June 5th, 2017

बैंक सञ्चालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, बढीमा सात जना राख्न पाउने

नेपाल राष्ट्र बैंकले सञ्चालकको संख्या घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र गर्दै तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या घटाउन निर्देशन दिएको हो । 

महिना दिनअघि संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना मात्रै सञ्चालक राख्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । यो निर्देशनसँगै दुई सय भन्दा बढी बैंक सञ्चालकहरुको पद गुम्ने भएको छ । बाफिया अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैनन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाहरुले तत्काल विशेष साधारण सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था थियो । जसअनुसार अधिकांस बैंक तथा वित्तीय संस्थामा ९ जना सञ्चालक छन् । हाल १ सय १५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]