November 25th, 2017

बैंकिङ प्रविधिको प्रयोगबाट हुने १० फाइदाहरु

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय प्रविधिमैत्री बन्दै गएको छ । प्रविधिको माध्यमबाट छिटो, छरितो र सरल तरिकाले सेवा उपलब्ध हुने भएकाले पनि बैंकहरुले धमाधम प्रविधि भित्राइरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र तमसुके बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् । प्रविधिले यतिसम्म गरेको छ कि स्वचालित ट्रेलर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिँदै छन् । अब हेरौँ बैंकिङ प्रविधिको प्रयोगबाट हुने १० मूख्य फाइदाहरु : 

घरमै बसी बसी स्कू फी 
पछिल्लो समय प्रभु ग्रुपले ‘ई–शिक्षा’ नामक प्रविधि भित्राएको छ । जुन प्रविधिबाट अविभावकहरुले घरमै वसीवसी आफ्ना छोराछोरीहरुको स्कू फि तिर्न सक्नेछन् । यस प्रविधिको माध्यमबाट शैक्षिक संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सकिन्छ । विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने लगायतको सुविधा ल्याएको छ ।  यो सफ्टवेयर नेपाली बैंकिङ क्षेत्रमा विल्कुलै नयाँ प्रविधि हो । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्टले सो सफ्टवेयर ल्याएको हो ।

विजुलीको महशुल अनलाईबाट
नेपाल विद्युत् प्राधिकरणको महशुल अब अनलाइको माध्यमले बैंकहरुबाटै बुझाउन सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको हो । यो प्रविधि आए पश्चात ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत सहजैरुपमा महशुल तिर्न थालेका छन् । यो सुविधा आएपछि वत्तिको विल तिर्न घण्टौँसम्म विद्युत् प्राधिकरणमा लाइन बस्नुपर्ने बाध्यता हटेको छ । 

सेयर कारोबारमा सहज
पछिल्लो समय अनलाइनबाटै सेयर कारोबार गर्न मिल्ने प्रविधि समेत नेपालमा आइसकेको छ । यो प्रविधिबाट नेपालीहरुले घरमै बसीबसी आफूले रोजेको कम्पनीको सेयर खरिद, विक्री गर्न सक्नेछन् । यसबाट आवेदन फारम लिन, फारम तथा रकम बुझाउन, बाँडफाँडमा परेको धितोपत्र लिन र नपरेको रकम फिर्ता भुक्तानी लिन आवेदन पेश गरेको संकलन केन्द्रमा धाउन नपर्ने, धितोपत्र बाँडफाँडमा नपरेको फिर्ता रकम बैंकमा दाखिला गर्न जान नपर्ने, चेक नमिलेर आवेदन रद्द हुने जस्ता घट्ना हुन नसक्ने, धितोपत्र खरिद गर्न रोक्का राखिएको सबै रकममा शतप्रतिशत व्याज प्राप्त गर्न सकिने, आफुले खरिद गर्न चाहेको धितोपत्रको मूल्य बराबरको रकम मात्र रोक्का रहने, बिक्री बन्द हुनु अघि आवेदन रकम घटाउन, बढाउन वा आवेदन नै फिर्ता लिन सकिने, लगानीकर्ताहरुले धितोपत्रमा लगानी गर्न नसक्ने भएकोले वास्तविक लगानीकर्ताले धितोपत्रमा लगानी गर्ने अवसर पाउने लगायतका सुविधा उपलब्ध भएका छन् । 

टेलिफोनबाटै बैंकिङ कारोबार
टेलिबैंकिङ सेवा बैंकिङ प्रविधिले भित्राएको यस्तो सुविधा हो जसमा टेलिफोनको माध्यबाट बैंकिङ सेवा लिन सकिन्छ । हिमालयन बैंक सुरुवात भएको वर्षताकै उसले टेलिबैंकिङ सेवाको सुरुवात गरेको थियो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ ।

नगद कारोबारका लागि बैंक पुग्न नपर्ने
बैंकिङ प्रविधिले भित्राएको अर्को सुविधा हो, एटिएम मेसिन । अहिले शहर बजारका चोक–चोकमा एटिएम मेसिनहरु राखिएका छन् । जसले गर्दा नगद कारोबार नै गर्न चाहनेपनि बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । कुनै पनि बैंकका ग्राहकले नजिकैको एटिएममा गएर नगद निकाल्न सक्नेछन् । यसले नगद कारोबारका लागि बैंकमा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाएको छ । नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । वि.सं. २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटिएम भित्राएको थियो । तर, छोटै अवधिमा पनि एटीएमले कमाएको लोकप्रियता भने चर्चायोग्य छ । 

घरमै बसीबसी बैंकिङ कारोबार
इन्टरनेट बैंकिङ प्रविधि भित्रिएसँगै बैंकमा ग्राहकहरुले घरमै बसी बसी बैंकिङ कारोबार गर्न सक्ने भएका छन् । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेटमार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने) जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

मोबाइलबाटै वित्तीय कारोबार 
नेपालका बैंकहरुले भित्राएको अर्को प्रविधि हो, मोवाइल बैंकिङ । यसबाट जो मान्छे जहाँ भए पनि आफ्नो मोवाइल प्रयोग गरी वित्तीय कारोबार गर्न सक्छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइलबाट नै बैंकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन् । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैंकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैंकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैंकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैंकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैंकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तीय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।

आपतकालिन वित्तीय सहयोग
क्रेडिट कार्ड बैंकिङ क्षेत्रको एउटा प्रविधि हो जसका कारण तपाईको खल्ती र बैंक खातामा पनि पैसा नहुँदा समेत पैसा निकाल्न सकिन्छ ।  क्रेडिट कार्डको माध्यमबाट तपाईले आपत परेका बेला रकम निकाल्न सक्नु हुन्छ । क्रेडिट कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यसैले यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्ने चलन छ । क्रेडिक कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर, त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । 

बैंक शाखा नभएपनि वित्तीय कारोबार 
अहिले नेपालका ७ सय ५३ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहमा बैंक शाखा छैनन् । यस्ता बैंक शाखा नभएका ठाउँमा समेत बैंकिङ कारोबार गर्न सकिने प्रविधि भित्रिएको छ जसलाई बीएलबी अर्थात ब्रान्चलेस बैंकिङ भनिन्छ । अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आएका छन् । 

चेक जम्मा गर्न सहज
बैंकिङ क्षेत्रमा भित्रिएको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको माध्यमबाट एउटा बैंकको चेक अर्को बैंकको खातामा जम्मा गर्न सहज भएको छ । मानाँै, तपाईको खाता प्रभु बैंकमा छ, तर साथीले तपाईलाई राष्ट्रिय वाणिज्य बैंकको चेक दियो भने तपाई सिधै गएर पूभु बैंकको तपाईको खातामा सो चेकको रकम जम्मा गर्न सक्नु हुन्छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्राएको हो । कम्पनीको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैंकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]