December 6th, 2016

भारतकी चर्चित नेतृ जय ललिताको निधन, के होला तमिलनाडुको अर्थतन्त्र ? 

lalitaभारतकी एक चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन भएपछि त्यहाँको अर्थव्यवस्थालाई लिएर अनेक प्रश्न उब्जिएका छन् । आइतबार राति हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी भनिएको उनको सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे निधन भएपछि अब तमिलनाडुको भविष्यबारे टिप्पणी सुरु भएको हो । 

जय ललिताले आफ्नो कार्यकालका क्रममा राजनीतिसँगै केन्द्र र राज्यबीचको सम्बन्धमा पनि गहिरो प्रभाव पारेकी छन् । उनको निधनसँगै तमिलनाडुले यस्तो नेतृत्व गुमाएको छ जसले आफ्नो राज्य प्रतिकुल हुने गरी कहिले कोहीसँग सम्झौता गरिनन् । 

उनले जनकल्याणको योजनामात्रै बनाइनन्, तमिलनाडुलाई एउटा समृद्ध राज्यका रुपमा समेत स्थापित गरिन् । खासगरी महिलाहरुमाथि हुने हिंसा वा दुव्र्यवहार रोक्नका लागि उनले प्रहरीको मनमा एक किसिमले ‘भगवानको डर’ पैदा गरिदिएकी थिइन् । जयललिता अन्य मुख्यमन्त्रीहरुजस्तो आम मानिससँग धेरै भेटघाट गर्दिन थिइन् तर उनले तमिलनाडुलाई भारतकै सबैभन्दा विकसित राज्यको रुपमा स्थापित गरिन् । राजनीतिक स्वार्थमा अल्झिएर उनले कहिल्यै आफ्नो राज्यको हितविपरित कोहीसँग पनि सम्झौता गरिनन् । 

यसक्रममा उनको टकराव प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भएको थियो । उनले प्रधानमन्त्री मोदीलाई पठाएको दुईवटा पत्रको जवाफ नआएपछि उनले कडा भाषाको प्रयोग गरेर मोदीलाई पत्र पठाएकी थिइन् । जय ललिताको आफ्ना समकालीन रहेका लगभग सबै प्रधानमन्त्रीसँग टकराव परेको थियो ।
 
सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]