June 22nd, 2016

‘ब्रोकरको कमिसन घट्दैछ’ : धितोपत्र बोर्डका अध्यक्षसँगको अन्तर्वार्ता

Rewat Bahadur Karkiरेवत बहादुर कार्की नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् । उनी धितोपत्र बोर्डमा आएको ६ महिना पूरा भईसकेको छ । यो बीचमा उनले शेयर बजार व्यवस्थापनको सवालमा केही महत्वपूर्ण पहलहरु पनि गरेका छन् । विशेषतः पुँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्नु र धितोेपत्र बजार र धितोपत्र व्यवसायलाई नियमन, निर्देशन देखि व्यबस्थापन सम्मका कार्यहरुमा सहभागी हुनु नै धितोपत्र बोर्डको काम हो । यसका अलवा विनिमय कार्यलाई प्रभावकारी बनाई धितोपत्र व्यवसायमा आबद्ध व्यक्तिहरुको काम, कारबाहीलाई नियमित तथा व्यबस्थित गर्नु पनि यसको मुख्य कामहरु भित्रै पर्छन् । यो बीचमा शेयर बजारको आरोह–अवरोह अलि अस्वभाविक देखिएको छ । यही सन्दर्भमा बैंकिङ खबर डटकमका लागि शारदा भण्डारीले धितोपत्र बोर्डका अध्यक्ष कार्कीसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छः
 

गत साताको मंगलबार शेयर कारोबारले एउटा ऐतिहासिक रेकर्ड कायम गर्याे, मतलब कारोबार २ अर्ब ५० करोड भन्दा माथि भयो । के कारणले यसरी बढ्यो शेयर बजार ?
हो, अहिले शेयर कारोबार अनपेक्षित रुपमा बढिरहेको अवस्था छ, डिम्याट यसको मुख्य कारण हो । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर बजारको उतारचढावमा भुमिका खेलेको जस्तो मलाई लाग्छ । ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुँजी तोकिएबमोजिम पुर्याउनका लागि राष्ट्र बैंकले दिएको निर्देशनले पनि शेयर बजार वृद्धिमा प्रभाव पारेको छ । भूकम्प र नाकाबन्दीले गर्दा लगानीमैत्री वातावरणको अभाव भएको छ । लगानीका लागि बैकल्पिक पक्षहरुको अभावले पनि लगानिकर्तालाई शेयर बजारले तानेको छ । बैंकिङ तरलताको वृद्धिसँगै बैंक व्याजदर पनि घटेको छ, त्यस्तै वित्तीय साक्षरता र शैक्षिक हल्लाले पनि शेयर कारोबार बढेको हुन सक्छ ।
 
लगानीकर्ताहरुलाई विवेकपुर्ण निर्णयका लागि अपिल गर्दै, गत विहिवार धितोपत्र बोर्डले एक प्रेस विज्ञप्ति समेत निकालेको थियो । त्यसपछिको तथ्याङकलाई नियाल्दा मङगलबारको तुलनामा शेयर कारोबार घटेको अवस्थामा देखिन्छ । के यो प्रेस विज्ञप्तिको प्रभाव हो ?
बजारबारे सूचीकृत गराउनु, लगानिकर्ताहरुको हकहितको संरक्षण, नियन्त्रण तथा व्यवस्थापन गराउनु धितोपत्र वोर्डको जिम्मेवारी हो । शेयर कारोबार आकाशिएको अवस्थामा हामीले लगानिकर्ताहरुलाई सुझाव दिनका लागि विज्ञप्ति निकालेका हौँ । यो हाम्रो कर्तव्य हो । आन्तरिक जोखिम वहन गर्ने क्षमता र वाह्य अर्थिक वातावरणलाई मुल्याङकन गरी शेयर बजारमा लगानी गर्नु उचित हुन्छ । शेयर कारोबार आकाशिनुमा अरु पनि विभिन्न पक्षहरु होलान्, तर केहि हदसम्म विज्ञप्तिको प्रभाव परेको पनि हो । अगाडि खाल्डो छ है भनेपछि जो कोहि पनि एकछिन सोचेर मात्र हिड्न सुरु गर्छ । सायद यहि भएको पनि हुन सक्छ ।

