August 17th, 2016

ब्याजदर करिडोरबारे नरबहादुर थापाका तीन व्याख्या

narabahadur thapaनेपाल राष्ट्र बैंकले हालै ब्याजदर करिडोर प्रणाली लागु गरेको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा प्रशोचन गर्ने र आर्थिक उतारचढाबलाई नियन्त्रण गर्ने उद्देश्यका साथ करिडोर लागु गरिएको हो । करिडोर लागु भएपनि वाणिज्य बैंकहरुले ऋण दिँदा वा लिँदा कुनै पनि ब्याजदर आफुखुसि अथवा संस्था अनुकुल निर्धारण गर्न पाउँदैनन् । करिडोर प्रणाली लागु नहुँदासम्म ब्याजदर वाणिज्य बैंकमार्फत नै कोड गरिन्थ्यो । ब्याजदर करिडोर राष्ट्र बैंकले तरलता व्यबस्थापन गर्दा तथा कर्जा दिँदा लिने र दिने ब्याजदरको सीमा हो ।

के हो ब्याजदर करिडोर ?
ब्याजदर करिडोर राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दा तथा कर्जा दिँदा लिने र दिने ब्याजदरको सीमा हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर आफैले निर्धारण गर्दै आएका थिए । तर हामीले गत साताको बुधबारबाट करिडोर लागु गरिसकेका छौँ । अब भने राष्ट्र बैंकले तोकेको निश्चित ब्याजदरमा अन्य बैंकहरुले कारोबार गर्नुपर्ने हुन्छ । करिडोरको अवधारणा विगत ४ वर्ष अघि नै तत्कालिन गभर्नर डा. युवराज खतिवडाले ल्याउनुभएको थियो । तर यसबीचमा विभिन्न कारणबस कार्यान्वयनमा ल्याउन सकिएको थिएन । बजारमा तरलताको अवस्था भद्रगोल भएका कारण हामीले बुधबारबाट यो प्रणाली लागु गरेका हौँ ।

करिडोरको उद्देश्य
करिडोर लागु गर्नुअघि झण्डै २५ अर्बको तरलता थियो । अधिक तरलताले अर्थतन्त्रलाई नराम्रो प्रभाव पारिरहेको छ । राष्ट्र बैंकले कोरिडोर लागु गर्नुको मुख्य उद्देश्य भनेको बजारमा रहेको अधिक तरलताको व्यवस्थापन गर्नु र अल्पकालिन ब्याजदरमा हुने उतारचढाबलाई नियन्त्रण गर्नु नै हो ।

प्रशोचन उपकरण
राष्ट्र बैंकले अहिलेको बजार तरलता प्रशोचनका लागि निक्षेप संकलनलाई माध्यम बनाएको छ । अपर लिमिटमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता प्रदान गर्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय सम्पती धितो राख्नु पर्छ । त्यस्तै लोअर लिमिटमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन गर्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि वित्तीय सम्पती धितो राख्नु पर्दैन । अहिले राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्नका लागि लोअर लिमिटको प्रयोग भईरहेको छ । यसमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले धितोका नाममा वित्तीय सम्पतिहरु राख्नु पर्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]