June 30th, 2017

भ्याटको विरोधमा सेयर कारोबार बन्द

मेनुका कार्की / ब्रोकर कम्पनीहरूले अडर नलिएपछि बिहीबार धितोपत्र बजारको कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार गर्ने सर्वर खुला गरे पनि अडर नलिएपछि सेयर कारोबार हुन नसकेको नेपाल स्टक एक्सचेन्जका उपप्रबन्धक निरञ्जन फुयाँलले जानकारी दिनुभयो । आन्तरिक राजस्व विभागले विगत चार वर्षदेखिको सेयर कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्र काटेपछि यसको विरोधमा ब्रोकरले कारोबार रोकेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार सेयर कारोबार बन्द गरिएका कारण लगानीकर्तामाथि अन्याय भएको बताएको छ । विभागले पत्र पठाएपछि ब्रोकर कम्पनीले आफूले लगानीकर्तासँग भ्याट असुली नगरेकाले सरकारलाई पनि उक्त रकम बुझाउन नसक्ने बताएका छन् । विभागले ब्रोकर कम्पनीलाई पत्र काटेर विगत चार वर्षदेखिको सेयर कारोबारको भ्याट, त्यसमा लाग्ने ब्याज, हर्जना तथा जरिवानासहितको रकम बुझाउन भनेको छ । भ्याटको नियम विपरित उत्रिएको ब्रोकर एसोसियसनले आफूहरूले लगानी कर्तासँग भ्याट असुली नगरेकाले सरकारलाई उक्त रकम नबुझाउने बताएको छ । ‘हामीले लगानीकर्तासँग भ्याट उठाएका छैनौं कसरी सरकारलाई चार वर्षदेखिको भ्याट बुझाउने', ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले भन्नुभयो । एसोसिएसनका अनुसार विभागले इन्भेस्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९÷७० देखिको भ्याट तिर्न बुधबार पत्राचार गरेको छ ।

नेप्सेले नियमित हुनुपर्ने कारोबार बन्द हुँदा लगानी कर्तामाथि अन्याय भएको बताउँदै तत्काल कारोबार खोल्ने वातावरण बनाउन नियामक निकायलाई आग्रह पनि गरेको छ । सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको नेप्सेको भनाइ छ । आन्तरिक राजस्व विभागले विगत चार वर्षदेखिको सेयर कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्र काटेपछि यसको विरोधमा ब्रोकरले कारोबार रोकेका हुन् ।

ब्रोकरले चार वर्षदेखिको कमिसनमा भ्याट तिर्न नसक्ने भन्दै अनिश्चित कालका लागि सेयर कारोबार रोक्ने घोषणा गरिसकेका छन् । ब्रोकरहरूले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोडलाई ज्ञापनपत्र समेत बुझाइ सकेका छन् । उनीहरूले ब्रोकर कमिसनमा भ्याट लगाउन बजेट भाषणमै व्यवस्था हुनुपर्ने र पुरानो अवधिको भ्याट तिर्न नसक्ने भन्दै कारोबार रोक्का गरेका हुन् । ‘भ्याट उपभोक्ताबाट असुलिने कुरा हो र सेयर बजारका उपभोक्ता भनेको लगानीकर्ता हुन, हामीले लगानी कर्तासँग भ्याट असुलेका छैनौं त्यसैले भ्याट तिर्दैनौं', रेग्मीले भने । ‘ब्रोकर कमिसनमा भ्याट लगाउने व्यवस्था संसारमै छैन ।'

सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको नेप्सेको भनाइ ।

कर अधिकृतले निर्धारण गरेको कर तिर्नुपर्ने नभए मुद्दामा जान सक्ने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिनुभयो । ‘कानुन मान्दिन भन्नु कति न्यायसंगत हुन्छ', उहाँले भन्नुभयो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ ले गरेको व्यवस्थाअनुसार ब्रोरक कम्पनीले लिने धितोपत्र दलाली सेवा शुल्क ‘कमिसन' को २० प्रतिशत नेपाल स्टक एक्सचेन्ज पाउने व्यवस्था छ । त्यस पछि बाँकी हुन आउने ‘कमिसन' रकमलाई शतप्रतिशत मानेर त्यसको १५ प्रतिशत आयकर कट्टी गर्ने चलन छ ।

यो रकममध्ये शून्य दशमलव ६ प्रतिशत नेपाल धितोपत्र बोर्डले पाउने व्यवस्था गरिएको छ । ब्रोकरले कारोबार आकारअुनसार शून्य दशमलव चार प्रतिशतदेखि शून्य दशमलव ६ प्रतशितसम्म कमिसन लिन पाउने व्यवस्था नियमावलीले गरेको छ । कारोबार बन्द भएको विषयलाई लिएर ब्रोकर तथा स्टक एक्सचेन्जले धितोपत्र बार्डलाई ज्ञापनपत्र बुझाएपछि बोर्डले यस विषयमा अर्थ मन्त्रालयलाई जानकरी गराएको छ । ब्रोकरलाई अविलम्ब कारोबार गर्न निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । कारोबार रोकेर होइन छलफल गरेर अघि बढ्न सकिने उहाँको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]