January 16th, 2017

‘पुँजी बजारको बिकासको लागि संस्थागत क्षमता बढाउनु पर्छ’, (ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीसँगको अन्तरवार्ता’

स्टक ब्रोकर्स एशोसियसन अफ नेपालमा दोश्रो कार्यकालका लागि प्रियराज रेग्मी सर्वसम्मत निर्वाचित अध्यक्ष हुन् । पहिलो कार्यकालमा स्टक ब्रोकर्स कम्पनीहरुको विश्वास जितेका उनी पुनः संगठनको नेतृत्व सम्हाल्न थालिसकेका छन् । स्टक ब्रोकर एयोसियसन अफ नेपाल ब्रोकर कम्पनीहरुको छाता संगठन हो । नेपालको पुँजी बजारमा ब्रोकरहरुले ग्राहकको अर्डर लिने र कारोबार गरिदिने काम गर्दै आएका छन् । तर ब्रोकर कम्पनीहरुले विगतदेखि नै आफ्नो कार्यक्षेत्र अलि फराकिलो बनाइदिन नियमनकारी निकायसँग माग गरिरहेका छन् । यही सन्दर्भमा ब्रोकर कम्पनीको छाता संगठनको जिम्मेवारी पुनः सम्हाल्ने जिम्मा पाएका रेग्मीले अब फेरी तिनै माग सम्बोधनका लागि संघर्ष गर्नुपर्ने देखिएको छ, जुन मागहरु उनले यसअघि अध्यक्ष रहँदा उठाएका थिए । यसबाहेक अन्य थप योजनाहरु के बनाएका छन् त एसोसियसनको अध्यक्षमा पुनः निर्वाचित रेग्मीले? प्रस्तुत छ यही विषयमा बैंकिङ खबरका लागि नवराज कुँवरले उनी रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश :

स्टक ब्रोकर्स एशोसिएशनमा दोश्रो पटक नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । दोश्रो कार्यकाललाई अझै उपलब्धीमूलक बनाउन के छन् योजना ?
दोश्रो पटक जिम्मेवारी पाउँदा मैले विगतमा गरेका कामकारबाहीप्रति सम्बन्धित साथीहरु खुशी र आसावादी हुनुहुँदो रहेछ भन्ने कुरा पनि थाहा पाइयो । पुन प्राप्त भएको  जिम्मेवारीले मलाई झनै गम्भिर रुपले यस क्षेत्रको बिकासको लागि लाग्नु पर्ने बाध्यता बनाएको छ । कसैले पनि एक्लै केहि गर्न सक्दैन । मिलेर गर्नु पर्दछ । सदस्य साथीहरुको आसा र भरोसालाई केन्द्रमा राखेर नियमक, बजार संचालक लगाएत सरोकारवाला संग समन्वय गर्दै आफ्ना योजनाहरु अघि बढाउनेछु । यो संघ भनेको ब्रोकर कम्पनीहरुको छाता संगठन हो । संगठनले स्टक मार्केटका नियमकदेखि सम्बन्धित अन्य निकायसँगको सहकार्यमा स्टक मार्केटलाई व्यवस्थित र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भविष्यमा अझै प्रभावकारी बनाउन मेरो टिम लाग्नेछ ।  खासगरी पछिल्लो समय हामी सबैले महशुस गरेको बजारको गुणात्मक विकासका लागि आवश्यक, नीति नियम,  प्रबिधि र पूर्वाधार अभाव छ । विगतदेखि नै हामीले पुँजी बजारको दिगो विकासका लागि आवश्यक कानून, नयाँ प्रविधि तथा संस्थागत संरचना स्थापनाका विषयमा आवाज उठाउँदै आएका छौँ । हामीले उठाएका कतिपय विषयहरु अहिले बजारमा लागू भईसकेका छन् भने अझै केही महत्वपूर्ण कुराहरु सम्बोधन हुन बाँकी छन् । ती विषयहरुलाई सहि तरिकाले पूरा गराउन मेरो ध्यान केन्द्रित रहनेछ । हामी दोस्रो बजारमा काम गर्छौं । प्राथमिक र दोस्रो बजार का उद्देश्यहरु फरक तर एक अर्काका परिपुरक हुन । प्राथमिक बजारको बिकास नभई दोस्रो बजारको बिकास हुदैन । यसका लागि फरक फरक नियम तथा प्रणलीको बिकास गर्नु पर्ने हुन्छ । प्राथमिक बजारले कम्पनीलाई सूचीकृत गराउने काम गर्छ भने दोस्रो बजारे सूचीकृत कम्पनीको धितोपत्र खरीदविक्री हामि ब्यवसायी मार्फत गराउँछ । दुवै कामका लागि स्पष्ट नीति नियमले व्यवस्था गनुपर्ने हुन्छ । हाम्रो बजारमा धितोपत्रको सुचिकरण सम्बन्धी बिनियमावली हाल सम्म बनेको छैन । कारोबार विनियिमावली धितोपत्र सम्बन्धि ऐन २०६३ आउन भन्दा पहिले २०५५ सालमा बनेकोबाट काम चलाईएको छ । जुन आजको परिप्रक्षेमा असान्धर्भिक छ । बजारका कारोबार पश्चात हुन सक्ने खराब हस्तान्तर (Delivery Default) बाट हुने खतराबाट बच्न र बजारको साख जोगाउदै राफसाफको प्रत्याभुतिका लागि आवश्यक Settlement Guarantee Fund र Auction Market संचालन सम्बन्धि बिनियमावलीहरुको मस्यौदा भई छलफल तथा अन्तिम स्वीकृतिका क्रममा छन् । यी बिनियमावलीहरुलाई ब्याबहारीक बनाउन समन्वय गर्ने र यस कार्याकाललाई झनै उपलब्धीमूलक बनाउन पुँजी बजारको समग्र विकासमा हाम्रो तर्फबाट निर्वाह गर्नुपर्ने सकारात्मक भूमिकामै बढी जोड दिनेछु ।    

