्रणालीबाट सञ्चालित बैंकिङ प्रणालीमा कारोबार गरिएको भन्दै सदस्यलाई ऋणमा अधिक ब्याज र बचतमा न्यून ब्याज दिइरहेका छन् । अधिकांश सहकारीले लामो अवधिको मुद्धति निक्षेपलाई १५ प्रतिशत सम्मको ब्याज दिने गरेका छन् ।

पछिल्लो समय सिन्धुली सदरमुकाम माडीबजार र आसपासका क्षेत्रमा ३० वटाभन्दा बढी सहकारीले कारोबार गरिरहेका छन् । असोज मसान्त सम्ममा सहकारीले साधारणसभा सम्पन्न गर्नुपर्ने विनियम भए पनि धेरैजसो सहकारीले अझैसम्म पनि साधारण सभा गरेका छैनन् । बचत तथा ऋण सहकारी संस्थाले अधिकतम ६ प्रतिशतसम्मको फरकमा कारोबार गर्नुपर्ने, एक प्रतिशतभन्दा बढी प्रशासनिक खर्च गर्न नपाइने, तीन वर्षभन्दा बढी मुद्धति निक्षेप खाता सञ्चालन गर्न नपाइने भए पनि केही सहकारीले त्यस्तो काम गरिरहेको पाइएको छ । 

मापदण्ड विपरीत कारोबार गर्ने सहकारीलाई कारबाही गर्ने अधिकार सहकारी डिभिजन कार्यालयलाई भए पनि लामो समयदेखि अनुगमन भएको छैन । डिभिजन कार्यलयको यो लापरबाहीको फाइदा सहकारीहरुले उठाइरहेका छन् । सहकारी सङ्घसंस्था दर्ता, सञ्चालन नियमन तथा अनुगमन लेखा परीक्षणसम्बन्धी मापदण्ड २०६८ मा व्यवस्था भए मापदण्डभन्दा बाहिर गएर काम गर्ने सहकारीलाई खारेज गर्नेसम्मको कारबाही गर्न सकिने प्रावधान छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]