February 7th, 2018

बैंकिङ रोजगारीको अबसरै अबसर, ट्रेनिङ लिएपछि सजिलो

बैंकिङ खबर । सरकारी योजनाअनुरुप सबै बैंकहरु ग्रामीण तथा दुर्गम भेगमा विस्तारित हुन थालेपछि बैंकिङ क्षेत्रमा रोजगारी अवसर दिनहुँ आइरहेका छन् । सरकारले संघीय संरचनाअनुरुप बनेका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएको थियो । सोही अनुरुप बैंकहरुले शाखा विस्तार गरिरहेका छन् । स्थानीय तहमा वाणिज्य बैंक जान सुरु गरेको छ महिनामा ४७ गाउँपालिका र २८ वटा नगरपालिकामा शाखा स्थापना भएका छन् । यससँगै हालसम्म मुलुकका चार सय सात वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बाँकी तीन सय ४६ वटा स्थानीय तहमा अझै पनि वाणिज्य बैंकको उपस्थिती छैन ।

शाखा संचालन गर्न कर्मचारी आवश्यक
शाखा संचालनमा ल्याउनका लागि बैंकलाई हरेक तहका कर्मचारी आवश्यक पर्छ । बैंकले सहायकदेखि मेनेजरसम्मका कर्मचारी नियुक्त गरेर शाखा संचालन गर्नुपर्ने हुन्छ । त्यसैले, गाउँमा शाखा स्थापना गरेका बैंकहरुले कर्मचारी आवश्यकताको विज्ञापन निकालिरहेका छन् । कतिपय पदका लागि अनुभव नभएका कर्मचारीहरुलाई पनि बैंकहरुले अवसर दिइरहेका छन् ।

छ महिनाभित्र ७५ शाखा थप्ने लक्ष्य
वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र नै थप ७५ वटा स्थानीय तहमा शाखा पुर्याउने लक्ष्य लिएका छन् । यसले अबको छोटो समयमा नै ठूलो संख्यामा रोजगारी सिर्जना हुने देखिन्छ । संघीयता कार्यान्वयनका क्रममा गठन भएका ७ सय ५३ स्थानीय तहहरूमध्ये चालू आवभित्र कम्तीमा चार सय ८२ स्थानमा वाणिज्य बैंकका शाखा पुर्याउने योजना छ ।लक्ष्य अनुसार शाखा विस्तार भए हजारौँले रोजगारी पाउनेछन् । 

स्थानीय उम्मेदवारलाई प्राथमिकता
दुर्गम भेगमा शाखा संचालनमा ल्याउनका लागि कर्मचारी व्यवस्थापन नै प्रमुख समस्या हुने गरेका छ । मानिसहरु प्राय ग्रामीण भेगमा काम गर्न रुचि देखाउँदैनन् । यस्तो अवस्थामा बैंकहरुले स्थानीयलाई प्राथमिकता दिने गरी दरखास्त आह्वान गर्दछन् । बैंकमा जागीरेको रुपमा प्रवेश गर्न चाहानेहरुका लागि यो महत्वपूर्ण अवसर सावित हुने देखिन्छ । हाल खुलिरहेका भ्याकेन्सीहरु र आगामी दिनमा बैंकिङ पहुँच बाहिर रहेका स्थानीय तहमा खुल्न लागेका शाखाहरुका लागि आह्वान गरिने दरखास्तलाई ध्यानमा राखेर तयारी गर्नेका लागि बैंकिङ क्षेत्रमा रोजगारीको अवसरै अवसर रहेको छ । 

विकास बैंकहरुले पनि शाखा विस्तार गर्दै
वाणिज्य बैंकहरु मात्रै नभएर विकास बैंकहरु पनि शाखा विस्तारमा अग्रसर देखिएका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु पनि बैंकिङ पहुँच नपुगेका ग्रामीण एवम् दुर्गम भेगहरुमा शाखा विस्तारका लागि आक्रामक तवरले लागीपरेका छन् । सोही अनुरुप भ्याकेन्सी पनि खुलाइरहेका छन् । यसरी नै शाखा विस्तार हुँदै जाँदा हजारौँले बैंकिङ क्षेत्रमा रोजगारी पाउनेछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]