September 12th, 2016

मर्जरबिनाको मजबुत यात्रामा ‘हिमालयन बैंक’ : सीईओ अशोक राणाको अन्तर्वार्ता

ashok-rana-1अशोक राणा हिमालयन बैंकका सीईओ हुन् । नेपालका दुर्गम क्षेत्र हिमाल र पहाडका सामान्य जनताका लागि राणा हार्दिक व्यक्ति सावित भएका छन् । विभिन्न सहकारीमार्फत दुर्गम क्षेत्रका जनतालाई लघुवित्त ऋण सेवा उपलब्ध गराउनुका साथै हिमालयन बैंकको प्रवद्र्धन, विकास र विस्तारका लागि उनको ठुलो योगदान छ । उनी हिमालयन बैंक अन्य बैंक भन्दा बलियो रहेको दाबी गर्छन् । बैंकमा ८५ प्रतिशत लगानी नेपालका चर्चित तथा पुराना संस्थानहरुको रहेकाले पनि हिमालयन बैंक जोखिममा जाने कुनै आधार नभएको उनको ठहर छ । बरु भोलिका दिनहरुमा सबै नागरिकको साथ पाएमा आफ्नो बैंकले वाणिज्य बैंकहरुको क्षेत्रमा राम्रो पहिचान बनाउन सक्ने जबराको धारणा र अपेक्षा छ । उनै जबरासँग हिमालयन बैंकका सकारात्मक पक्ष, लगानीका क्षेत्रलगायतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

 हिमालय बैंकका सकारात्मक पक्षहरु के-के छन् ?