तपाईहरु लगानीकर्ताको माग अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिन सकारात्मक हुनुहुन्न भन्ने पनि सुनिन्छ नि ?
ब्रोकर लाईसेन्स जसले लिने हो उसले माग गर्नु पर्यो । हामीले बैंकलाई ब्रोकर लाइसेन्स  हुँदैन भनेका छैनौँ । हामी पुँजी बजारको प्रमुख स्टेकहोल्डर हौं । यस क्षेत्रमा केहि गरौ भनेर लागेकाले बजारको बस्तुस्थीती, यसका चुनौति र बजारको स्वाथ्य बिकासका लागि गर्नु पर्ने कामका बिषयहरुमा हामिले आफ्ना धारणा र सुझावहरु राखेका हौ । राख्दै जान्छौ पनि । बैकलाई ब्रोकर लाईसेन्स दिदा आम सर्वसाधारणको हित हुदैन भन्ने हाम्रो धारण हो । हालको नियम कानूनले पनि मिल्दैन । दिर्घकालमा आम सर्वसाधारणको हित हुने र बजारको स्वाथ्य बिकास हुने गरि निर्णय तथा काम हुनु पर्दछ । नियमक तथा सरकारले सोहि अनुसारको निर्णय गर्नेमा हामि बिश्वस्थ छौ । धितोपत्रको दोस्रो बजारमा सरकार तथा नियामकको नीति नियम भित्र रहेर बजार सञ्चालकले उपलब्ध गराएको एबितायचm बाट पूँजीबजारको अन्तिम इकाईको रुपमा काम गर्ने एजेन्सी हामी नै हौँ । यो बजारमा हामी २० औँ वर्षदेखि कार्यरत पनि छौँ । नियम कानूनको परिधि भित्र रहेर आफ्नो ब्यवसायको प्रबद्र्धन गर्न पाउनु पर्ने हाम्रो अधिकार हो । यही माग हामिले गरेका हौ । पूँजीबजारको बिस्तार र बिकास गर्नको लागि अन्य थुप्रै बिकल्पहरु छन् । पुँजी बजारको आवश्यकताभन्दा बाहिर गएर हामीले काम गरेका छैनौँ । त्यसैले हामीले नियम कानुनको आवश्यकता औँल्याएका हौँ । त्यसलाई अर्को अर्थमा विश्लेषण गर्नुहुँदैन ।

कस्तो खालको नियम भन्न खोज्नुभएको ?
खासगरी शाखा विस्तारको अनुमति हामीले विगतदेखिनै माग्दै आएका छौँ । बैङ्कलाई लाइसेन्स दिने कि नदिने भन्ने निर्णय गर्ने भनेको बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने केन्द्रीय बैंकको काम हो । तर बैङ्कलाई धितोपत्रको दलालीसम्बन्धी काम गर्न पाउने कानूनी व्यवस्था अहिले छैन । नपाउने कानून छ । कानूनले रोक लगाएको चिज चाहियो भन्नुभन्दा अहिले जेको सम्भावना छ, जे छिटो हुन सक्छ, बजारको आवश्यकता जे हो, जे गर्दा समग्रमा फाईदा हुन्छ त्यहीअनुरूप गरियोस् भन्ने हाम्रो भनाइ हो ।

