October 9th, 2016

बैंकिङ सिपाहीको कथा, हरेक दसैँ खडा भएरै वित्छ

dscn1318नारदमुनि सिग्देल । सिद्धार्थ बैंकमा सुरक्षा गार्डका रुपमा खटिएका सर्लाहीका केबल थापाले परिवारसंग दसैँ नमानेको सात वर्ष भयो । यो पालि पनि उनले दसैँमा विदा पाएनन् । डेड वर्षअघि सिद्धार्थ बैंकमा काम गर्न थालेका उनले त्यसअघि अर्को बैंकमा सुरक्षा गार्डकै रुपमा काम गर्र्दा थुप्रै दसैँहरु आफुजस्तै दसैँमा घर जान नपाएका सहकर्मीसंगै मनाए । यसपालिको दसैँ पनि उनले सहकर्मीहरुसंग मनाउँदैछन् । ‘अब यहीँ हामी गार्डमध्येमा अलि बढी उमेरको गार्डबाट हामी टिका थाप्छौँ’, थापाले भने, ‘थोरै समयमा मीठो–मसिनो के हुन्छ खान्छौँ र काममा लाग्छाँै ।’

उनले त यता दसैँको योजना बनाइसके तर घरमा भएको नाबालक छोरा भने अझै बाबा आउलान् भन्ने आसामा छ । त्यही भएर त घरबाट छोराले फोनमा सोध्छ, ‘बाबा घर नआउने ?’ घरबाट सानो छोराले बाबा घर नआउने भन्दा थापा भक्कानिन्छन् । ‘जिम्मेवारी लिएपछि गर्नैपर्छ’, उनी भन्छन्, ‘तर घरबाट कहिले काँहि छोराले बाबा घर नआउने भन्दा भक्कानो छुट्छ ।’

दसैँको बेलामा अरु बेला भन्दा काम गर्न अझै बढी चुनौतिपूर्ण रहेको उनी बताउँछन् । थोरै तलमाथी भएको अवस्थामा जागिर जाने अवस्था हुने उनको भनाई छ । ‘अरुबेला भन्दा यो बेला अझै बढी चनाखो हुनुपर्छ ।’ थापाले भने, ‘यतिबेला यहाँ कुनै घट्ना भयो भने सबै दोसको भागेदार हामी नै हुन्छौँ ।’ यति चुनौतिपूर्ण र जोखिमपूर्ण काम गर्दा पनि बाहिरी मानिसहरुले सुरक्षा गार्डलाई गर्ने व्यवहारप्रति उनी दुखि छन् । ‘हामीलाई मान्छेजस्तो पनि व्यवहार गरिँदैन’ उनले गुनासो पोखे ।

बैंकका सुरक्षा गार्ड उद्धव राउत काठमाडाँैमै घर भएपनि उनले ढुक्कले दसैँ मान्न पाउँदैनन् । ११ वर्षदेखि बैंकको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका राउतले अहिलेसम्म दुई पटक पनि दसैँ मजाले मनाउन पाएका छैनन् । ‘टाढाका साथीहरुलाई विदा दिएपछि नजिकैकोले सुरक्षा दिने हो ।’ उनी भन्छन् ‘साथीहरु विदामा बसेपछि नजिकै घर भएपनि दसैँमा पर्याप्त समय पाइदैन ।’dscn1369

विगत १३ वर्षदेखि गोदावरीका नेपाल बैँक लिमिटेडमा सुरक्षा गार्डको रुपमा करारमा काम गर्दै आएका श्रीकृष्ण थापालाई पनि दशैँका लागि भनेर कहिले घर गएको खासै सम्झना छैन । इन्डियन आर्मीबाट रिडायर्ड भएर बैंकमा जागीर गर्न थालेका थापाले घरमै गएर राम्रोसँग दशैँ मनाउन नपाएको ३० बर्ष भयो । कहिलेकाहीँ आलोपालो ड्युटी मिलाएर घर जाने गरेको बताउने उनी घरमै गएपछि बैँकमा कुनै सुरक्षमा समस्या पो आयो कि भन्ने चिन्ता हुने बताउँछन् । ‘हामीलाई ‘घाम लागेपनि पानी परे पनि ड्युटी बस्न पर्यो बीरबहादुर’ भनेजस्तो छ,’ उनि भन्छन्, ‘एउटा चार्ड, दशैँ मनाँउदा नै जागीर गयो भने त रोजीरोटी नै बन्द हुन्छ ।’ ३८ जना सेक्युरिटी गार्ड भएको नेपाल बैंकमा दशैँको समयमा १५ जनाले छुट्टी पाउँछन् । बाँकीले बैंकमा जागीर गर्दै दशैँ मनाउने गरेका छन् । थापा भन्छन्, ‘हामी यहि ड्रेसमै खाँदै ड्युटी गर्दै दशैँ मनाउने गछौँ ।’

थापा र राउत त प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरुजस्तै महत्वपूर्ण मानिने दसैँ पर्वमा उभिएरै विताउनुपर्ने बाध्यतामा रहेका गार्डहरुको दुःख पनि उस्तै छ । खासगरी यो बेला बैंक तथा वित्तीय संस्थाको सुरक्षाको विषय निकै संवेदनशील मानिन्छ । दसै मनाउन यति बेला खासगरी काठमाडौँ उपत्यकाबाट झण्डै ३० लाख मानिसहरु आ–आफ्नो गृहजिल्ला प्रस्थान गर्ने गर्दछन् । यही समयमा विभिन्न लुटपाट र चोरी डकैतीजस्ता घट्ना हुने सम्भावना रहन्छ । त्यसैले पनि प्रहरीसंगै बैंक तथा वित्तीय संस्थाका सुरक्षा गार्डले दसैँ, तिहार भन्न पाउँदैनन् ।

दसैँमा घर जान नपाउनुले भन्दा पनि उनीहरु आफ्नो काम र स्तरको सम्मान नहुँदा बढी दुखि देखिन्छन् । परिवारसंग दसैँ मान्न छाडेर काम गर्दा पनि ‘जाबो गार्ड नै त हो नि’ भन्ने बैंककै कर्मचारी तथा अन्य मानिसको व्यवहारले ज्यादै दुख लाग्ने उनीहरु बताउँछन् ।  

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]