आगामी दिनमा शेयर बजारको गति के होला ?
संस्थागत लगानीकर्ताहरु भित्रिने क्रममा छन् । हामीले नागरिक लगानी कोषलाई संस्थागत रुपमा शेयर बजारमा भित्र्याउने क्रममा छौं । यस्ता संस्थाहरु शेयर बजारमा नभित्रिएसम्म यसको कारोबार थपघट भईरहन्छ । त्यसपछि स्थायी रुपमा शेयर कारोबार व्यालेन्समा आउँछ भन्ने विश्वास छ ।  

बजार व्यवस्थापनका लागि तपाईहरुले के गर्दै हुनुहुन्छ ?  
बोर्डको सुपरिवेक्षण कार्यलाई सुदृढ गर्ने क्रममा बजार सुपरिवेक्षण म्यानुअल बनाउने प्रक्रिया अगाडि बढाईएको छ भने कार्यकारी निर्देशकको नेतृत्वमा बोर्डको एक टोलीलाई मुम्बई स्टक एकस्चेन्जको सुपरिवेक्षण सम्बन्धी अवलोकन भ्रमण गराईएको छ । धितोपत्र व्यवसायी सेवा तथा बजारका सम्बन्धमा आएका गुनासो सुन्ने व्यवस्थालाई अनिवार्य बनाईएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई बजारसम्बन्धी सूचना तथा जानकारीहरु परिष्कृतरुपमा स्तरीय प्रारुपमा सार्वजनिक गर्न निर्देशन दिईएको छ भने मर्चेट बैंकरलाई बोनस शेयर तथा हकप्रद सेयर सिधै शेयरधनीको डिम्याट खाता तथा नगद लाभांश लगानिकर्ताको बैंक खातामा जम्मा गरिदिन निर्देशन दिईएको छ । क्लियरिङ बैंक एक मात्र भई क्लियरिङ कार्यमा बढी समय लाग्ने गरेकोमा यसमा सुधार ल्याईने र दुई ओटा थप्ने व्यवस्था गरिएको छ । त्यस्तै कम्तिमा १० दलाल कम्पनीलाई मिलेर डीपी कम्पनी स्थापना गर्न सक्ने नयाँ ब्यबस्था गरिएको छ । त्यस्तै डिम्याट सेवा काठमाडौँ बाहिर विस्तार गर्नमा जोड दिईएको छ । यी त म आएपछिका केहि उदाहरण कार्यहरु मात्र हुन् । शेयर बजारको व्यवस्थापनका लागि विभिन्न कार्यहरु कति भईसके र कति कार्यान्वयनको चरणमै छन् ।

ब्रोकरको कमिशन बढी भयो भन्ने कुराहरु बजारमा आईरहेका छन् नि, यस बारेमा के भन्नुहुन्छ ?
यो भनाइमा चाहिँ म शतप्रतिशत नै सहमत छु । यस्तै रेन्जमा बढ्दै जाने हो भने  ब्रोकर कमिशन दक्षिण एसियाकै सबैभन्दा बढि हुने क्रममा छ । त्यसैले यसलाई घटाईनुपर्छ । यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं । स्वीकृत भएपछि अवश्य ब्रोकर कमिशन घट्छ ।

अन्तमा: अर्थतन्त्र विज्ञ तथा बोर्डको अध्यक्षको हैसियतले लगानीकर्तालार्इृ के भन्न चाहनुहुन्छ ?
देशको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा तल छ । तर नेप्से इन्डेक्स मात्रै बढ्दै उच्च विन्दुमा पुुग्न लागेको छ । यसले बजारको जोखिम उतिकै रुपमा बढाइरहेको छ । यसर्थ लगानी गर्दा देशको अर्थव्यवस्था, बजार विकास तथा लगानीकर्ता स्वयमंको जोखिम वहन गर्न सक्ने क्षमतालाई विचार गरेर मात्र शेयर बजारमा लगानी गर्न सल्लाह दिन्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]