त्यसो भए बैंकलाई ब्रोकर लाइसेन्स दिँदा देखिने समस्या के हो त ?
हाम्रो पूँजी बजारलाई बैंक तथा इन्सुरेन्स कम्पनीहरुको बजार भने पनि हुन्छ । दोस्रो बजारले सैद्धान्तिक रूपमा गर्र्ने काम भनेको धितोपत्रको तरलता र खरिद बिक्रिमा सट्टेबाझि नै हो । बजारमा लगानीकर्ताले कम्पनीहरुले गर्ने निर्णय, उपलब्ध हुने सुचना, भावि योजना आदि को आधारमा धितोपत्र खरीदविक्री गर्छन् । हाम्रोबजारमा निश्चित केही समूहले वित्तीय संस्था, बीमा कम्पनी नियन्त्रण गर्छन् । ठूला लगानी ब्यवस्थापन कम्पनीहरु पनि उनीहरुलेनै संचालन गर्दछ । बैङ्क र बीमा कम्पनीमा क्रसहोल्डिङ छ । यस्तो परिस्थितिमा बैङ्कलाई ब्रोकर कसरी बनाउन सकिन्छ? म्यूचुअल फण्ड बैङ्कले नै चलाईरहेका छन् । जसले सूचनाको उत्पादन गर्छ, त्यसैलाई सेयर कारोबार गर्ने अधिकार दियो भने के हुन्छ, पहिले त्यसको बारेमा गहिरो अध्ययन हुनु पर्ने हो कि?

तर लगानीकर्तालाई त बैङ्कलाई ब्रोकर लाइसेन्स दिँदा बढी फाइला पाउँछन भनिन्छ त ?
होइन, कुरा नबुझेका कारणले यस्तो भनिएको हो जस्तो लाग्छ । बहस बैङ्कले हामीजस्तै अर्को कम्पनी, सहायक कम्पनी खोलेर त्यसलाई चाहिँ ब्रोकर लाइसेन्स दिने भन्ने विषयमा चलिरहेको छ । तर यहाँ बैङ्कलाई ब्रोकर लाइसेन्स दिने भन्ने मै हल्ला केन्द्रित छ । बैंकका शाखाहरुले ब्रोकरको काम गर्न पाउँने होइन । बैङ्कले गर्दैनन् । उसको सहायक कम्पनीले गर्ने हो । तर सहायक कम्पनीलाई रोक लगाएको अवस्था छ । बैंकंलाई दुईओटाभन्दा बढी सहायक कम्पनी खोल्न दिइएको छैन । सहायक कम्पनीले धितोपत्र दलालीको काम गर्न नपाउने भनेर रोक पनि लगाएको अवस्था छ ।
ब्रोकर कम्पनीहरुले चाहिँ लगानीकर्तालाई कस्तो सुविधा दिइरहेका छन् त ?
अहिले हाम्रो काम भनेको ग्राहकको अर्डर लिने र कारोबार गरिदिनेमै सिमित छ । आजको नियमले शुल्कमा प्रतिशपर्धा गर्न पाईदैन । तोकिएको कमिसन लिई कारोबार भन्दा अरु सेवा दिने अधिकार हामिलाई छैन् । हामी हाम्रो कामको दायरालाई अझै फराकिलो बनाउन चाहान्छौँ । हामी ँगिि ँभिमनभम ब्रोकरका रुपमा काम गर्न चाहान्छौँ । पूजी र कर्मचारी थप्छौँ । प्रबिधी बढाउँछौं । अरु सर्भिस पनि दिन आवश्यक नियमक कानून सहितको अधिकार चाहियो भनेर बजार संचालक नेप्से तथा नियमक धितोपत्र बोर्डलाई आग्रह गरिरहेका छौँ ।

त्यसो भए तपाईहरु लगानीकर्तालाई थप के के सेवाहरु दिन चाहानुहुन्छ त ?
हामी लगानीकर्ताका लागि लगानी व्यवस्थापन र परामर्श सेवा दिन चाहान्छौँ । नियम बनाएर अनुसन्धान गर्न दिनु पर्यो । नीजि क्षेत्रको लगानीमा राज्य तथा सर्वसाधारणले धेरै फाईदा लिन सक्ने अवस्था हुन्छ । यसले पूजीबजारको दिगो बिकास तथा लगानीकर्ता लाई सुसुचित बनाउन सहयोग पुग्छ । त्यसैगरी पोर्ट फोलियो मेनेजमेन्टका लागि हामीले अनुमति मागिरहेका छौँ । त्यस्तै बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेर ब्रोकर कम्पनीबाटै लगानी कर्तालाई मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न हामीले अनुमति चाहेका छौँ ।

