September 17th, 2017

भारतीय बैंकहरुमा खराब कर्जा ‘१५४ खर्ब अमेरिकी डलर’

रुपा कोइराला । भारतको भन्दा नेपालको बैंकिङ क्षेत्र मजबुद रहेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजीवृद्धिका कारण नेपालको बैंकिङ क्षेत्र मजबुद भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले राष्ट्र बैंकको नीतिका कारण नेपालको बैंकिङ क्षेत्र सबल बन्दै गएको बताए । थापाका अनुसार, नेपालका बैंकको तुलनामा भारतको बैंकहरुमा बढी जोखिमयुक्त कर्जा रहेको छ । भारतका बैंकहरुमा १२ प्रतिशत खराब कर्जा रहेकोमा नेपालको बैंकहरुमा खराबकर्जा दुई प्रतिशतभन्दा कम रहेको उनले बताए ।

खराब कर्जा अत्यन्त धेरै
पछिल्लो केही समयदेखि नै भारतका बैंकहरु खराब कर्जा वृद्धिको शिकार भइरहेका छन् । भारतीय बैंकहरुमा यतिबेला १५४ विलियन अमेरिकी डलर बराबरको खराब कर्जा रहेको तथ्यांक छ । भारतीय बैंकिङ प्रणालीमा २६ वटा पब्लिक बैंक, २५ वटा निजी स्तरका बैंक, ४३ वटा विदेशी बैंक, ५६ वटा क्षेत्रीय ग्रामीण बैंक, १५८९ वटा सहरी कोअपरेटिभ बैंक र ९३,५५० वटा ग्रामीण कोअपरेटिभ बैंकहरु रहेका छन् । यसबाहेक, कोअपरेटिभ कर्जा संस्थाहरुले पनि सेवा दिँदै आएका छन् । पब्लिक सेक्टरका बैंकहरुले भारतको झन्डै ८० प्रतिशत बजार ओगटेका छन् । यी बैंकहरुमा नै ७५ प्रतिशत खराब कर्जा रहेको छ । यहाँको बैंकहरुको अवस्था यतिसम्म खस्केको छ कि, बैंकहरुले लगानी गरेको हरेक एक सय रुपैयाँमा लगभग ८८ रुपैयाँ मात्रै फिर्ता आउने गरेको छ । 

झन्डै १० वर्षदेखिको समस्या
भारतका बैंकहरुमा यो समस्याको सुरुवात सन् २००८ मा सुरु भएको हो । त्यो समयसम्ममा भारतको अर्थतन्त्र सकारात्मक थियो । सन् २००६ देखि २००८ को बीचमा मुलुकको आर्थिक वृद्धिदर ९ देखि ९.५ प्रतिशत थियो । अर्थतन्त्र बढ्दै गएपछि कम्पनी एग्रसिभ रुपमा विस्तार हुन थाले । जब २००८ मा अर्थतन्त्र ओरालो लाग्यो, तब कर्जा चुक्ता क्षमतामा ह्रास आयो । फलस्वरुप बैंकहरुमा खराब कर्जा बढ्न थाल्यो । पछिल्लो समयको तथ्यांकअनुसार, भारतीय बैंकहरुको कर्जा वृद्धि हालसम्मकै सबैभन्दा कम ३.३ प्रतिशत रहेको छ । 

आरबीआईको कमजोरी
खराब कर्जा घटाउनका लागि भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाले थुप्रै पहल गरेपछि सफल हुन सकेको छैन । यद्यपि, कर्जालाई सेयरमा रुपान्तरण गर्ने योजनाले केही हदसम्म सहयोग भने गरेको थियो । आरबीआईले संस्थापक वा सेयरधनीहरुलाई प्रभाव पार्ने खाले योजना ल्याउन नसकेका कारण नै खराब कर्जाको समस्याबाट भारतीय बैंकहरु माथि उठ्न नसकेको विश्लेषकहरु बताउँछन् । 

नेपालका बैंक सबल
यता, नेपालका बैंकहरु खराब कर्जालाई न्युनतममा कायम गर्न सफल छन् । बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गरेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई अधिकतम ५ प्रतिशतसम्म खराब कर्जा जोखिममुक्त मानिन्छ । यो अन्तराष्ट्रिय रुपमै रहेको मान्यता हो । जसअनुसार, खराबकर्जाका हिसाबले नेपालका कुनै पनि बैंकहरु जोखिमयुक्त छैनन् । सबै बैंकले खरबकर्जा पाँच प्रतिशतभन्दा कम विन्दुमा कायम गरेका छन् । बैंकहरूले विगतबाट पाठ सिक्दै संयमित तरिकाले लगानी गर्न थालेका छन् भने नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्दै लगेको छ । फलस्वरुप, बैंकहरु बलिया हुँदै गइरहेका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]