  • बलियो ब्यवस्थापन टिम : कुनैपनि संस्थाले स्थायित्व पाउनका लागि संस्थाको नेतृत्व तहका पदाधिकारीहरु इमान्दार र योग्य हुन आबश्यक हुन्छ । हाम्रो बैंकको सबैभन्दा राम्रो पक्ष भनेको बलियो र वौद्धिक व्यबस्थापन टिम हो । यस बैंकका निर्देशकहरुदेखि लिएर बैंक व्यबस्थापन टिमसम्मका सबै सदस्यहरुबिचको संस्थागत र व्यक्तिगत सम्बन्ध राम्रो छ । साथै सबै सदस्यहरु विज्ञ हुनुहुन्छ । माथिल्लो पक्ष राम्रो भएपछि अवश्य पनि बैंकका कर्मचारी पनि योग्य तथा इमान्दार नै छनौट गरिन्छ । समग्रमा हाम्रो बैंकको मानव संसाधन व्यवस्थापनको पक्ष अति नै राम्रो छ । यसकारण बैंकको निर्णायक कार्यहरु अर्थपुर्ण र सार्थक हुन्छन् ।
  • आम्दानीका स्रोतहरु : प्रायः उत्पादनमुलक संस्थाहरु मुनाफा कमाउने उद्देश्यका साथ स्थापना भएका हुन्छन् । विना नाफा संस्था टिस्न सक्दैन । यसका लागि संस्थाको आम्दानीको आधारहरु स्पष्ट र बलिया हुनुपर्छ । हाम्रो बैंकको आम्दानीको स्रोत कर्जा र कर्जाबाट प्राप्त ब्याज मात्र होइन । रेमिट्यान्सबाट प्राप्त आम्दानी, कार्ड विजनेसबाट प्राप्त आम्दानी र ट्रेजरीबाट प्राप्त आम्दानी पनि हाम्रो बैंकका आम्दानीका स्रोतहरु हुन् । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा पहिले क्रेडिट कार्ड भित्र्याउने बैंक हिमालय बैंकले हो । अहिले हाम्रो बैंकले ग्राहकहरुलाई  भिन्न÷भिन्न प्रकारका क्रेडिट कार्ड सेवा (HBL  SCT/Visa/Master Debit Card, HBL Visa Credit Card, HBL Master Credit Card, HBL Prepaid Visa Card and Himalayan Bank American Express Gold Credit Card ) उपलव्ध गराइरहेको छ । यसबाट हाम्रो आम्दानीको स्तर त बढ्छ नै, मुख्यतः उपभोक्ताहरुले सहज रुपमा कार्ड सेवा प्राप्त गरिरहेका छन् ।
  • सुचना प्रबिधिको प्रयोग : कर्मचारीहरु बिचमा समन्वय स्थापना गर्न र ग्राहकसमक्ष सहि छिटो र छरितो सूचना प्रदान गर्नका लागि राम्रो सूचना प्रबिधिको आबश्यकता पर्छ । हाम्रो बैंक अडिटको क्रममा नै अडिटरहरुले यस्तो घोषणा गरेका छन् – ’हिमालय बैंकको सूचना प्रबिधि अन्य बैंकहरु भन्दा सबैभन्दा भरपर्दो र राम्रो छ । यसले बैंकको माथिल्लो तहको जानकारीलाई तल्लो तहमा र तल्लो तहको जानकारी माथिल्लो तहमा पुर्याउन मदत गर्छ । जसले कर्मचारीबिच विवाद आउने कुनै पनि संभावना हुँदैन ।’
  • स्टाफ ट्रेनिङ : हिमालय बैंकले सबै शाखामा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिको लागि समय समयमा बिभिन्न प्रकारका तालिम तथा स्टाफ मोटिभेसनका कार्यक्रमहरु आयोजना गरिरहेको हुन्छ । यसलाई म बैंकको सम्पत्तीको रुपमा लिन्छु । यस्ता कार्यक्रमबाट कर्मचारीको बैंकिङ कामप्रतिको मनोबल अझ बढ्छ । जसबाट बैंक, कर्मचारी र ग्राहक सबैलाई फाइदा हुन्छ ।
  • ब्राण्ड र स्तरोन्नती : अहिले हाम्रो बैंक स्थापनाको २४ औं वर्षमा छ । हिमालय बैंक आजको दिनसम्म आईपुग्दा हरेक दृष्टिकोणबाट आफ्नो स्तर उन्नतिमा पुगेको छ । बैंकका शाखा, अन्य संस्थासँगको प्रवद्र्धन, ग्राहक, कर्मचारी, खराब कर्जा, चुक्ता पुँजी र अन्य थुप्रै पक्षमा आफ्नो सकारात्मक पहिचान बनाइसकेको छ र अर्को वर्ष हाम्रो बैंक स्वर्ण वर्षमा प्रवेश गर्दैछ । यस हिसाबले एक पछि अर्को वर्ष हाम्रो बैंकको स्तर विकास हुँदै गइरहेको छ । यो हाम्रो बैंकको एकदमै सकारात्मक पक्ष हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार, ०७४ असार मसान्तसम्ममा सबै वाणीज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने छ । यसका लागि हिमालयन बैंकको योजना कस्तो छ ? 
राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी ८ अर्ब पुर्याउन दिएको निर्देशन पालनाका लागि हाम्रो बैंकले राष्ट्र बैंक समक्ष पुँजी योजना बुझाइसकेको छ । यसका लागि हाम्रोे बैंकको खास योजना भनेको राइट सेयर निष्काशन नै हो । आठ अर्ब पुँजी पुर्याउन अहिले हामीलाई आवश्यक पुँजी एक अर्ब मात्रै हो । यसका लागि बैंकमा भइरहेका सेयर होल्डरहरुबाटै राइट सेयर जारी मार्फत रकम उठाउने हाम्रो योजना छ । यो बर्षको प्रथम क्वाटरभित्रै बैंकमा भएका सेयरहोल्डर बाट ६५ करोड उठ्छ र आगामी वर्ष राइट सेयर निष्काशन बाट ४० करोड उठ्छ । अरु आबश्यक रकम चाहिँ नाफाबाटै कभर हुन्छ । 

यसकारण हाम्रो बैंकलाई अर्को वर्षको असार मसान्तसम्ममा ८ अर्व चुक्ता पुँजी पुर्याउन अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जानुपर्ने आबश्यक छैन । साथै भोलिका दिनमा मर्जरमा गइहाल्ने तत्कालीन कुनै योजना पनि छैन । मर्जरका लागि अन्य बैंक तथा फाइनान्सलाई पनि हामीले नहेरेको भने हैन । तर हाम्रो मात्र बैंक होला, जहाँ ८५ प्रतिशत सेयर होल्डरहरु प्रोमोटरहरु नै छन् । बाँकी १५ प्रतिशत सेयर होल्डर मात्र पब्लिक छन् । त्यसैले अहिले बैंकमा रहेका सेयर होल्डरहरुबाटै राइट निष्काशनमार्फत पुँजी संकलन गर्ने हाम्रो बैंकको बोर्डको निर्णय हो ।

ashok-rana-3हाल हिमालयन बैंकले कुन÷कुन क्षेत्रमा लगानी गरेको छ ?
हाम्रो बैंकको लगानीमध्ये सबैभन्दा बढि लगानी औद्योगिक क्षेत्रमा नै भएको छ । सम्पुर्ण लगानीमध्ये ४० प्रतिशत लगानी उद्योगमा नै भएको छ । ३० प्रतिशत स–साना उद्यमशील संस्थाहरुमा लगानी गरिएको छ । ५ प्रतिशत राष्ट्र बैंकको निर्देशनबमोजिम लघुवित्तमा लगानी गरिएको छ, भने बाँकी २५ प्रतिशत चाहिँ उत्पादन हुन नसक्ने क्षेत्रहरु, सेवा अनुदान आदिमा लगानी भएको छ । मेरो बिचाारमा वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी गरेका छैनन्, भन्ने बाहिरी धारणा गलत हो । हाल आएर प्रायः वाणिज्य बैंकहरुले जम्मा लगानीको ७५ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा नै गरेका छ । 

‘हिमालयन बैंक बलियो छ’ भन्ने आधारहरु केके छन् ?