तर ब्रोकर कम्पनीले सेयरमूल्यमा यताउति गर्छन भन्ने पनि आरोप छ नि ?
यहाँ बुझ्नुपर्ने एउटा कुरा के छ भने, बजारमा एउटाले अब मूल्य घट्छ भनेर आफुसँग भएको सेयर बेच्छ, त्यही बजारमा अर्कोले अब मूल्य बढ्छ भनेर किन्छ । ती दुईमध्ये एउटा न एउटाले त गुमाउँछ नै । त्यसैले यो आफ्नो सेयरको मूल्य घटेको बेलामा ब्रोकरलाई लगाउने आरोपबाहेक अरु केही होइन । 

बजार जुन गतिमा विकास र विस्ता हुनुपथ्र्यो त्यो हुन नसक्नुमा धितोपत्र बोर्ड र नेप्सेबीचको सम्बन्ध पनि एउटा कारण हो भनिन्छ नि ?
यी दुवै संस्थाको सम्बन्धबारे मैले यहाँ बताइरहनु जरुरी छ जस्तो लाग्दैन । तँपाईहरु नै धेरै समाचार बनाउनु हुन्छ । समन्वय र सहकार्य नहुदा बजारको बिकास प्रभाबित हुन्छ । हामी बलियो नियामक, ब्यावसायीक बजार सञ्चालक चाहान्छौ । हामिहरु प्नि ब्यवसायीक र प्रतिशप्रर्धी हुनुपर्छ । सबैले आ आफ्नो ठाउँबाट उचित भुमिका निभाउनु पर्दछ ।

यहाँको विचारमा पुँजी बजार विकासका लागि के गर्नुपर्ला ?
यहाँ पहिलो र दोश्रो बजारबीचको तालमेल मिलाउनु आवश्यक छ । किनभने दोश्रो बजारको विकास पहिलो बजारसँग अन्तरसम्बन्धित हुन्छ । समग्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी नयाँ संस्था जन्माउने, ठूला परियोजना बनाउने, मुलुकलाई आवश्यक पूँजी निर्माण गर्ने, उद्योगी व्यवसायीलाई चाहिने पूँजी जुटाउने काम पहिलो बजारले गर्दछ । र त्यसरी जम्मा भएको पूँजीलाई तरलता प्रदान गर्न सुविधा उपलब्ध गराउने काम दोश्रो बजारको हो । नीति र प्रबिधिको तालमेल मिलाउनु पर्दछ । आबश्यक नीतिहरु बनाउदै, अस्पट र अब्यवहारी नीति नियमहरुको परिमार्जन गर्नु पर्दछ । कतिपय नीति नियमका कारण पनि पुँजी बजारमा चुनौतिहरु देखिएका छन् ।

अहिले खासगरी वित्तीय संस्थाको मात्रै सेयर कारोबार हुने अवस्था छ । अन्य क्षेत्रका कम्पनीलाई पनि यसमा ल्याउनुपर्छ । ऋणपत्र बजारसमेत फष्टाउनुपर्छ । अप्सन, डेरिभेटिजजस्ता उपकरण पनि यस बजारमा कारोबार गराउनुप‍र्छ । यसो भएमा दोस्रो बजारमा काम गर्नेलाई जोखीम कम गर्न र पोर्टफोलियो म्यानेजमेण्ट गर्न विकल्पहरू हुन्छन् । धेरै मानिसको पहुँच पु‍र्याउनका लागि अनलाइन ट्रेडिङ सिष्टम ल्याउनुप‍र्छ । यस क्षेत्रमा काम गर्ने ब्रोकर, मर्चेण्ट र्बैकर, निक्षेप सदस्यहरुको संस्थागत क्षमता बिकास गरि प्रतिशपर्धि तथा ब्यावसायीक बनाउनु पर्दछ । ब्रोकरले मागिरहेको मार्जिन लेण्डिङ, डिलरशीप, परामर्श सेवा आदिको अनुमति दिनुप‍र्छ । अर्को, बजारको उतारचढाव नियन्त्रणका लागि बजारको स्तरअनुसार संस्थागत लगानीकर्ता, डिलर र मार्केट मेकरको व्यवस्था गरिदिनुपर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]