February 25th, 2017

भारतका छ हजार धनाढ्यको बसाई विदेशमा

गत वर्ष छ हजार जना भारतीय धनाढ्य विदेश पलायन भएको एक अध्ययनले देखाएको छ । न्यून वल्र्ड वेल्थले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार सन् २०१६मा २०१५ को तुलनामा ५० प्रतिशत बढी धनाढ्य विदेशमा बसाईँ सरेका हुन् । सन् २०१५ मा यसरी विदेश पलायन हुने धनी व्यक्तिहरूको सख्या चार हजार मात्रै रहेको थियो । 

भारतमा दुई लाख ६४ हजार जना लखपति र ९५ को सङ्ख्यामा अर्बपति छन् । भारतमा कुल सम्पत्तिको आकार भने छ दशमलव दुई ट्रिलियन डलर रहेको छ । आगामी दशकभित्र भारतले स्थानीय वित्तीय सेवा, सूचनाप्रविधि, रियल इस्टेट, स्वास्थ्यसेवा र सञ्चार क्षेत्रको वृद्धिबाट लाभ उठाउने देखिएको छ ।

सन् २०१६ मा विश्वभरि ८२ हजार जना धनी व्यक्ति विदेश पलायन भएका छन् । जसकारण सम्पत्ति पलायन पनि तीव्र रूपमा बढेको छ । सन् २०१५ मा भने विश्वभरि ६४ हजार जना धनी व्यक्ति विदेश पलायन भएका थिए । गतवर्ष फ्रान्सको सबैभन्दा बढी अर्थात् १२ हजार जना अति धनी व्यक्ति विदेशतर्फ लागेका थिए । त्यस्तै धनाढ्यको आप्रवाहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ । सो अवधिमा अष्ट्रेलियामा ११ हजार जना धनी व्यक्ति त्यहाँ सरेको तथ्याङ्क छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]