  • पुँजी : जम्मा ६ करोड पुँजीबाट स्थापना भएको बैंक आज स्थापनाको २४ वर्षमा आइपुग्दा ५.७ विलियन पुँजी पुगिसकेको छ । यो सबै पुँजी वोनस सेयरको नाफाबाटै संकलन भएको हो । बैंकले दिने डिभिडेन्ट पनि बढि छ साथै बैंकमा सञ्चित पुँजी पनि छ । यसर्थ, बैंकको कोर क्यापिटल हेर्ने हो भने ८ अर्व त पुगि नै हाल्छ ।
  • सम्पति : अन्य बैंकहरुले बैंक संचालनका लागि आवश्यक सबै विल्डीङ र जग्गा भाडामा लिएर बैंक चलाएका छन् । तर हिमालयन बैंकको ८ ओटा शाखा बैंकले नै किनेको जग्गामा बनेका विल्डीङमा संचालनमा रहेका छन् । काठमाडौँस्थित कमलादीमा बैंकको प्रमुख कार्यालय रहेको विल्डीङ बैंकको आफ्नै जग्गामा बनेको हो । त्यस्तै हाम्रो बैंकले न्युरोडमा २२ आना र दरबार मार्गमा २ रोपनी जग्गा किनेको छ । अन्य बैंकको पुँजी छ तर त्यसको बजार मुल्य स्थिर रहन्छ । तर हाम्रो बैंकले बैंकिङ सम्पत्ति पनि जोडिरहेको छ । यसको बजार मुल्य हेर्ने हो भने अन्य बैंकको पुँजीभन्दा हाम्रो बैंकको बजार मुल्य धेरै गुणा माथि हुन्छ ।
  • प्रोमोटर ग्रुप : हाम्रो बैंकमा आवद्ध सबै प्रोमोटरहरु संस्थागत प्रोमोटरहरु छन् । सञ्चय कोष, खेतान ग्रुप, नर्सिङबहादुर ग्रुप, हिमालयन शमशेर ग्रुप जस्ता नेपालका बलिया र पुराना संस्थाहरु मात्र हाम्रो बैंकका संस्थागत लगानीकर्ताहरु छन् । यो हाम्रो बैंकको बलियो पक्ष हो । त्यसैले, लगानी गर्न चाहने र ऋण दिने संस्था तथा व्यक्तिहरु कसैले पनि हाम्रो बैंकका बारेमा कुनै पनि शंका गर्न आबश्यक हुँदैन । हाम्रो बैंकको बारेमा ढुक्क भए हुन्छ ।
  • आम्दानीको स्रोत : ऋणबाट प्राप्त हुने ब्याज मात्र हाम्रो बैंकको आम्दानीको स्रोत होइन । रेमिट्यान्स, कार्ड विजनेस, ट्रेजरी जस्ता धेरै बैंकिङ ब्याज भन्दा बाहेकका आम्दानीका स्रोतहरु हाम्रो बैंकको छ ।
  • सामाजिक कार्य : हिमालय बैंकले आफ्नो बैंकको स्वार्थ पूर्तिका लागि मात्र काम गरेको छैन । हाम्रो बैंकले उद्यमी बन्न चाहने धरै व्यक्ति र संस्थाको सपना पुरा गरेको छ ।  विभिन्न कारणवश जीवनमा दुःख भोगिरहेका अनाथ तथा बृद्धाहरुलाई नगद तथा जिन्सि सहयोग गरेको छ । यस्तै सामाजिक कार्यकहरुमध्ये भर्खरै नेपाल आर्थिक पत्रकार समाज र हाम्रो बैंकबिच आर्थिक पत्रकारीता लेखनबृद्धि (फेलोसिप) का लागि सम्झौता भएको छ । यसमा हाम्रो बैंकको तर्फबाट सेजनलाई २ लाख ३० हजार रुपैयाँ प्रदान गरिने छ । यी सामाजिक कार्यहरु हाम्रा बैंकका सम्पत्ति हुन् । यीनै सम्पति हाम्रो बैंक पहिचानका बलियो अधार हुन् ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]